काठमाडौं । देशमा आइपरेको विनाशकारी प्राकृतिक विपद्का पीडित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि शंकर ग्रुपले ‘प्रधानमन्त्री राहत कोष’मा ४ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
शंकर ग्रुपकी निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले सोमबार एक कार्यक्रमका बीच अर्थमन्त्रीलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।
यसका साथै ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा रुपन्देही (भैरहवा) का प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूका लागि अस्थायी आश्रय निर्माण गर्न २५ लाख बराबरका २ हजार ५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको जनाएको छ ।
विपद्का क्रममा ज्यान गुमाउनेहरूप्रति गहिरो श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै शंकर ग्रुपले बेपत्ता भएकाहरूबारे सकुशल उद्धारको कामना गरेको छ ।
उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षा निकाय, स्वयंसेवक र सरकारी अधिकारीहरूप्रति आभार व्यक्त गर्दै ग्रुपले राष्ट्रिय सङ्कटको बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो दायित्व भएको र भविष्यमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।