काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकलाई सहयोग गर्न आइएमईले विदेशबाट नेपालमा निःशुल्क रकम पठाउने सुविधा उपलब्ध गराएको छ ।
आइएमईका अनुसार प्राकृतिक विपद्को यस संवेदनशील घडीमा विदेशमा रहेका नेपाली तथा नेपाललाई सहयोग गर्न चाहने अन्य व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा कुनै शुल्क नतिरी आइएमईमार्फत सिधै रकम पठाउन सक्नेछन् ।
कम्पनीले विभिन्न बैंकमा रहेका सरकारी कोषका खातामा विदेशबाट पठाइएको सहयोग रकम सहज, सुरक्षित र निःशुल्क रूपमा जम्मा हुने व्यवस्था मिलाइएको जनाएको छ । यसबाट विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउन सहज हुने विश्वास गरिएको छ ।
नेपालभित्र रहेका सेवाग्राहीले पनि खल्ती बाइ आइएमई मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
आइएमईले सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढीपीडितको राहत तथा पुनर्स्थापनामा सहयोग गर्न आग्रह गरेको छ । प्रभावित परिवारहरूको दुःखमा साथ दिन र सरकारी राहत अभियानलाई सघाउन सबैमा हातेमालो गर्न कम्पनीले अपिल गरेको छ ।
यसैबीच, आइएमई ग्रुप परिवारले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अकल्पनीय मानवीय तथा भौतिक क्षति व्यहोरेका परिवारप्रति गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको छ ।
साथै, उद्धार, राहत तथा पुनर्स्थापनामा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।