विदेशबाट बाढीपीडितलाई सहयोग पठाउन आइएमईको निःशुल्क सुविधा
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकलाई सहयोग गर्न आइएमईले विदेशबाट नेपालमा निःशुल्क रकम पठाउने सुविधा उपलब्ध गराएको छ । आइएमईका अनुसार प्राकृतिक विपद्को यस संवेदनशील घडीमा विदेशमा रहेका नेपाली तथा नेपाललाई सहयोग गर्न चाहने अन्य व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा कुनै शुल्क नतिरी आइएमईमार्फत सिधै रकम पठाउन सक्नेछन् । कम्पनीले विभिन्न बैंकमा रहेका सरकारी कोषका खातामा विदेशबाट पठाइएको सहयोग रकम सहज, सुरक्षित र निःशुल्क रूपमा जम्मा हुने व्यवस्था मिलाइएको जनाएको छ । यसबाट विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउन सहज हुने विश्वास गरिएको छ । नेपालभित्र रहेका सेवाग्राहीले पनि खल्ती बाइ आइएमई मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । आइएमईले सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढीपीडितको राहत तथा पुनर्स्थापनामा सहयोग गर्न आग्रह गरेको छ । प्रभावित परिवारहरूको दुःखमा साथ दिन र सरकारी राहत अभियानलाई सघाउन सबैमा हातेमालो गर्न कम्पनीले अपिल गरेको छ । यसैबीच, आइएमई ग्रुप परिवारले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अकल्पनीय मानवीय तथा भौतिक क्षति व्यहोरेका परिवारप्रति गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको छ । साथै, उद्धार, राहत तथा पुनर्स्थापनामा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार उनलाई बबरमहलबाट पक्राउ गरेको हो । नेपाल बीमा प्राधिकरणको पत्रद्वारा ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरिएको निरीक्षण प्रतिवेदनअनुसार बीमा ऐन कसुरमा असुन्धानका लागि पौडेललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
बैंकहरूले सीएसआरको रकम राहत, उद्धार र औषधी उपचारमा खर्च गर्न पाउने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्याएको रकम प्राकृतिक प्रकोपका पीडितको औषधोपचार, राहत तथा उद्धारमा समेत खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१’ को पहिलो संशोधन गर्दै सामाजिक उत्तरदायित्वको रकम उपचार, राहत तथा उद्धारमा समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो । रसुवामा आएका बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि केन्द्रीय बैंकले प्राकृतिक प्रकोपबाट प्रभावितलाई लक्षित गर्दै यस्तो व्यवस्था थप गरेको हो । संशोधित मार्गदर्शनअनुसार प्राकृतिक प्रकोप तथा महामारीबाट प्रभावितलाई वितरण गरिने लत्ताकपडा, खाद्यान्न, टेन्ट, भाँडाकुँडालगायत बन्दोबस्तीका सामग्रीका साथै पीडितको औषधोपचार, उद्धार तथा राहत कार्यमा हुने खर्च सामाजिक उत्तरदायित्वको रकमबाट व्यहोर्न सकिनेछ । यसले प्राकृतिक विपद्का पीडितको उपचार तथा उद्धारमा बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वको रकम परिचालन गर्न सहज बनाउनेछ ।