२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ अंकले घटेर २५९४ बिन्दुमा झरेको हो ।   नेप्सेका अनुसार ५६ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै न्यादी गुप्रको १८ करोड, शिवम् सिमेन्टको ७ करोड ८९ लाख, श्रीनगर एग्रीटेको ७ करोड ७० लाख र बुटवल पावर इनर्जीको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तीक लघुवित्तको १० प्रतिशत र एसवाइ प्यानलको ९.९८ प्रतिशतले सेयर मूल्य बढेका छन् । आइतबारको कारोबारमा १३ वटा समूहमध्ये वाणिज्य बैंक र म्युचुअल फण्ड बाहेक अन्य सबै समूह घटेको छ ।  विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ तथा व्यापार ०.५९ प्रतिशत घटेका छन् ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीलाई वितरण गर्ने प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको थियो, जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएसँगै अब उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।  

१० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आइतबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।  अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आइतबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२ पुष ९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ ।  यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।