मानुषी लघुवित्तको कामु सीईओमा कमल श्रेष्ठ नियुक्त
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी कमल श्रेष्ठलाई दिएको छ । कम्पनीकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यको दुई वर्षे कार्यकाल असार ३२ गतेबाट समाप्त भएपछि सञ्चालक समितिले श्रेष्ठलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको हो । कम्पनीका अनुसार मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र जीवन विकास लघुवित्त वित्तीय संस्था मर्जर प्रक्रियामा रहेकाले एकीकृत कारोबार सम्पन्न नभएसम्मका लागि श्रेष्ठलाई उक्त जिम्मेवारी तोकिएको हो । यससँगै श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारीसमेत दिइएको कम्पनीले जनाएको छ ।
सवा १२ खर्ब राजस्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको करिब ८३ प्रतिशत राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार (असार ३१ गते) सम्ममा सरकारले कुल १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व उठाएको हो । यो संकलन सरकारले चालु वर्षका लागि तय गरेको १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक लक्ष्यको ८२.७६ प्रतिशत हुन आउँछ । विगतको तुलनामा यस वर्ष राजस्व संकलनमा सुधार देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ को असार ३१ गतेसम्म सरकारले ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । यस हिसाबले गत वर्षको सोही अवधिको तुलनामा यसपालि राजस्व संकलन ७.४० प्रतिशत, अर्थात् ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँले वृद्धि भएको नियन्त्रक कार्यालयले जनाएको छ । प्राप्त कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा कर राजस्वको रहेको छ । बुधबारसम्म ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजस्व संकलन भएको छ, जुन लक्ष्यको ८३.४३ प्रतिशत हो । त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो कुल गैरकर राजस्व लक्ष्यको ७६.९९ प्रतिशत हो । गत वर्षको तुलनामा यस वर्ष कर राजस्व ७.३४ प्रतिशत र गैरकर राजस्व ८.०२ प्रतिशतले बढेको देखिन्छ । त्यसैगरी, अनुदान प्राप्तिको अवस्थामा पनि यस वर्ष उल्लेख्य सुधार आएको छ । चालु वर्षमा सरकारले कुल ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार ३१ गतेसम्म ५८.५ प्रतिशत, अर्थात् ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ। यो गत वर्षको तुलनामा ३४.७५ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिसम्म सरकारले जम्मा २३ अर्ब २० करोड १६ लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो । आर्थिक वर्षको अन्तिमतिर राजस्व संकलन तीव्र हुने परम्पराअनुसार बुधबार एकै दिन मात्रै सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजस्व उठाएको छ । जसमा १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजस्व रहेको छ । बिहीबार (आज) आर्थिक वर्षको अन्तिम दिन भएकाले थप राजस्व संकलन भई कुल संकलनको दर अझै बढ्ने अनुमान गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
एनआईसी एशिया क्यापिटलले कतारमा गर्यो लगानी सचेतना कार्यक्रम
काठमाडौं । एनआईसी एशिया क्यापिटलले कतारमा रहेका नेपालीलाई लक्षित गर्दै ‘पर्सनल फाइनान्स एन्ड इन्भेष्टमेन्ट मास्टरक्लास’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको कार्यक्रममा प्रवासी नेपालीलाई वित्तीय व्यवस्थापन र नेपालको पुँजी बजारमा लगानीका अवसरबारे जानकारी दिइएको हो । कम्पनीका अनुसार ‘विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔं’ भन्ने नारासहित ‘वे टु सक्सेस, इभेन्ट एन्ड ट्रेनिङ प्रोग्राम’को सहकार्यमा असार २६ गते कतारको दोहास्थित ग्लोरिया होटल एन्ड सुइट्समा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा एनआईसी एशिया क्यापिटलका उच्च व्यवस्थापन तहका अधिकारीहरूले डायस्पोरा खाता, एसआईपी, आईपीओ, सेयर, डिम्याट तथा मेरोसेयर खाता, नेपालका पुँजी बजारमा सम्पत्ति व्यवस्थापन, प्रवासी नेपालीलाई लगानीका अवसरसँग जोड्ने विषय तथा ‘आइडिया टु आईपीओ’ लगायतका विषयमा प्रस्तुति दिएका थिए । यसका साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक सेयरमा आवेदन दिने प्रक्रिया, सामूहिक लगानी कोष, दोस्रो बजारमा लगानी गर्दा अपनाउनुपर्ने सावधानी, विदेशमा आर्जन गरेको रकम वैधानिक माध्यमबाट नेपाल पठाउने उपाय तथा नेपालमा उपलब्ध लगानीका विभिन्न अवसरबारे विस्तृत छलफल गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा कतारमा वैदेशिक रोजगारी र व्यवसायमा संलग्न १४० भन्दा बढी नेपालीको सहभागिता रहेको थियो । कम्पनीले यस्ता कार्यक्रममार्फत प्रवासी नेपालीमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै नेपालको पुँजी बजारमा लगानी आकर्षित गर्ने उद्देश्य राखेको जनाएको छ ।