पूर्वाधार सम्मेलनमार्फत १७ अर्ब डलरका परियोजना लगानीकर्तामाझ प्रस्तुत गरिने

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे ।

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलन २०२६ मार्फत करिब १७ अर्ब अमेरिकी डलर बराबरका पूर्वाधार परियोजना स्वदेशी तथा विदेशी लगानीकर्तामाझ प्रस्तुत गरिने भएको छ । 

आगामी म‌ंसिर २३ र २४ गते आयोजना हुने सम्मेलनमा सम्बन्धित परियोजनाका प्रवर्द्धक निकायले नै लगानीकर्तासमक्ष आफ्ना परियोजनाबारे प्रस्तुति दिने भएका छन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मेलनलाई नीतिगत बहस, परियोजना तयारी र कार्यान्वयनलाई एउटै शृङ्खलामा जोड्ने साझा मञ्चका रूपमा अघि बढाउन लागिएको जानकारी दिए । 

उनका अनुसार यसपटक सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लगानीका सम्भावनालाई ठोस परियोजना र निर्माणमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ ।

सम्मेलनको तयारीबारे आयोजित पत्रकार सम्मेलन तथा प्रोजेक्ट शोकेसमा बोल्दै पाण्डेले परियोजनाका जिम्मेवार निकाय र लगानीकर्ताबीच प्रत्यक्ष संवाद गराउने गरी कार्यक्रम तयार पारिएको बताए । 

सम्मेलनमा चारवटा प्लेनरी सेसन, विषयगत छलफल, बिजनेस टु बिजनेस (बीटुबी) बैठक तथा परियोजना प्रदर्शनीसमेत आयोजना गरिनेछ ।

नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । 

सम्मेलनको तयारीका लागि पूर्वाधार विकासमन्त्रीको नेतृत्वमा निर्देशक समिति तथा मन्त्रालयका सचिवको नेतृत्वमा कार्यसमिति गठन गरी काम भइरहेको पाण्डेले जानकारी दिए ।

सम्मेलनलाई व्यवस्थित बनाउन सीएनआईमा सचिवालय स्थापना गरिएको छ । सचिवालयमा पूर्वाधार विकास मन्त्रालय, लगानी बोर्डको कार्यालय, निजी क्षेत्र तथा युवा निर्माण व्यवसायी समूहका प्रतिनिधि एउटै टोलीमा रहेर काम गरिरहेका छन् । 

यसलाई सरकार र निजी क्षेत्रको साझा संयन्त्रका रूपमा व्याख्या गर्दै पाण्डेले निर्णय प्रक्रियामा सरकारी स्वामित्व र कार्यान्वयनमा निजी क्षेत्रको सक्रियता रहने बताए ।

उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्न आह्वानसमेत गरे । पूर्वाधारलाई सडक र पुलमा मात्र सीमित नराखी प्रसारण लाइन, सिँचाइ, औद्योगिक क्षेत्र, गोदाम, डिजिटल सञ्जाल, खानेपानी, व्यवस्थित सहर तथा निर्माणपछिको सञ्चालनसम्म समेटेर हेर्नुपर्ने उनको भनाइ थियो ।

नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरको आकारमा पुर्याउने लक्ष्य हासिल गर्न लगानीसँगै उत्पादन क्षमता वृद्धि गर्नुपर्नेमा उनले जोड दिए । 

स्पष्ट नीति, समयमै निर्णय र भरपर्दो सार्वजनिक सेवाले लगानीको वातावरण बनाउने भन्दै उनले निजी क्षेत्रले पुँजी, प्रविधि र उद्यमशीलतामार्फत उत्पादन तथा रोजगारी विस्तारमा योगदान गर्नुपर्ने बताए ।

यस वर्षको सम्मेलनको मूल नारा ‘उत्थानशील भविष्यका लागि निर्माण’ रहेको छ । पाण्डेका अनुसार उत्थानशील पूर्वाधारका तीन प्रमुख पक्ष भौतिक, आर्थिक र संस्थागत हुन् । 

जोखिमलाई ध्यानमा राखेर सडक, पुल तथा प्रसारण लाइन निर्माण गर्नु, ऊर्जा र उत्पादनमा आत्मनिर्भरता बढाउनु तथा सरकार परिवर्तन भए पनि नीतिगत स्थिरता र अनुमानयोग्य नियम कायम राख्नु आवश्यक रहेको उनले बताए ।

पूर्वाधारमा हुने लगानीले उद्योगको लागत घटाउने, आपूर्ति शृङ्खला व्यवस्थित गर्ने, उद्यम विस्तार गर्ने र रोजगारी सिर्जना गर्ने उनको भनाइ थियो । 

भूकम्प, बाढी र पहिरोजस्ता विपद्का कारण पूर्वाधारमा अवरोध आउँदा बजार र उद्योगसमेत प्रभावित हुने भएकाले जोखिम प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनुपर्ने उनले बताए ।

पाण्डेले सम्मेलनलाई लगानी प्रवर्द्धनमा मात्र सीमित नराखी परियोजनाको तयारी, कार्यान्वयन र त्यसपछिको अनुगमनसँग जोडिएको निरन्तर प्रक्रियाका रूपमा अघि बढाइने बताए ।

Share News