सभापोखरी हाइड्रोपावरको पौने ११ लाख कित्ता आईपीओ आउँदै, गरिमा क्यापिटलसँग सम्झौता

काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो  । 

आईपीओको प्रत्याभूति गरिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा बुधबार गरिमा क्यापिटल र सभापोखरी हाइड्रोपावरबीच हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्ने भएको हो ।

गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सभापोखरी हाइड्रोपावरले संखुवासभाको सभापोखरी गाउँपालिका–३ मा पाँच मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भई ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङटार सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

कम्पनीले लगानी व्यवस्थापन, निक्षेप सदस्य, डिम्याट तथा मेरो सेयर खाता, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, म्युचुअल फन्ड व्यवस्थापन, डिपोजिटरी सेवा, सेयर रजिस्ट्रार तथा संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ ।

गरिमा क्यापिटलका सेवाहरू गरिमा विकास बैंकका शाखा कार्यालयमार्फत समेत उपलब्ध गराउन सहजीकरण हुँदै आएको कम्पनीले जनाएको छ ।

Share News