भेट्रान बैंकरदेखि उद्योगपतिसम्म जोडिएको बैंक

विदेशी बैंकर पनि आवद्ध

काठमाडौं । निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक नबिल बैंकको सञ्चालक समितिमा उद्योग व्यवसाय, अन्तर्राष्ट्रिय बैंकिङ, वित्तीय नियमन, शिक्षा, उद्यमशीलता तथा व्यवस्थापन क्षेत्रको अनुभव भएका व्यक्तिहरू छन् । बैंकको नेतृत्व चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणकुमार चौधरीले गरिरहेका छन् । समितिमा भारत र बंगलादेशका अनुभवी बैंकरदेखि नेपाल राष्ट्र बैंककी पूर्वकार्यकारी निर्देशक तथा शिक्षा र अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा सक्रिय उद्यमीसम्मको प्रतिनिधित्व छ ।

स्थापनाकालदेखि नै निजी क्षेत्रको बैंकिङ विकासमा भूमिका खेल्दै आएको नबिलले आफ्नो संस्थागत नेतृत्वमा उद्योग, व्यापार र वित्तीय क्षेत्रको अनुभवलाई समेटेको छ । बैंकमा संस्थापक सेयरधनीको ५८.४४ प्रतिशत र सर्वसाधारण सेयरधनीको ४१.५६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

निर्वाणकुमार चौधरी

नबिलका अध्यक्ष निर्वाणकुमार चौधरी उद्योग व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनी चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा चौधरी फाउन्डेसनका अध्यक्ष हुन् । फाउन्डेसनमार्फत उनले शिक्षा, स्वास्थ्य र विपद् राहतसँग सम्बन्धित विभिन्न सामाजिक पहलमा सहयोग गर्दै आएका छन् ।

चौधरीले डुन स्कुल, ह्यारो स्कुल, म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) र लन्डन बिजनेस स्कुलबाट शिक्षा हासिल गरेका छन् । व्यवसायसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्याएको योगदानका लागि उनले वाईपीओको एसईएन सस्टेनेबिलिटी अवार्ड फर फिलान्थ्रोपी र लायन्स क्लब इन्टरनेसनलको प्रेसिडेन्ट्स अवार्ड फर सोसल कन्ट्रिब्युसनलगायत सम्मान प्राप्त गरेका छन् । उनलाई विश्व आर्थिक मञ्चको यङ ग्लोबल लिडरका रूपमा समेत मनोनयन गरिएको थियो ।

निजी क्षेत्रका विभिन्न संस्थामा नेतृत्वदायी भूमिकामा रहेका चौधरी नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष पनि हुन् । उनले भारत–नेपाल केन्द्रको अध्यक्षका रूपमा काम गरिसकेका छन् । यसबाहेक संयुक्त राष्ट्रसंघको बिजनेस एडभाइजरी काउन्सिल तथा यूएन ग्लोबल कम्प्याक्टको एक्सन प्लेटफर्मअन्तर्गत उच्चस्तरीय स्टियरिङ कमिटीको बोर्डमा समेत उनी मनोनीत भएका थिए । उद्योग व्यवसाय, अन्तर्राष्ट्रिय सम्बन्ध र सामाजिक उत्तरदायित्वमा प्राप्त अनुभव उनको व्यावसायिक यात्राका प्रमुख पक्ष हुन् ।

मलय मुखर्जी

बैंकका सञ्चालक मलय मुखर्जी भारतका अनुभवी बैंकर हुन् । ७० वर्षीय मुखर्जीसँग कर्जा विश्लेषण, जोखिम व्यवस्थापन र प्रविधि विकासका क्षेत्रमा लामो अनुभव छ । उनले विज्ञानमा स्नातकोत्तर गरेका छन् । मुखर्जीले भारतको आईएफसीआईमा प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशकका रूपमा काम गरेका थिए । आईएफसीआई समूहअन्तर्गतका विभिन्न कम्पनीको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका उनले सन् २०१२ सेप्टेम्बरदेखि २०१३ डिसेम्बरसम्म सेन्ट्रल बैंक अफ इन्डियाको कार्यकारी निर्देशकका रूपमा काम गरेका थिए । त्यसअघि उनले इन्डियन बैंकको चेन्नईस्थित केन्द्रीय कार्यालयमा जोखिम व्यवस्थापन तथा प्रविधि व्यवस्थापन विभागका महाप्रबन्धकका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनी भारतको व्यवस्थापन शिक्षण संस्था एमडीआई गुडगाउँका अध्यक्षसमेत रहिसकेका छन् ।

मुखर्जी हाल नबिलसहित भारत र श्रीलंकाका विभिन्न कम्पनीको सञ्चालक समितिमा आबद्ध छन् । उनी भारतको दिलीप बिल्डकन लिमिटेड तथा शिवालिक स्मल फाइनान्स बैंकका स्वतन्त्र सञ्चालक, श्रीलंकाको युनियन बैंक कोलम्बोका गैरकार्यकारी सञ्चालक तथा यूबी फाइनान्स कम्पनी र नेसनल एसेट म्यानेजमेन्ट लिमिटेडका गैरकार्यकारी अध्यक्षका रूपमा समेत कार्यरत छन् । कर्जा, जोखिम र प्रविधिसम्बन्धी अनुभवसँगै विभिन्न वित्तीय संस्थाको नेतृत्व तहमा काम गरेको अनुभव उनको व्यावसायिक परिचयको आधार हो ।

अनन्त पौड्याल

सञ्चालक अनन्त पौड्याल शिक्षा परामर्श तथा अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा सक्रिय उद्यमी हुन् । उनी नेपाल एजुकेसन कन्सल्टेन्सीका अध्यक्ष हुन् । अन्तर्राष्ट्रिय व्यापार, कूटनीति तथा व्यवसाय विकासमा अनुभव र रुचि राख्ने पौड्यालले अस्ट्रेलियाको मोनास विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन् । उक्त अध्ययनमा उनले अन्तर्राष्ट्रिय व्यापार तथा कूटनीतिमा विशेषज्ञता हासिल गरेका हुन् । उनले काठमाडौं विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातक गरेका छन् ।

पौड्याल अस्ट्रेलियन दूतावासको बिजनेस एडभाइजरी ग्रुपका सदस्य तथा एसोसिएसन अफ नेपालीज अलुम्नाई फ्रम अस्ट्रेलिया (एएनएए) का अध्यक्षका रूपमा कार्यरत छन् । सन् २०१५ देखि नेपाल एजुकेसन कन्सल्टेन्सीमा आबद्ध उनी आईईआरआईएन, एनएएईआर तथा एईएएसलगायत परामर्शसम्बन्धी संस्थासँग पनि जोडिएका छन् । व्यवसाय विकास र नीतिगत विषयमा अन्तर्राष्ट्रिय दृष्टिकोणलाई प्राथमिकता दिँदै आएका पौड्याल सार्वजनिक सेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक समितिमा आबद्ध छन् । शिक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र उद्यमशीलताको अनुभव उनको व्यावसायिक यात्राका प्रमुख पक्ष हुन् ।

प्रविन टिब्रेवाल

प्रविन टिब्रेवाल उद्यमी हुन् । उनी डल्फिन एमबी प्रालिका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । विभिन्न व्यावसायिक क्षेत्रमा काम गरेको अनुभव भएका टिब्रेवालाले पोखरा विश्वविद्यालयबाट लेखा तथा वित्त विषयमा व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् । उनले बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट लेखा तथा वित्त विषयमा स्नातक गरेका हुन् ।

लेखा, वित्त र व्यवसाय व्यवस्थापनमा शैक्षिक पृष्ठभूमि भएका टिब्रेवालको अनुभव उद्यमशीलता तथा व्यावसायिक सञ्चालनसँग सम्बन्धित छ । उनी बैंकको सञ्चालक समितिमा आबद्ध छन् ।

सईद मन्सुर मुस्तफा

नबिलका सञ्चालक सईद मन्सुर मुस्तफा बंगलादेशको आईएफआईसी बैंक पीएलसीका प्रबन्ध निर्देशक हुन् । बैंकिङ क्षेत्रमा २८ वर्षको अनुभव भएका मुस्तफाले शाखा व्यवस्थापन, कर्जा जोखिम व्यवस्थापन, वैदेशिक व्यापार तथा ट्रेजरी सञ्चालनमा विशेषज्ञता हासिल गरेका छन् । उनले सन् १९९६ मा एबी बैंकमा प्रशिक्षार्थी अधिकृतका रूपमा बैंकिङ करियर सुरु गरेका थिए । त्यसपछि ट्रस्ट बैंक लिमिटेडमा कर्जा प्रमुखलगायत विभिन्न जिम्मेवारी सम्हालेका उनले सन् २०१५ अप्रिल ६ मा आईएफआईसी बैंकमा वरिष्ठ कार्यकारी उपाध्यक्षका रूपमा काम सुरु गरेका थिए ।

आईएफआईसी बैंकमा उनले नायब प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख, प्रमुख कर्जा अधिकृत, प्रमुख जोखिम अधिकृत र प्रमुख सम्पत्ति शुद्धीकरण निवारण अनुपालन अधिकृतका रूपमा समेत काम गरेका छन् । उनी आईएफआईसी बैंकको आबद्ध कम्पनी ओमान एक्सचेन्ज एलएलसीका सञ्चालक पनि हुन् । मुस्तफाले ढाका विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक तहमा सम्मानसहितको उपाधि तथा स्नातकोत्तर गरेका छन् । उनले सोही विश्वविद्यालयको इन्स्टिच्युट अफ बिजनेस एडमिनिस्ट्रेसनबाट व्यवसाय प्रशासनमा स्नातकोत्तरसमेत गरेका छन् । शाखा सञ्चालनदेखि जोखिम व्यवस्थापन र अन्तर्राष्ट्रिय बैंकिङसम्मको अनुभव उनको व्यावसायिक यात्राका प्रमुख पक्ष हुन् ।

सरिता भट्ट अधिकारी

नबिलकी सञ्चालक सरिता भट्ट अधिकारी नेपाल राष्ट्र बैंककी अवकाशप्राप्त कार्यकारी निर्देशक हुन् । उनले सन् १९९० देखि २०२० सम्म करिब ३० वर्ष केन्द्रीय बैंकिङ क्षेत्रमा काम गरेकी छन् । बैंक सुपरिवेक्षण, विदेशी विनिमय व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा कर्जा गुणस्तर मूल्याङ्कनमा उनको विशेषज्ञता छ ।

अधिकारीले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वसमेत गरेकी थिइन् । केन्द्रीय बैंकमा रहँदा उनले वित्तीय संस्था नियमन तथा सुपरिवेक्षण र विदेशी विनिमय व्यवस्थापनसँग सम्बन्धित विभिन्न जिम्मेवारी सम्हालेकी छन् । यस अनुभवले उनलाई वित्तीय क्षेत्रको नियामकीय व्यवस्था र जोखिम व्यवस्थापनका विभिन्न पक्षमा काम गर्ने अवसर दिएको छ ।

उनले विभिन्न बीमा कम्पनीमा स्वतन्त्र सञ्चालक तथा म्युचुअल फन्डमा कोष सुपरिवेक्षकका रूपमा पनि काम गरेकी छन् । बैंकिङ क्षेत्रमा स्वतन्त्र प्रशिक्षकका रूपमा योगदान दिँदै आएकी अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेकी छन् ।

वित्तीय नियमन तथा जोखिम व्यवस्थापनसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय तालिममा समेत उनको सहभागिता रहेको छ । उनले फ्रान्सको केन्द्रीय बैंकमा वित्तीय संकट व्यवस्थापन, मलेसियास्थित एसईएसीईएन सेन्ट्रलमा पुँजी प्रवाह तथा जर्मनीको केन्द्रीय बैंकमा जोखिम व्यवस्थापनसम्बन्धी तालिम लिएकी छन् । केन्द्रीय बैंकिङ, वित्तीय सुपरिवेक्षण र नियामकीय अभ्यासमा प्राप्त अनुभव उनको व्यावसायिक परिचयका मुख्य आधार हुन् ।

अनिलकेशरी शाह

अनिलकेशरी शाह नेपालको वित्तीय क्षेत्रमा तीन दशकभन्दा बढी नेतृत्व अनुभव भएका अनुभवी बैंकर हुन् । उनले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालेका थिए । साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकमा वरिष्ठ व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेका शाह तत्कालीन मेगा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृतसमेत थिए । उनले मेगा बैंकमा पनि दुई कार्यकाल नेतृत्व गरेका थिए ।

शाह नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन् । बैंकिङ क्षेत्रको विकासमा योगदान पुर्याएका उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट ‘लिडरसिप फर द ट्वेन्टी फस्र्ट सेन्चुरी’ विषयमा कार्यकारी शिक्षा पूरा गरेका छन् । उनले भारतको दिल्ली विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर र अमेरिकाको जर्ज वासिङ्टन विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातक गरेका छन् ।

बैंकिङ क्षेत्रमा पुर्याएको योगदानका लागि शाहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । सन् २००८ मा म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले उनलाई ‘म्यानेजर अफ द इयर’ पुरस्कार प्रदान गरेको थियो । सन् २००५ देखि २००७ सम्म लगातार तीन वर्ष ‘द बोस एक्सिलेन्स अवाड्र्स’ अन्तर्गत ‘टप सीईओ’ पुरस्कार प्राप्त गरेका उनले सन् २००७ मा बैंककमा आयोजित कार्यक्रममा एसिया न्युज नेटवर्कबाट ‘एसियाज आइडल’ सम्मानसमेत पाएका थिए ।

Share News