मातृभूमि लघुवित्तद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५ लाख सहयोग

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । वित्तीय संस्थाले भदौ १० गते आएको बाढीका कारण रसुवासहित आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै विपद्को कठिन घडीमा सरकारको राहत तथा उद्धार अभियानमा ऐक्यबद्धता जनाउँदै उक्त सहयोग प्रदान गरेको जनाएको छ । संस्थाले बाढीमा ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । त्यस्तै, प्राकृतिक प्रकोपका कारण सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था र विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारजनले भोग्नुपरेको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ । मातृभूमि लघुवित्तले संकटको समयमा राहत, उद्धार र पुनर्स्थापना कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता जनाएको छ ।

बाढीपीडितका लागि सिटी एक्सप्रेसको १ करोड ११ लाख सहयोग, रेमिट्यान्स शुल्क पनि मिनाहा

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत र पुनर्स्थापना कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा बाढीका कारण प्रभावित नागरिकको सहयोगका लागि उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ । सिटी एक्सप्रेस ग्रुपका अनुसार प्राकृतिक विपद्का कारण ती जिल्लामा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रभावित समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरिएको हो । यसैबीच, कम्पनीले बाढी प्रभावित परिवारलाई विदेशबाट सहज रूपमा आर्थिक सहयोग पुग्ने व्यवस्था गर्न विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको जनाएको छ । बाढी आएको दिनदेखि नै यो निर्णय लागू गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले विनाशकारी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, उद्धार, राहत र पुनर्स्थापना कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति कृतज्ञता पनि व्यक्त गरेको  छ। सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ । कम्पनीले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै सेवा विस्तार गर्दै आएको जनाएको छ ।

रसुवा बाढी : बीमा कम्पनीहरूमा २५ अर्बभन्दा बढीको दाबी

काठमाडौं । गत बुधबार (भदौ १०) गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण क्षतिपूर्ति बापत बीमा कम्पनीहरूमा ठूलो रकमको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार सोमबारसम्ममा बाढीका कारण क्षतिपूर्ति बापत १५ वटा निर्जीवन बीमा कम्पनीहरूमा २५ अर्ब ८७ करोड ३५ लाखभन्दा बढीको प्रारम्भिक बीमा दाबी परेको छ । प्राधिकरणले भदौ १५ गतेसम्म सङ्कलन गरेको विवरण अनुसार कुल ५८३ वटा बीमालेखमार्फत क्षतिपूर्तिको दाबी परेको हो ।  इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा सबैभन्दा बढी दाबी परेको छ । यसअन्तर्गत २० अर्ब ५० करोड ७७ लाख रुपैयाँको दाबी परेको छ । जुन कुल दाबी रकमको ७९.२६ प्रतिशत हो । त्यसैगरी, दोस्रोमा सम्पति बीमाअन्र्तगत ११३ बीमितको २ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ दाबी परेको छ । मोटर बीमाअन्तर्गत ३१३ बीमालेखको १ अर्ब ५५ करोड ९ लाख रुपैयाँ, परिवहन बीमाअन्तर्गत ४७ वटा बीमालेखको ८९ करोड ७७ लाख रुपैयाँ, अन्य बीमाअन्तर्गत ५४ वटा बीमालेखको ५२ करोड ९२ लाख रुपैयाँ र स्वास्थ्य बीमाअन्तर्गत ४ वटा बीमालेखको ४ करोड १६ लाख रुपैयाँ दाबी परेका छन् । ओरियन्टलमा सबैभन्दा बढी दाबी प्राधिकरणअनुसार  दि ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा ठूलो रकमको बीमा दाबी परेको छ । उक्त कम्पनीमा ८ वटा बीमालेखमार्फत १३ अर्ब ४ करोड २१ लाख रुपैयाँको दाबी परेको छ ।  दाबी संख्याको हिसाबले भने शिखर इन्स्योरेन्स कम्पनीमा सबैभन्दा बढी दाबी परेको छ । शिखरमा १२७ वटा बीमालेखबापत् १ अर्ब ८७ करोड ५४ लाख रुपैयाँको दाबी परेको छ । सानिमा जीआईसी इन्स्योरेन्समा १०२ वटा दाबीमार्फत २ अर्ब १०  करोड २८ लाख रुपैयाँको दाबी परेकाे छ । युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबीमार्फत ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँको बीमा दाबी परेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ वटा बीमालेखमार्फत १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, हिमालयन एभरेष्टमा ४५ वटा बीमालेखमार्फत ६४ करोड ७८ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ६६ वटा बीमालेखमार्फत ५१ करोड ७० लाख रुपैयाँँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ वटा बीमालेखको २४ करोड २३ लाख रुपैयाँ बराबरको बीमा दाबी परेका छन् ।  त्यसैगरी नेपाल इन्स्योरेन्समा ३२ वटा बीमाालेखमार्फत २३ करोड ८६ लाख रुपैयाँ, आइजिआई प्रुडुन्सियलमा २६ वटा बीमालेखमार्फत १८ करोड ७३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा २१ बीमालेखमार्फत ११ करोड ३१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १४ वटा बीमालेखको ३ करोड १२ लाख रुपैयाँको बीमाा दाबी परेका छन् । त्यस्तै राष्ट्रिय बीमा कम्पनीमा २ वटा बीमालेखको ७६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा २ वटा बीमालेखमार्फत ५३ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा ५ लाख रुपैयाँको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।