अब घरमै बसेर राष्ट्रिय वाणिज्य बैंकको कर्जाका लागि आवेदन दिन सकिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई घरमै बसेर कर्जाका लागि आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन’ सेवा सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको सुशासन तथा नतिजामुखी कार्यसम्पादनसम्बन्धी १०० बुँदे कार्ययोजनाको मर्मअनुसार ग्राहक सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले बैंकले यो सेवा सुरु गरेको जनाएको छ । बैंकका अनुसार कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात तथा आवेदनको अवस्थाबारे ग्राहकमा रहने जिज्ञासा र अन्योल हटाउन डिजिटल माध्यमबाटै कर्जा आवेदन दिन सकिने व्यवस्था गरिएको हो । यसबाट कर्जा प्रक्रिया थप छिटो, सहज, झन्झटरहित र पारदर्शी हुने अपेक्षा गरिएको छ । कर्जा आवेदन दिन बैंकको आधिकारिक वेबसाइटमा रहेको ‘कुइक एसेस’ अन्तर्गतको ‘अनलाइन लोन एप्लिकेसन’ मा क्लिक गरी ‘आरबीबी एक्समार्ट लेन्डिङ डिजिटल लोन पोर्टल’ मा प्रवेश गर्नुपर्नेछ । त्यसपछि इमेल, युजरनेम र पासवर्ड प्रयोग गरी दर्ता गर्नुपर्नेछ। आवश्यक व्यक्तिगत विवरण भरेर आवेदन पेस गरेपछि ग्राहकले आवेदनको जानकारी प्राप्त गर्नेछन् । साथै, ‘ट्र्याक प्रोग्रेस’ विकल्पमार्फत आफ्नो आवेदनको अवस्था अनलाइनबाटै हेर्न सकिने बैंकले जनाएको छ । ग्राहकको सहजताका लागि अनलाइन कर्जा आवेदन पोर्टलको क्यूआर कोडसमेत उपलब्ध गराइएको छ । पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्लामा फैलिएका ३१६ शाखामार्फत कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकिङमा एआईको प्रयोग बढाउन ग्लोबल आइएमईको ह्याकाथन सुरु
काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई एआई–एमएल ह्याकाथन २०२६’ सुरु गरेको छ । शुक्रबार आयोजित विशेष समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । बैंकिङ क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष पहिलोपटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष दोस्रो संस्करण सञ्चालन गरेको जनाएको छ । प्रतियोगितामा प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूबाट खुला आवेदन माग गरिएको थियो । तीमध्ये छनोट भएका १४ टोली आवासीय प्रतियोगितामा सहभागी छन् । बैंकका अनुसार प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा सहभागीहरूले लगातार ३६ घण्टासम्म कोडिङ गर्नेछन् भने दोस्रो चरणमा अनसाइट ह्याकाथन आयोजना हुनेछ । सहभागी टोलीका लागि आवासीय व्यवस्थासमेत गरिएको छ । प्रतियोगिताका क्रममा टोलीहरूले बैंकले निर्धारण गरेका विभिन्न विषयमा आधारित नवीन अवधारणा र समाधान प्रस्तुत गर्नेछन् । ती समाधानले बैंकिङ सेवालाई थप सुरक्षित, सरल, प्रभावकारी र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा बैंकको छ । उद्घाटन कार्यक्रममा सीईओ रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङका भावी सेवा विकासका सम्भावना पहिचान गर्न र यस क्षेत्रमा देखिने चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्य गर्ने अवसरसमेत उपलब्ध गराइने जानकारी दिए ।
स्ट्यान्डर्ड चार्टर्डसँग सानिमा बैंकको सहकार्य, एपीआईमार्फत अन्तर्राष्ट्रिय भुक्तानी
काठमाडौं । सानिमा बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँगको सहकार्यमा एपीआईमा आधारित सीमापार भुक्तानी सेवा सुरु गरेको छ । भारतीय रुपैयाँमा हुने बाह्य भुक्तानी कारोबारलाई छिटो, सुरक्षित र स्वचालित बनाउन दुवै बैंकले अत्याधुनिक एपीआई प्रणाली सञ्चालनमा ल्याएका हुन् । बैंकका अनुसार यस साझेदारीसँगै सानिमा बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीका लागि एपीआई कनेक्टिभिटी स्थापना गर्ने नेपालको पहिलो बैंक बनेको छ । नयाँ प्रणाली लागू भएपछि परम्परागत म्यानुअल तथा ब्याचमा आधारित भुक्तानी प्रक्रियाको स्थान पूर्ण रूपमा स्वचालित तथा रियल टाइम भुक्तानी प्रणालीले लिने बैंकले जनाएको छ । यसबाट अन्तरदेशीय भुक्तानी अझ छिटो, सहज र प्रभावकारी हुने विश्वास गरिएको छ । यसैबीच, दुवै बैंकबीच एपीआईमार्फत अमेरिकी डलरमा समेत भुक्तानी सेवा सञ्चालन गर्ने समझदारी भएको छ । यसले सीमापार बैंकिङ सहकार्यलाई थप विस्तार गर्ने र अन्तर्राष्ट्रिय कारोबारलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत (सीएफओ) निरज ढकालले यो पहलले सीमापार बैंकिङ सेवामा नवीन, सरल, छिटो र भरपर्दो सेवा प्रदान गर्ने बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए । उनका अनुसार यसबाट नेपाल–भारतबीचको वित्तीय कारोबार थप सुरक्षित, सहज र तीव्र हुने तथा ग्राहकको अनुभवमा उल्लेखनीय सुधार आउनेछ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका हेड अफ फाइनान्सियल इन्स्टिच्युसन्स राजकमल बस्नेतले यो साझेदारीले स्ट्यान्डर्ड चार्टर्डको सीमापार बैंकिङ अनुभव र सानिमा बैंकको प्रविधिमैत्री एपीआई समाधानलाई एकीकृत गरेको बताए । उनका अनुसार यसबाट अन्तर्राष्ट्रिय कारोबारको समय र लागत घट्ने, पारदर्शिता बढ्ने तथा दक्षता, सुरक्षा र नियामकीय अनुपालन अझ सुदृढ हुनेछ ।