ज्योति विकास बैंक कर्मचारीमाथि आक्रमण, कानुनी कारबाही अघि बढाइयो

काठमाडौं । ज्योति विकास बैंकको रुपनी शाखाका दुई कर्मचारीहरूलाई सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालक, उनका परिवार सदस्य र सहयोगीहरूले नियोजित रूपमा दुर्व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको घटनाप्रति बैंकले घोर भर्त्सना जनाएको छ । बैंकका अनुसार कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफलका लागि ऋणीसँग टेलीफोनमार्फत पूर्व संवाद भएपश्चात क्षेत्रीय कार्यालय बर्दिबासका कर्मचारीहरू फर्म पुगेका थिए । त्यहाँ कर्मचारीहरूलाई घण्टौंसम्म नियन्त्रणमा राखी धम्की दिइएको र धितो लिलामी स्थगनसम्बन्धी पत्र उपलब्ध नगराएमा ज्यान लिने चेतावनी दिएको बैंकले जनाएको छ । बैंकले यस क्रममा सुरक्षा निकायबाट कुनै सहयोग नपाएको पनि जनाएको छ । ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरू राष्ट्रिय स्तरको विकास बैंकमा कार्यरत व्यवसायिक साधक भएको र नीति तथा निर्देशनको पालना गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको स्मरण गराउँदै, यस्ता आपराधिक गतिविधि प्रति घोर निन्दा व्यक्त गरेको छ । बैंकले अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा कारवाही अघि बढाइएको र भविष्यमा पनि यस्ता घटनाविरुद्ध सदैव कडा उभिने प्रतिबद्धता जनाएको छ ।

नेपाल राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्त समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स)  सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा सोमबार बैंकमा आयोजित कार्यक्रमकाबीच गभर्नर कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र आईएफसी साउथ एसियाका व्यवस्थापक ग्रेगरी स्मिथले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार आईएफसीले नेपालमा जलवायु वित्त विकासका लागि राष्ट्र बैंकलाई प्राविधिक सहायता उपलब्ध गराउनेछ । यस अन्तर्गत जलवायु वित्तसम्बन्धी रणनीति र यसको कार्यान्वयनको मार्गचित्र तयार गरिनेछ । साथै, चरणबद्ध रूपमा कार्यान्वयनका लागि आवश्यक ढाँचा निर्माण गर्ने योजना रहेको छ । परियोजनामा राष्ट्र बैंक र समग्र वित्तीय क्षेत्रको क्षमता अभिवृद्धिका लागि तालिम र क्षमता विकास कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ । यसबाट नेपालमा जलवायुसम्बन्धी वित्तीय जोखिलाई सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालन प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ । परियोजना सन् २०२८ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ । डेपुटी गभर्नर मिश्रले आईएफसी र राष्ट्र बैंकबीचको सहकार्यले नेपालको वित्तीय क्षेत्र सुदृढ पार्ने र जलवायु वित्तको नीतिगत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आईएफसी व्यवस्थापक स्मिथले पनि साझेदारीबाट परिणाममुखी उपलब्धि हासिल हुने अपेक्षा व्यक्त गरे । कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल, निर्देशक गोविन्दप्रसाद नागिला, गभर्नर कार्यालयका निर्देशक सुमन न्यौपाने, आईएफसीका प्रतिनिधि रथनिजा अरन्दरालगायत अधिकारीहरूको उपस्थिती थियो ।

कर्मचारीमाथि भएको आक्रमणले सुरक्षा र मनोबलमा असर पुर्यायो : एनआईसी एशिया बैंक कर्मचारी संघ

काठमाडौं । ज्योति विकास बैंकका कर्मचारी कर्जा असुलीको क्रममा सार्वजनिक स्थलमा ऋणीबाट अमानवीय, अपमानजनक तथा गैरकानुनी व्यवहारको सिकार भएका घटनाप्रति एनआईसी एशिया बैंक कर्मचारी संघले गम्भीर आपत्ति जनाएको छ । कानुनी दायराभित्र कर्तव्य निर्वाह गरिरहेका बैंक कर्मचारीमाथि हुने हिंसा र सार्वजनिक अपमान सम्पूर्ण बैंकिङ प्रणाली, विधिको शासन र वित्तीय अनुशासनमाथिको प्रत्यक्ष आक्रमण भएको संघले जनाएको छ ।  ‘बैंकिङ सेवा कानुनद्वारा संरक्षित सार्वजनिक सेवा भएकाले कर्जा असुली कार्य बैंकिङ प्रणालीको अभिन्न अङ्ग हो । कानुनी प्रक्रिया अन्तर्गत हुने कर्जा असुली कार्यलाई डर, धम्की, दुर्व्यवहार वा हिंसाबाट अवरुद्ध गर्नु दण्डनीय अपराध हो,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  यस्ता घटनामा मौन रहनु वित्तीय अराजकतालाई प्रोत्साहन गर्नु सरह हुने संघले जनाएको छ । बैंकका कर्मचारीमाथि आक्रमण भएको घटनाले बैंक कर्मचारीहरूको सुरक्षा, मनोबल र कार्य वातावरणमा गम्भीर असर पुर्‍याउने र सर्वसाधारणको बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर बनाउने जोखिम बढेको संघको टिप्पणी छ । विगतमा पनि बैंकिङ सेवामा आबद्ध कर्मचारी लक्षित आक्रमण हुँदै आएको स्मरण गराउँदै, समयमै सम्बन्धित निकायको कडा हस्तक्षेप नभए बैंकिङ सेवा अवरुद्ध हुने अवस्था सिर्जना हुन सक्ने संघले चेतावनी दिएको छ । एनआईसी एशिया बैंक कर्मचारी संघले अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल तथा बैंक तथा वित्तीय संस्था परिसंघ लगायत सबै सरोकारवाला निकायलाई तत्काल प्रभावकारी हस्तक्षेप गर्न आग्रह गरेको छ । साथै संघले कर्मचारी सुरक्षाका लागि स्पष्ट सुरक्षा मापदण्ड, फिल्डमा खटिँदा प्रहरी समन्वय र जोखिमयुक्त कार्यमा संस्थागत संरक्षणको सुनिश्चितता गर्न माग गरेको छ । दोषी पहिचान गरी कानुनअनुसार कडा कारबाही गर्न, बैंक कर्मचारीहरूको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना दोहरिन नदिन शून्य सहनशीलताको नीति अपनाउन संघले आग्रह गरेको छ । संघका अध्यक्ष सुमन थापाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बैंकिङ सेवामाथि हुने कुनै पनि प्रकारको धम्की, दुर्व्यवहार वा हिंसा अस्वीकार्य छ। बैंक कर्मचारीहरू श्रमिक हुन् र उनीहरू कुनै अपराधी होइनन् । कानुनको शासन, संस्थागत मर्यादा र कर्मचारीको गरिमाको संरक्षण सबैको साझा दायित्व हो ।