काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति-सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री शाहले बिहीबार (आज) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका हुन् ।
छलफलमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए ।
छलफलमा चाडपर्वका बेला नागरिकको सुरक्षा र देशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे ब्रिफिङ लिइएको थियो ।
प्रधानमन्त्री शाहले देशको सुरक्षा व्यवस्था थप बलियो बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय र सहकार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले सुरक्षा निकायबीच सूचना आदानप्रदानलाई पनि चुस्त बनाउन जोड दिएका छन् ।
त्यस्तै, नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन उनले निर्देशन दिएका छन् ।
शान्ति–सुरक्षाको व्यवस्था प्रभावकारी र चुस्त बनाउन पनि प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गरेका छन् ।