ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणप्रति बैंकरहरूको आपत्ति
काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीमाथि आक्रमण गर्ने सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका संचालकलाई कारबाही गर्न चार बैंकिङ संघहरूले संयुक्त रूपमा माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । संयुक्त विज्ञप्तिमा चारै संघले कर्जाको किस्ता नियमित गर्न छलफलका लागि बोलाइएका बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार र आक्रमण गरेको घटनालाई 'अमानवीय' र 'गम्भीर अपराध' भनेका छन् । ‘नियामक निकायबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन–कानूनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह, वित्तीय सेवा प्रदान लगायत विभिन्न कार्यहरू सञ्चालन गरी आम जनता तथा देशको समग्र प्रगतिका लागि आत्मसाथ गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय विभिन्न अराजक गतिविधिको निशानामा परिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ । साथै संघहरूले कानुनको पालना नगरी आफ्नै हातमा शक्ति प्रयोग गरी बैंक कर्मचारीमाथि आक्रमण भएको घटनाको घोर निन्दा गर्दै अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा कारवाही गर्न जोड दिएका छन् । घटना भएको दिन सूचना दिइए पनि तत्काल सम्बोधन नभएको प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । ‘यस्ता अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गरी कर्मचारीहरूको मनोबल उच्च बनाई शान्ति सुरक्षाको अनुभूति प्रदान गर्नु पर्नेमा सम्बन्धित निकायमा घटना घटेकै दिन समयमै जानकारी गराइएता पनि तत्काल सम्बोधन हुन नसकेको प्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ । साथै सुरक्षा निकायबाट स्वतः रुपमा अनुसन्धान अगाडि बढाउनु पर्नेमा जाहेरी दर्ता नहुनु अत्यन्त खेदनीय भएकोले सो सम्बन्धमा स्थानीय प्रहरी प्रशासनको समेत गम्भीर कमजोरी देखिएको हुँदा यथाशिघ्र अपराधीहरूलाई कानुनी दायरमा ल्याउन संघहरूले ध्यानाकर्षण गराएका छन्र । भविष्यमा यस्ता अपराध दोहरिन नदिने वातावरण सुनिश्चित गर्न, सूचना नआए पनि सम्बन्धित सरकारी निकायले स्वतः अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । साथै, बैंक तथा वित्तीय संस्थाप्रति हुने अराजक गतिविधिहरू रोक्न सर्वसाधारणलाई सजग र जिम्मेवार रहन आग्रह गरिएको छ ।
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट, ४६ जनाले पाए ५१ कित्ता सेयर
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले गत मंसिर २२ देखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरमा १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गरेको थियो । यस निष्काशनमा ३५ हजार १०२ जनाले कुल १९ लाख ४४ हजार ३३० कित्ता सेयरका लागि आवेदन दिएका थिए र ती सबै आवेदन स्वीकृत भएका छन् । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार २ हजार ३११ जना आवेदकले प्रारम्भिक रूपमा ५० कित्ता सेयर प्राप्त गरेका छन् । बाँकी ४६ कित्ता सेयर समानुपातिक रूपमा थप एक कित्ताका दरले बाँडफाँट गरिएको थियो । परिणामस्वरूप २ हजार ३११ जनामध्ये ४६ जनाले ५१ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।
मङ्सिरसम्म राजस्व सङ्कलन लक्ष्यभन्दा कम, तर गत वर्षको तुलनामा सुधार
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनासम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा कम भए पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सुधार देखिएको छ । मङ्सिरसम्मको लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ रहेपनि ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । चालु आवको पाँच महिनामा लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आवका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य तोकिएको छ । मङ्सिर महिनाको मात्र लक्ष्य ९५ अर्ब २० करोड रुपैयाँ निर्धारण गरिएको थियो । तर, मङ्सिर महिनाभर ८० अर्ब २७ करोड रुपैयाँ सङ्कलन भएको मन्त्रालयले जनाएको छ । उक्त राजस्व संकलन लक्ष्यको ८४.३१ प्रतिशत प्राप्त भएको हो । मङ्सिर २९ गते मात्रै ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठेको मन्त्रालयले जनाएको छ । यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु वर्षको अवस्था केही सकारात्मक देखिन्छ । गत २०८१/८२ मा वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो भने मङ्सिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ थियो । गत वर्ष मङ्सिरसम्म जम्मा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यस्तै, मङ्सिर महिनामा ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको थियो ।