काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न १६औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
कम्पनीले चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित गरेको जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी १२.६६ रुपैयाँ रहेको छ । कम्पनीले वितरणयोग्य आम्दानीबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव अघि सारेको थियो ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि हाल कायम लेखापरीक्षक एनबीएसएम एन्ड एसोसिएट्सलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
नेपालको पुँजी बजारमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय लक्ष्मी सनराइज क्यापिटलले सेयर निष्कासनसम्बन्धी मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषका सेवा विस्तारमा योगदान पुर्याउँदै आएको छ । कम्पनीले बन्दमुखी र खुलामुखी गरी विभिन्न म्युचुअल फन्ड सञ्चालन गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार हाल छवटा बन्दमुखी र एउटा खुलामुखी म्युचुअल फन्ड सञ्चालनमा छन् ।
त्यसैगरी, एक अर्ब रुपैयाँ पुँजी रहेको लक्ष्मी सस्टेनेबल इनर्जी फन्डमार्फत दिगो ऊर्जा क्षेत्रका परियोजनामा लगानी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले दिगो तथा उत्तरदायी लगानीलाई प्राथमिकता दिँदै इम्प्याक्ट प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्टमा हस्ताक्षर गर्ने नेपालको पहिलो संस्था भएको पनि जनाएको छ । उक्त पहलले सामाजिक तथा वातावरणीय प्रभावलाई ध्यानमा राखेर लगानी व्यवस्थापन गर्ने लक्ष्य राख्छ ।