काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । यससँगै डिप्रोक्स लघुवित्त कार्ड जारी गर्ने पहिलो लघुवित्त वित्तीय संस्था बनेको छ ।
सम्झौतापछि डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यले पनि वाणिज्य बैंक, विकास बैंक तथा अन्य वित्तीय संस्थाका ग्राहकसरह आधुनिक डिजिटल भुक्तानी सेवा र कार्ड सुविधाको लाभ लिन सक्नेछन् ।
एससीटीले सञ्चालन गर्दै आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डयुक्त नेटवर्कमार्फत डिप्रोक्स लघुवित्तले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी सुविधा उपलब्ध गराउनेछ । यसले ग्राहकलाई कारोबार तथा भुक्तानीका लागि थप सहज विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।
एससीटी र डिप्रोक्स लघुवित्तबीचको यो सहकार्यले ग्रामीण क्षेत्र तथा विपन्न वर्गसम्म आधुनिक वित्तीय प्रविधि र डिजिटल बैंकिङ सेवा विस्तार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । लघुवित्त क्षेत्रमा कार्ड सेवाको सुरुवातलाई वित्तीय समावेशीकरण तथा आधुनिक वित्तीय प्रविधिको विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
एससीटीले स्थापनाकालदेखि नै समाजका सबै वर्गसम्म आधुनिक भुक्तानी प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्यसहित काम गर्दै आएको जनाएको छ । ‘नेटवर्क फर अल’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै लघुवित्त क्षेत्रका सेवाग्राहीलाई समेत सुरक्षित, सहज र आधुनिक डिजिटल भुक्तानी सेवामा आबद्ध गराउने लक्ष्य कम्पनीले लिएको छ ।
यस सहकार्यले नेपालको डिजिटल वित्तीय प्रणालीलाई थप सशक्त, समावेशी र सर्वसुलभ बनाउन योगदान पुग्ने एससीटीको विश्वास छ ।