राष्ट्र बैंकको स्वीकृतिबिनै लघुवित्तले कार्यालय स्थानान्तरण गर्न सक्ने

काठमाडौं । रसुवा लगायतका बाढी तथा प्राकृतिक विपद् प्रभावित क्षेत्रमा सञ्चालित लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालय नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृतिबिनै स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा सेवा सुचारु गर्ने प्रयोजनका लागि लघुवित्त वित्तीय संस्थालाई यस्तो सुविधा दिएको हो ।

राष्ट्र बैंकका अनुसार २०८३ भदौमा आएको प्राकृतिक विपद्का कारण क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका लघुवित्त संस्थाका शाखा तथा कार्यालयलाई संस्थाले आफ्नै निर्णयमा स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्नेछन् ।

यसका लागि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छैन । तर, शाखा स्थानान्तरण वा समायोजन गरेपछि भने सात दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ ।

प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा लघुवित्त वित्तीय संस्थाको सेवा अवरुद्ध हुन नदिन तथा सेवाग्राहीलाई वित्तीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

Share News