स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारण सभाबाट १९ प्रतिशत लाभांश पारित
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश ३९औँ वार्षिक साधारण सभाबाट पारित गरेको छ । सोमबार काठमाडौंको आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले बैंकको हाल कायम चुक्तापूँजीको १९ प्रतिशत दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरू पनि पारित गर्यो । सभामा सम्बोधन गर्दै बैंकका अध्यक्ष वेणुगोपाल रंगनाथनले लगानीकर्ता, ग्राहक, नियामक निकाय, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे । उनले नेपालमा एकमात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक विविधताको माध्यमबाट व्यापार र समृद्धि प्रवर्द्धन गर्ने उद्देश्यमा दृढ रहेको बताए । हाल बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकले नेपालमा आर्थिक वृद्धिमा योगदान पुर्याउँदै उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
माउन्टेन इनर्जीको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस सेयर पारित
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । साधारणसभाले आव २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेसँगै अब उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । सभाले अध्यक्ष पाण्डेबाट प्रस्तुत भएको आव २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यस्तै कम्पनीको लेखा परिक्षकको प्रतिवेदन, सहित २०८२ आषाढ मसान्तको वासलात, २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ । सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आव २०८२/८३ को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गरि निजको पारिश्रमिक तोक्ने निर्णय पनि गरेको छ । साथै सभाले प्रवन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ । यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ ।
कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा योजना
काठमाडौं । कुमारी बैंकले दिगो विकास लक्ष्य हासिल गर्न र सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्न ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरूलाई विद्युतिय बस र माइक्रोबस खरिदका लागि बैंकबाट आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, ऋणीले भुक्तानी गर्नुपर्ने डाउन पेमेंटमा परियोजनाबाट निर्धारित अनुदान समेत प्रदान गरिनेछ । बैंकले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट लगायतका संस्थासँगको साझेदारीमा सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनालाई योजना अन्तर्गत समावेश गरेको छ । यसका अतिरिक्त, हाल इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गर्ने व्यक्तिहरूले पनि आफ्ना सवारी साधन विद्युतीय सवारी साधनमा परिवर्तन गर्दा थप अनुदान पाउनेछन् । कुमारी बैंकका दिगो बैंकिङ विकास विभागका प्रमुख अर्पण पौडेलका अनुसार यस योजनाबाट ऋणीको सुरुमा आवश्यक पूँजी व्यवस्थापन सहज हुने मात्र होइन, सार्वजनिक यातायातमा विद्युतीय सवारी साधन प्रयोग बढाएर प्रदूषण कम गर्ने बहुआयामिक लाभ पनि हासिल हुनेछ । विगत २४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ इकाई र ३१७ एटिएममार्फत आफ्ना ग्राहकलाई आधुनिक तथा प्रभावकारी सेवाहरू उपलब्ध गराउँदै आएको छ र आगामी दिनमा पनि सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।