बाढीबाट क्षति पुगेको सम्पत्तिको दाबी लिन सिद्धार्थ प्रिमियरको आग्रह
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (एसपीआईएल)ले रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । कम्पनीले बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा प्रभावित सबै नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ । बाढीका कारण भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा क्षति पुगेको भन्दै कम्पनीले कठिन परिस्थितिमा बीमा क्षेत्र प्रभावित बीमितको साथमा रहेको जनाएको छ । बीमाबाट संरक्षण भएका सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न बीमा क्षेत्र प्रतिबद्ध रहेको उल्लेख गर्दै कम्पनीले प्राकृतिक विपद्बाट बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनमा क्षति पुगेका बीमितलाई यथाशीघ्र कम्पनीमा सम्पर्क गरी दाबी भुक्तानी प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । कम्पनीले बाढीबाट क्षति पुगेका बीमितको दाबी भुक्तानी प्रक्रियामा आवश्यक सहजीकरण गर्ने जनाएको छ । एसपीआईएलले आफ्ना बीमा सेवा लिएका ग्राहकलाई बाढीबाट भएको क्षतिको विवरण उपलब्ध गराउनसमेत आग्रह गरेको छ । कम्पनीले ग्राहकलाई तोकिएका सम्पर्क नम्बर वा इमेलमार्फत क्षतिको जानकारी गराउन अनुरोध गरेको छ । क्षतिको विवरणका लागि सुबोध कर्माचार्यको ९८५१३६५२७२ तथा [email protected], अमिता त्रिपाठीको ९८५१३६५२६९ तथा [email protected], आदर्श श्रेष्ठको ९८५१२२५९०१ तथा [email protected] र गिरीश दाहालको ९८५१२०१४२४ तथा [email protected] मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
रसुवाको बाढीमा क्षति पुगेकालाई बीमक संघले भन्यो– दाबी भुक्तानीमा सहजीकरण गर्छौं
काठमाडौं । नेपाल बीमक संघले रसुवा जिल्लाको सीमाक्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संघले बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा प्रभावित सबै नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ । बाढीका कारण नागरिक तथा व्यवसायीका घर, भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा पुगेको क्षतिप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कठिन परिस्थितिमा बीमा क्षेत्र प्रभावित बीमित तथा सर्वसाधारणको साथमा रहेको र बीमामार्फत सुरक्षित सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न प्रतिबद्ध रहेको संघले जनाएको छ । प्राकृतिक विपद्बाट बीमा गरिएको सम्पत्ति, सवारीसाधन, व्यवसाय वा अन्य बीमित सम्पत्तिमा क्षति पुगेका सम्पूर्ण बीमितलाई सम्बन्धित बीमा कम्पनीमा यथाशीघ्र बीमा दाबी भुक्तानीको प्रक्रिया सहज बनाउन संघले अनुरोध गरेको छ । साथै, प्रभावित बीमितलाई दाबी प्रक्रियामा आवश्यक सहजीकरण तथा सहयोग गर्न सम्बन्धित बीमा कम्पनीलाई नेपाल बीमक संघले आग्रह गरेको छ । कठिन घडीमा बीमितहरूको क्षतिको यथाशीघ्र मूल्यांकन तथा दाबी फर्छ्योट प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन संघले आवश्यक समन्वय गर्ने जनाएको छ । नेपाल बीमक संघले यस दुःखद् घडीमा प्रभावित नागरिक तथा व्यवसायीहरूसँग आफूहरूको प्रतिबद्धता रहेको जनाएको छ ।
बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ तान्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको अतिरिक्त तरलता व्यवस्थापन गर्न ९० अर्ब रुपैयाँको चार महिने निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भदौ १० गते ११९ दिन अवधिको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो । सूचना अनुसार बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत मात्रै गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । निक्षेपको साँवा र ब्याज एकैपटक आगामी पुस ८ गते भुक्तानी गरिनेछ । यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडकै गुणकमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल लगाउन सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकतामा राखेर रकम बाँडफाँट गर्ने जनाएको छ । एउटै ब्याजदरमा माग गरिएको रकम आह्वान रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिने व्यवस्था छ । यसअघि पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढेको तरलता व्यवस्थापनका लागि विभिन्न अवधिका निक्षेप संकलन उपकरणमार्फत रकम तान्दै आएको छ ।