काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको अतिरिक्त तरलता व्यवस्थापन गर्न ९० अर्ब रुपैयाँको चार महिने निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भदौ १० गते ११९ दिन अवधिको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो । सूचना अनुसार बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत मात्रै गर्न सकिनेछ ।
राष्ट्र बैंकका अनुसार निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । निक्षेपको साँवा र ब्याज एकैपटक आगामी पुस ८ गते भुक्तानी गरिनेछ ।
यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडकै गुणकमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल लगाउन सकिने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकतामा राखेर रकम बाँडफाँट गर्ने जनाएको छ । एउटै ब्याजदरमा माग गरिएको रकम आह्वान रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिने व्यवस्था छ ।
यसअघि पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढेको तरलता व्यवस्थापनका लागि विभिन्न अवधिका निक्षेप संकलन उपकरणमार्फत रकम तान्दै आएको छ ।