काठमाडौं । लागूऔषध मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाएर रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ का ४२ वर्षीय हरिराम गिरी र नुवाकोटको सूर्यगढी गाउँपालिका–६ घर भई हाल तारकेश्वर–८ बस्दै आएका ३१ वर्षीय अजय थापा मगर रहेका छन् ।
जिल्ला अदालत काठमाडौंबाट प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले असोज २ गते साँझ काठमाडौं महानगरपालिका–११ स्थित काठमाडौं जिल्ला अदालत परिसरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लागूऔषध मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने आश्वासन दिँदै प्रतिवादीकी श्रीमतीबाट अवैध रूपमा रकम लिएको आरोप उनीहरूमाथि लागेको छ ।
पक्राउ परेका दुवै जनाको साथबाट अवैध रूपमा लिएको ४ लाख ७९ हजार रुपैयाँ, तीन थान मोबाइल र प्रतिवादीकी श्रीमतीको नाममा रहेको माछापुच्छ्रे बैंकको सात थान खाली चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि ठगी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।