सानिमा बैंकको २१ वर्ष पूरा, सातै प्रदेशमा सेवा जारी

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर २१ गते स्थापना भएको २१ वर्ष पूरा गरेको छ । दुई दशकभन्दा बढी समयदेखि निरन्तर सेवा, दायित्व र प्रतिबद्धताका साथ बैंकिङ क्षेत्रको विश्वसनीय संस्थाका रूपमा स्थापित हुँदै आएको सानिमा बैंकले यस अवसरमा २१औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहक तथा सरोकारवालाले बैंकिङ यात्राभर प्रदान गरेको निरन्तर विश्वास र सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंक परिसरमा आयोजित कार्यक्रमका क्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंक २१ वर्षको यात्रामा सघाइरहेका सबै कर्मचारी, ग्राहक तथा सरोकारवालालाई बधाई ज्ञापन गर्दै आगामी दिनमा सामूहिक प्रयासमार्फत बैंकको लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गरे । हाल सानिमा बैंकका सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२७ वटा एटीएम सेवा संचालनमा छन् । बैंकले आगामी दिनमा ग्राहकमैत्री सेवा र प्रविधिमैत्री बैंकिङ विस्तार गर्दै आफ्नो वित्तीय सेवाको दायरा थप बिस्तार गर्ने योजना जनाएको छ ।

३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले घटेर २६०९ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सागर डिस्टिलरीको भएको छ । सागरको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै न्यादी गुप्रको ३२ करोड, बन्दिपुर केबलकारको १५ करोड, युनाइटेड मोदी हाइड्रोको १३ करोड ४९ लाख र हिमालयन रिइन्स्योरेन्सको १३ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तीक लघुवित्त, श्रीनगर एग्रीटेक र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज बजारका सबै सूचक घटेका छन् । बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ तथा व्यापार १.२१ प्रतिशतले घटेका छन् ।

नेपाल इन्स्योरेन्सद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २० गते सामाखुशीमा आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल बीमा प्राधिकरण, जीवन/ निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरू, सर्भेयरहरू सहित २५ संस्थाहरूबाट २८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा नेको इन्स्योरेन्स लिमिटेड प्रथम, नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड द्वितीय र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड तृतीय भएको छ । उक्त टीमका खेलाडीहरूलाई कम्पनीको संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान प्रदान गरेका थिए । प्रतियोगितामा नेपाल माईक्रो इन्स्योरेन्सका रोमन सिंह उत्कृष्ट गोलरक्षक, हिमालयन एभरेष्टका सुनिल थापा उत्कृष्ट डिफेन्डर, हिमालयन एभरेष्टकै दिनेश कुमार सिंह उत्कृष्ट गोलकर्ता भएका छन् भने नेको इन्स्योरेन्सका युकेश तामाङ्ग टुर्नामेन्टका उत्कृष्ट खेलाडी चयन भएका छन् । साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए बापत रेफ्रिहरू र उक्त प्रतियोगिताका लागि मैदान उपलब्ध गराइदिने सामाखुशी फुटसलका राजु महर्जनलाई कम्पनीका अध्यक्षले मायाको चिनो दिएका थिए ।