टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो, विमानस्थल झन्डै सवा घण्टा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्किँदा जहाजको नोज ल्यान्डिङ गियरमा रहेको बत्तीमा सामान्य क्षति पुगेको छ । घटनापछि चराको अवशेष हटाउन विमानस्थलको धावनमार्ग सफा गर्नुपर्दा उडान सञ्चालन प्रभावित भएको थियो ।

विमानस्थलका एक अधिकारीका अनुसार स्थानीय समयअनुसार बिहान ६:३६ बजे अवतरण गर्ने क्रममा जहाजमा परेवा ठोक्किएको थियो । त्यसपछि जहाजको अगाडिको ल्यान्डिङ गियरमा जडित बत्तीमा सामान्य क्षति देखिएको हो । ल्यान्डिङ गियरमा भने क्षति पुगेको जानकारी प्राप्त नभएको ती अधिकारीले बताए ।

घटनापछि धावनमार्ग सफाइका लागि विमानस्थल बिहान ७:४८ बजेसम्म बन्द गरिएको थियो । जहाजमा ठोक्किएको चराको अवशेष हटाउन समय लागेपछि विमानस्थलको नियमित उडान सञ्चालनमा असर परेको हो ।

विमानस्थलको एयरसाइडमा कार्यरत एक अधिकारीका अनुसार सरसफाइका लागि आवश्यक जनशक्ति परिचालन गर्न ढिलाइ हुँदा धावनमार्ग खुलाउन समय लागेको थियो । सरसफाइमा खटिने कर्मचारी बिदामा रहेकाले प्रक्रिया लम्बिएको उनले बताए ।

उक्त जहाजबाट बाहिरिने ७१ जना यात्रु रहेको बताइएको छ । तर जहाजमा आएका यात्रुको संख्या भने खुल्न सकेको छैन ।

जहाजको नोज ल्यान्डिङ गियरमा रहेको बत्तीमा सामान्य क्षति पुगे पनि प्राविधिक अवस्थाबारे आवश्यक जाँचपछि जहाज पुनः उडानका लागि तयार रहेको विमानस्थलका अधिकारीले बताएका छन् ।

Share News