सिवाईसी नेपाल लघुवित्तका नवनियुक्त अध्यक्ष गोपालकुमार शर्माले लिए शपथ

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष गोपालकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । शर्माले भदौ १७ गते बुधबार नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक शिखा अधिकारी रेग्मीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा संस्थाका सञ्चालकद्वय लक्ष्मण खड्का क्षेत्री र राजेन्द्र रेग्मी, प्रमुख कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत बाबुराम कुँवरको उपस्थिति थियो । यसअघि अध्यक्ष पद्मनाथ शर्माले राजीनामा दिएपछि संस्थापक समूहअन्तर्गतको सञ्चालक पद रिक्त भएको थियो । उक्त पदमा गोपालकुमार शर्मालाई नियुक्त गरिएको थियो । त्यसपछि संस्थाको सञ्चालक समितिको १८४औँ बैठकले शर्मालाई अध्यक्ष पदमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष शर्मा लामो समय शिक्षण पेसामा आबद्ध भएर अवकाश प्राप्त व्यक्ति हुन् । उनले शिक्षाशास्त्र तथा मानविकी एवं समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । शपथ ग्रहणसँगै शर्माले सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समितिको नेतृत्व सम्हालेका छन् ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बाढीपीडितलाई दियो ६२ लाख

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले भोटेकोसी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ६२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ । त्यस्तै, कम्पनीमा कार्यरत कर्मचारीहरूले पनि आफ्नो एक दिनको तलब बराबरको ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सामूहिक रूपमा योगदान गर्ने निर्णय गरेका छन् । यससँगै कम्पनी र कर्मचारीबाट बाढीपीडितका लागि कुल ६२ लाख रुपैयाँ सहयोग हुने भएको छ । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको कम्पनीले जनाएको छ । कम्पनीले विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई साथ र सहानुभूति स्वरूप सहयोग गरिएको जनाएको छ । कम्पनीले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी तथा अन्य संकटका समयमा सहयोग गर्दै आएको दाबी गरेको छ । बाढी प्रभावित नागरिकको सुरक्षित उद्धार र घरबारविहीन परिवारको पुनःस्थापना यथाशीघ्र गर्नुपर्नेमा कम्पनीले जोड दिएको छ । कम्पनीले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

सूर्यज्योति लाइफले प्रधानमन्त्री उद्धार कोषमा दियो १ करोड

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहटा र प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले संयुक्त रूपमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, सुरक्षा निकाय र विभिन्न संघसंस्थाले गरिरहेको प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले सहयोग गरेको जनाएको छ । कम्पनीका अनुसार उक्त सहयोगले बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न तथा उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग पुग्ने विश्वास लिएको छ । सूर्यज्योति लाइफले विगतमा पनि राष्ट्रिय आवश्यकता परेका विभिन्न विपद् तथा कठिन परिस्थितिमा आर्थिक तथा अन्य सहयोग गर्दै आएको जनाएको छ । विपद्को कठिन समयमा प्रभावित परिवारको राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको कम्पनीले जनाएको छ । आगामी दिनमा पनि राष्ट्रलाई आवश्यकता परेको अवस्थामा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सहकार्यलाई निरन्तरता दिने कम्पनीको प्रतिबद्धता छ । कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । त्यस्तै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।