काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १९ लाख ६ हजार ३३५ रुपैयाँ सहयोग गरेका छन् ।
कम्पनीका ४९९ कर्मचारीको पारिश्रमिकबाट उक्त रकम संकलन गरिएको हो ।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । सहयोग रकमको चेक सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवार क्षेत्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कर्मचारीहरूले प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेका हुन् ।
कम्पनीले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले कर्मचारीको पारिश्रमिकबाट रकम संकलन गरी सरकारको उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ ।
सहयोग रकम बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा प्रयोग हुने अपेक्षा गरिएको छ ।