बाढीपहिरो: ४.१८ अर्ब रुपैयाँ दाबी, बीमा भुक्तानी ११.१५ करोड रुपैयाँ मात्रै
काठमाडौं । अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म ११ करोड १५ लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी भएको छ । बीमा प्राधिकरणका अनुसार गत असोज १८ गते यताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमा दाबी परेको थियो । त्यसमा कुल ४ अर्ब १८ करोड २६ लाख रुपैयाँ प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ९६ वटा दाबीको भुक्तानी भएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए । विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीमध्ये ३३ वटाको भुक्तानी भएको छ । सम्पत्ति बीमामा ३ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ बराबरको दाबी परेको थियो । प्राधिकरणका अनुसार सो दाबीमा ९ करोड ६४ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । त्यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिब ५१ करोड ५७ लाख रुपैयाँमध्ये कुल सातवटा दाबीको ९ लाख रुपैयाँ बीमितलाई भुक्तानी भएको छ । कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबी परेको थियो । त्यसमा करिब ४ करोड १४ लाख रुपैयाँ दाबी रकममध्ये कुल ४२ वटा दाबीको १९ लाख रुपैयाँ भुक्तानी भएको छ । यस्तै, मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिब २ करोड ८२ लाख रुपैयाँ दाबी रकममध्ये कुल १२ वटा दाबीको १ करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ । सामुद्रिक बीमातर्फ चारवटा बीमा दाबीको रु ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये २ वटा दाबीको रु तीन लाख दाबी रकम बीमितलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको १ करोड १९ लाख रुपैयाँ र लघुबीमातर्फ २ वटा दाबीको १२ लाख रुपैयाँ बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म सुरु नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
सिटिजन्स सन्तुलित योजना खुला, १० करोड इकाई सर्वसाधारणका लागि निष्कासन
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सञ्चालन गर्ने सामूहिक लगानी योजना सिटिजन्स सन्तुलित योजनाको इकाई निष्कासन खुला गरिएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापकको रूपमा उक्त योजना सञ्चालन गर्न लागेको हो । योजनाअन्तर्गत प्रति इकाई १० रुपियाँ अंकित मूल्यका कुल १० करोड रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गरिनेछ । यसमध्ये न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक (फन्ड प्रमोटर) सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि सुरक्षित गरिएको छ भने बाँकी इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको जनाइएको छ । लगानीकर्ताले न्यूनतम १ हजार इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आसबाआई प्रणालीमार्फत आवेदन दिन सकिनेछ भने धितोपत्र कारोबार व्यवस्थापन प्रणाली मेरो शेयर प्रयोग गरी पनि आवेदन दिन सकिनेछ । सन्तुलित योजनाले लगानीकर्तालाई दीर्घकालीन रूपमा जोखिम व्यवस्थापनसहित प्रतिफल प्रदान गर्ने उद्देश्य लिएको क्यापिटलले जनाएको छ। योजना अन्तर्गत सेयर, ऋणपत्र, बैंक निक्षेप तथा अन्य स्वीकृत वित्तीय उपकरणमा लगानी गरिने उल्लेख गरिएको छ, जसले पूँजी वृद्धिसँगै स्थिर आम्दानीमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । सिटिजन्स क्यापिटल लिमिटेडले पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फन्ड, सेयर दर्ता, डिम्याट सेवा, इश्यू व्यवस्थापन तथा अन्डरराइटिङजस्ता सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीले सन्तुलित लगानीमार्फत समृद्धि फैलाउने लक्ष्यसहित उक्त योजना सार्वजनिक गरिएको जनाएको छ ।
नेरूडे मिर्मिरे लघुवित्तको सीईओ बने केशव पौडेल, ३ दशक बढीको अनुभव
काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा केशव कुमार पौडेल नियुक्त भएका छन् । लघुवित्त संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ पौडेलसँग लघुवित्त क्षेत्रमा ३ दशक काम गरेको अनुभव छ । निर्धन उत्थान लघुवित्तमा व्यवस्थापकीय तहमा २२ वर्ष काम गरेका पौडेलले इन्फिनिटि लघुवित्त, कालिका लघुवित्त र सबैको लघुवित्तमा सीईओको भूमिका निर्वाह गरिसकेका छन् । भोजराज बस्यालको कार्यकाल सकिएपछि लघुवित्तमा सीईओ पद रिक्त थियो । बस्यालको विसं २०८२ साउन मसान्तमा पदावधी सकिएको थियो । उनको कार्यकाल सकिएपछि नायव प्रमुख कार्यकारी अधिकृत भागनारायण साहूलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । तर, उनले गत मंसिर २४ गते स्वेच्छिक अवकाशमा बिदा भएपछि सहायक प्रमुख कार्यकारी अधिकृत ऋषि प्रसाद न्यौपानेलाई कामु सीईओ जिम्मेवारी तोकिएको थियो ।