सिंहदरबारबाटै न्युयोर्कको मन्त्रीस्तरीय सत्रमा अर्थमन्त्रीको सम्बोधन: हरित अर्थतन्त्र र ऋण व्यवस्थापनमा जोड

काठमाडौं । संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् अन्तर्गत न्युयोर्कस्थित राष्ट्र संघीय मुख्यालयमा आयोजित विकासका लागि वित्त सम्बन्धी मन्त्रीस्तरीय सत्रलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बोधन गरेका छन् । 

काठमाडौंस्थित सिंहदरबारबाट भर्चुअल माध्यममार्फत प्रमुख वक्ताका रूपमा सहभागी हुँदै अर्थमन्त्री वाग्लेले अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरूले सामना गरिरहेका वित्तीय चुनौती र जलवायु वित्तको न्यायोचित वितरणमा जोड दिए । 

मन्तव्यका क्रममा उले दिगो विकास लक्ष्य हासिल गर्नका लागि विश्वव्यापी वित्तीय संरचनामा सुधार आवश्यक रहेको औंल्याउँदै नेपाल जस्ता मुलुकका लागि सहुलियतपूर्ण ऋण र वैदेशिक लगानीको महत्त्वबारे विश्व समुदायको ध्यानाकर्षण गराए । 

विशेषगरी महामारी पछिको आर्थिक पुनरुत्थान र बढ्दो ऋणको भारलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले थप लचिलो र सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा उनको विशेष जोड थियो । 

मन्त्री वाग्लेले नेपालले अवलम्बन गरेका आर्थिक सुधारका प्रयासहरू साझा गर्दै हरित अर्थतन्त्र र समावेशी विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको उल्लेख गरे ।

Share News