नेटवर्थ बढाउँदै हिमालयन एभरेस्ट, आन्तरिक वित्तीय स्थिति मजबुत

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो कुल व्यवसाय (खुद बीमा शुल्क) र प्रतिसेयर नेटवर्थमा सुधार गर्दै आन्तरिक वित्तीय आधारलाई थप मजबुत बनाएको छ । एक वर्षमा कम्पनीले २ अर्ब २१ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आव २०८१/८२ मा २ अर्ब २ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिका कम्पनीको खुद बीमा शुल्क ९.७४ प्रतिशत बढेको छ । व्यवसाय विस्तारसँगै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि बढेको छ । एक वर्षमा कम्पनीको प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ९४ पैसा पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ९ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १८.३४ प्रतिशतले बढेको छ । चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा अन्य कोषहरुको स्थिति बलियो देखिएको छ ।  कम्पनीको महाविपत्ति कोषमा ९ करोड ९० लाख रुपैयाँ छ । अघिल्लो आवमा कम्पनीको उक्त कोषमा ८ करोड २१ लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ८ करोड २१ लाख रुपैयाँ, रिर्टेन्ड अर्निङमा २७ करोड ४७ लाख रुपैयाँ र अन्य इक्युटीमा ३९ करोड २६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ, रिर्टेन्ड अर्निङमा ३० करोड १५ लाख रुपैयाँ र अन्य इक्युटीमा ४१ करोड ४२ लाख रुपैयाँ रहेको छ । कम्पनीको सोल्भेन्सी अनुपात ४३८.१० प्रतिशत रहेको छ । यसले कम्पनीको जोखिम बहन गर्न सक्ने र बीमितहरूको दाबी भुक्तानी गर्न सक्ने क्षमता अत्यन्तै उच्च र सुरक्षित रहेको देखाउँछ । दाबी दायित्व बढ्दा नाफामा संकुचन व्यवसाय र आन्तरिक वित्तीय जग बलियो भए पनि समीक्षा अवधिमा कम्पनीको खुद नाफामा भने संकुचन आएको छ । दाबी भुक्तानी तथा दाबी दायित्व रकममा भएको वृद्धिका कारण खुद नाफा ३६.५३ प्रतिशतले घटेर ३३ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीले ५३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ५१ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३.५१ रुपैयाँ, पिई अनुपात ३८.४८ रुपैयाँ रहेको छ । 

नेपाल माइक्रो इन्स्योरेन्सको सञ्चालकमा सुनील कुमार पौडेल नियुक्त

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सुनील कुमार पौडेल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ५८औँ बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले सोसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको छ । सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएकी सुनीता श्रेष्ठले सञ्चालक पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो । रिक्त पदमा रुपन्देहीको सैनामैना नगरपालिका–११ निवासी पौडेललाई अर्को साधारण सभा नभएसम्मका लागि सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत अनिल गिरीले नेप्सेलाई पत्रमार्फत पौडेलको नियुक्तिबारे जानकारी गराएका हुन् ।

रुपाकोट रिसोर्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । रुपाकोट रिसोर्ट लिमिटेडले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धमा एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच दुई पक्षीय सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले रुपाकोट रिसोर्टलाई आईपीओ निष्कासनसम्म आवश्यक पर्ने परामर्श तथा अन्य सेवा उपलब्ध गराउनेछ । एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापनादेखि आईपीओ निष्कासनको चरणसम्म आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ । कास्कीको रुपा गाउँपालिका–६, मैदानमा कार्यालय रहेको रुपाकोट रिसोर्टले प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्ने तयारी अघि बढाएको हो ।  पर्यटनको आकर्षक गन्तव्य बन्दै रुपाकोट पोखरामा अवस्थित रुपाकोट रिसोर्ट पर्यटन तथा आतिथ्य क्षेत्रको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै आएको छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण, हिमाली शृंखलाको दृश्य तथा रुपा र बेगनास तालको मनोरम दृश्यावलोकन गर्न सकिने भौगोलिक अवस्थिति रिसोर्टको प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ । रिसोर्टले पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । रिसोर्टमा आवासीय सुविधा, भोजन तथा पेय पदार्थ सेवा, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधार उपलब्ध छन् । यसका कारण पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत रुपाकोट रिसोर्ट उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको कम्पनीले जनाएको छ । एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत निजी कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्कासनसम्म आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ ।