भारतीय मोटरसाइकलसहित भन्सार छलेर ल्याएका सामान बरामद

काठमाडौं । कपिलवस्तुका विभिन्न नाकाहरूबाट भन्सार नेपाल भित्र्याउँदै गरेका लाख बढी मूल्यको सामान प्रहरीले बरामद गरेको छ । 

प्रहरी टोलीलाई देख्ना साथ सामान र सवारी साधन छाडेर तस्करहरू फरार भएका छन् । धानको बीउ, मोटरसाइकल, छाता र चिजबल्स बरामद गरिएको प्रहरीले जनाएको छ ।

यशोधरा गाउँपालिका ६ रंगपुर नाकामा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको दुई बोरा धानको बीउ र एक थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरी चौकी रंगपुरबाट खटिएको टोलीलाई देखेपछि तस्करहरू सामान र मोटरसाइकल छाडेर फरार भएका थिए । 

प्रहरीका अनुसार बरामद गरिएको युपी नम्बरको भारतीय मोटरसाइकलको अन्दाजी ४० हजार र २ बोरा धानको बीउको मूल्य २० हजार ४४५ रुपैयाँ गरेर जम्मा ६० हजार ४४५ रुपैयाँ बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

मर्यादपुरस्थित दशगजा सीमा क्षेत्रबाट प्रहरीले अवैध छाता र चिजबल्स बरामद गरेको छ । भारतबाट नेपालतर्फ बोकेर ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी मर्यादपुरको टोलीलाई देखेपछि मानिसहरू सामान छाडेर भागेका थिए ।

अन्दाजी ३६ हजार मूल्य पर्ने ७२ पिस छाता र १ हजार रुपैयाँ मूल्यको एक पेटी चिजबल्स गरी जम्मा ३७ हजार रुपैयाँ बराबरको सामग्री बरामद प्रहरीले बताएको छ ।

यसैगरी पचेहरा चोकस्थित सडक खण्डबाट पनि भन्सार छली ल्याइएको २४ प्याकेट ९ जम्मा ७२ केजी धानको बीउ बरामद भएको छ । 

इलाका प्रहरी कार्यालय पिपरा र अस्थायी प्रहरी पोष्ट जल्दीबाट खटिएको संयुक्त प्रहरी टोलीलाई देखेपछि तस्करहरू धानको बीउ छाडेर फरार भएका थिए । बरामद गरिएको उक्त बजार अन्दाजी मूल्य २४ हजार १९२ रुपैयाँ रहेको छ । 

तीनवटै स्थानबाट बरामद गरिएका कुल १ लाख २१ हजार ६३७ रुपैयाँ बराबरको अवैध सामान र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सुठौली पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  

Share News