काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले शनिबार कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ ।
उक्त कार्यक्रममा करिब ३५० जना कर्मचारी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा फलफूल दिने, फूल फुल्ने तथा छायाँ दिने विभिन्न प्रजातिका करिब ५०० बिरुवा रोपिएको बैंकले जनाएको छ । यस अभियानको उद्देश्य स्थानीय हरियाली अभिवृद्धि गर्नु, जैविक विविधता संरक्षणमा टेवा पुर्याउनु तथा दीर्घकालीन वातावरणीय दिगोपनामा योगदान गर्नु रहेको छ ।
कार्यक्रमको सुरुवात गोरख राणा (सीईओ तथा हेड अफ कभरेज, एससीबीएनएल) र केदार बस्नेत (अध्यक्ष, आदिनाथ सामुदायिक वन उपभोक्ता समूह) ले संयुक्त रूपमा पहिलो बिरुवा रोपेर गरेका थिए ।
यस अवसरमा राणाले हरित भविष्यका लागि स्वयंसेवामा सक्रिय रूपमा सहभागी भएकोमा कर्मचारीहरूलाई धन्यवाद दिँदै भने, 'यस वर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कर्मचारी स्वयंसेवाको २० वर्ष पूरा भएको छ । हामी गर्वका साथ भन्न सक्छौँ कि यी वर्षहरूमा एससीबीएनएलका कर्मचारीहरूले ललितपुर जिल्लामा, कीर्तिपुर क्षेत्रसमेत समेट्दै, करिब ४० हजार बिरुवा रोप्न सहयोग गरेका छन् । आजको प्रयासले मात्र नभई दीर्घकालीन प्रभावमा समेत योगदान पुर्याउँदै आएको छ, जुन प्रत्येक वर्षसँगै बढ्दै गएको छ । प्रत्येक रूख केवल हरियाली मात्र होइन यो आशा, जिम्मेवारी र भविष्यका पुस्ताप्रतिको हाम्रो प्रतिबद्धताको प्रतीक हो ।'
वार्षिक रूपमा आयोजना हुने यस वृक्षारोपण कार्यक्रमले बैंकको भविष्यका पुस्तामा लगानी गर्ने प्रतिबद्धता तथा वातावरण संरक्षणप्रतिको संस्कारलाई थप सुदृढ बनाएको छ ।