जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी तीव्र, १७ बोगीको रेलबाट परीक्षण

काठमाडौं । जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी तीव्र पारिएको छ ।

यसैक्रममा जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था परीक्षण गर्न १७ बोगीको भारतीय रेल चलाइएको हो । नेपाल र भारत दुवै पक्षको पहलमा अघि बढाइएको योजनाअन्तर्गत रेल चलाएर परीक्षण गरिएको नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।

उनका अनुसार जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा विस्तार गर्ने उद्देश्यले परीक्षणको काम अघि बढाइएको हो । रेल सञ्चालनका लागि आवश्यक तयारी तीव्र पारिए पनि परीक्षणको चरण भने अझै पूरा भइसकेको छैन । रेल सञ्चालनसँग सम्बन्धित प्राविधिक परीक्षण तथा अन्य प्रक्रिया जारी रहने र ती सबै प्रक्रिया पूरा भएपछि सेवा सञ्चालनको थप प्रक्रिया अघि बढाइने पराजुलीले बताए ।

प्रस्तावित योजनाअनुसार नेपाली भूमिमा जयनगरदेखि जनकपुरधामसम्म नेपाली रेल सञ्चालन हुनेछ । त्यसपछि भारतीय रेलमार्फत भारतका दुईदेखि तीनवटा स्टेसनबाट यात्रु चढाएर अयोध्यासम्म पुर्याउने योजना रहेको पराजुलीले जानकारी दिए ।

जनकपुरधाम र अयोध्या दुवै धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका सहर हुन् । जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा लिने धार्मिक मान्यताका कारण यी दुई सहरबीच रेल सेवा सञ्चालनले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

यद्यपि, रेल सेवा सञ्चालनको मिति र नियमित सेवा सुरु हुने समय भने प्राविधिक परीक्षण तथा आवश्यक तयारी पूरा भएपछि मात्रै टुङ्गो लाग्नेछ । 

Share News