बीमा क्षेत्रको सुधार र दक्षता वृद्धिमा अनुसन्धान र सहकार्य आवश्यक

काठमाडौं । बीमा क्षेत्रलाई थप प्रभावकारी, विश्वसनीय र दक्ष बनाउन अनुसन्धान, प्राविधिक अध्ययन तथा सम्बन्धित संस्थाबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।  उनीहरूले बीमा सर्भेक्षण, दाबी मूल्याङ्कन, बीमालेख निर्माण तथा प्राविधिक विषयमा निरन्तर अनुसन्धान गरी त्यसका आधारमा नीतिगत सुधार अघि बढाउनुपर्नेमा जोड दिएका छन् । रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स (रिसी) को प्रथम वार्षिक साधारणसभाका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन् । नेपालमा बीमा सर्भेक्षण, क्षति मूल्याङ्कन तथा दाबी प्रक्रियासम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले स्थापना भएको रिसीले नेपाल बीमा प्राधिकरण तथा अन्य सम्बन्धित संघसंस्थासँग सहकार्य गर्दै बीमा क्षेत्रका नयाँ अभ्यास र चुनौतीबारे अनुसन्धानमूलक अध्ययन तथा सुझाव प्रस्तुत गर्दै आएको छ । कार्यक्रममा रिसीका अध्यक्ष मोहन पुरुष ढकालले संस्थाको आगामी प्रमुख प्राथमिकता सदस्यता विस्तारका लागि बलियो र प्रभावकारी संयन्त्र विकास गर्नु रहेको बताए ।  उनले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सञ्चालक समितिसहित सबैप्रति आभार व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणको प्रयास र संस्थाले अघि सारेका रणनीतिका आधारमा आगामी कामलाई थप प्रभावकारी बनाइने बताए । उनका अनुसार संस्थाले विभिन्न रणनीति विकास गरिसके पनि अझै धेरै काम गर्न बाँकी छ । विशेषगरी सदस्यता विस्तारलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक संयन्त्र विकासको काम अघि बढिरहेको उनले जानकारी दिए । अध्यक्ष ढकालले सर्भेयरहरू आ–आफ्नो क्षेत्रमा विज्ञ रहेको उल्लेख गर्दै उनीहरूले लामो समयदेखि हासिल गरेको दक्षता र परीक्षण भइसकेको क्षमतालाई कानुनी तथा संस्थागत रूपमा समेट्नुपर्नेमा जोड दिए ।  सर्भेयरहरूको क्षमता ओझेलमा नपरोस् भन्नेतर्फ सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले नेपाली बीमा सर्भेयरहरूले अनपेक्षित विपद्का समयमा जोखिमको यथार्थ मूल्याङ्कन गर्दै समयमै दाबी फछ्र्यौट गर्न सक्ने क्षमता प्रमाणित गरिसकेको बताए । उनले नेपाली बीमा क्षेत्रको बढ्दो दायरा, प्राविधिक जनशक्तिको विकास तथा विशेषगरी विपद् व्यवस्थापनमा सर्भेयरहरूले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरे ।  नेपालमा पर्याप्त संख्यामा अनुभवी तथा दक्ष सर्भेयर रहेको उल्लेख गर्दै उनले कोभिड-१९ महामारी तथा पछिल्ला ठूला प्राकृतिक विपद्का समयमा सर्भेयरहरूले निर्वाह गरेको भूमिका र दाबी फर्छ्याैटमा पु‍र्याएको योगदान प्रशंसनीय रहेको बताए । अध्यक्ष क्षेत्रीले बीमा क्षेत्रसँग आबद्ध सर्भेयर एसोसिएसन तथा बीमक संघलगायत संस्थालाई सहभागी गराएर संयुक्त रूपमा अध्ययन तथा अनुसन्धान अघि बढाउनुपर्ने बताए ।  बीमालेखको डिजाइनदेखि दाबी मूल्याङ्कनसम्मका विषयमा अनुसन्धान गरी आवश्यक सुझाव तथा सिफारिस तयार गर्नुपर्ने उनको भनाइ थियो । इन्जिनियरिङ बीमामा ‘फिडिक’का सिफारिस तथा इन्जिनियरिङ काउन्सिलले तयार गर्ने बीमा क्लजलाई आधार बनाउने गरिएको उल्लेख गर्दै क्षेत्रीले नेपालमा पनि बीमा क्षेत्रका प्राविधिक विषयमा व्यवस्थित अनुसन्धान आवश्यक रहेको बताए । उनका अनुसार नेपाल बीमक संघले प्राविधिक विषयमा सुझाव दिन विभिन्न प्राविधिक समूह तथा उपसमिति गठन गरेको छ ।  अन्डरराइटिङसम्बन्धी विषयमा सुझाव दिन सात सदस्यीय प्राविधिक उपसमिति रहेको तथा स्ट्यान्डर्ड फाइनान्स र पुनर्बिमालगायत विषयमा पनि प्राविधिक उपसमितिमार्फत काम भइरहेको उनले जानकारी दिए । नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिएसन (निर्मा) का उपाध्यक्ष उदयराज अधिकारीले रिसीले संस्थाको सुरुवातदेखि नै वित्तीय स्रोत, कार्ययोजना र सञ्चालन मोडलबारे स्पष्ट योजना बनाउनुपर्ने बताए । निर्माले सञ्चालनका क्रममा भोगेका कठिनाइ रिसीले भोग्न नपरोस् भन्नेतर्फ सुरुदेखि नै तयारी आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता संस्था सञ्चालनका लागि पर्याप्त नगद प्रवाह आवश्यक हुने बताए ।  संस्थाको व्यावसायिक योजना र वित्तीय स्रोतबारे सुरुदेखि नै स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । अधिकारीले अनुसन्धानसँगै जर्नल तथा प्रकाशनलाई पनि संस्थागत विकासको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताए ।  निर्माले विगत पाँच वर्षदेखि नियमित रूपमा जर्नल प्रकाशन गर्दै आएको र हालसम्म छ वटा संस्करण प्रकाशित गरिसकेको जानकारी दिँदै उनले एउटा जर्नल प्रकाशनमा न्यूनतम चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने बताए । रिसी र निर्माबीच जर्नल प्रकाशन तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न सकिने उल्लेख गर्दै अधिकारीले बीमा क्षेत्रसँग आबद्ध विभिन्न गैरनाफामूलक संस्था तथा संघसंस्थाबीच अनुसन्धान र विकासका क्षेत्रमा संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिए । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसीले नेपालको बीमा क्षेत्रलाई थप परिष्कृत र विश्वसनीय बनाउन अनुसन्धानमूलक संस्थाको आवश्यकता रहेको बताए ।  बीमा क्षेत्रमा अनुसन्धानको आवश्यकता महसुस गरी रिसी स्थापना हुनु आफैंमा प्रशंसनीय प्रयास भएको उनको भनाइ थियो । रिसीलाई सफल बनाउन संस्थाको आफ्नै पहलसँगै नेपाल बीमक संघ, बीमा कम्पनी तथा नेपाल बीमा प्राधिकरणको समेत महत्त्वपूर्ण भूमिका रहने केसीले बताए ।  अनुसन्धानका लागि आवश्यक स्रोतसाधन जुटाउन सम्बन्धित निकायले सहयोग गर्नुपर्ने उनले बताए । नेपालको बीमा क्षेत्रमा देखिने नयाँ तथा आकस्मिक विषयलाई सम्बोधन गर्न नियमित अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै केसीले बीमा क्षेत्र अझै आलोचनाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको र अपेक्षित गतिमा अघि बढ्न नसकेको अवस्थामा अनुसन्धानमार्फत समस्याको पहिचान तथा समाधान खोज्नुपर्ने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सर्भेयरहरू आफ्नो क्षेत्रमा स्थापित विज्ञ रहेको भन्दै बीमा व्यवसायमा उनीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।  नेपालमा सर्भेयरको पेशा पुस्तौंदेखि चल्दै आएको र पुस्तान्तरण हुँदै जाँदा पनि यसको महत्व उत्तिकै कायम रहेको उनले उल्लेख गरे । सर्भेयरहरूको हकहित तथा बीमा क्षेत्रको सुधारका लागि प्राधिकरणले रिसीसँग निरन्तर समन्वय र सुझाव आदानप्रदान गर्दै आएको लामिछानेले बताए ।  रिसीको मुख्य उद्देश्य बीमा क्षेत्रका विभिन्न विषयमा अनुसन्धान गर्नुका साथै सर्भेयरहरूलाई आवश्यक तालिम प्रदान गर्नु रहेको उनले बताए । प्राधिकरणले सर्भेयर लाइसेन्सका लागि परीक्षा तथा तालिमको व्यवस्था गरेको उल्लेख गर्दै उनले रिसीले उपयुक्त पाठ्यक्रम विकास गरी तालिम सञ्चालन गर्दा प्राधिकरणको कानुनी आवश्यकतासमेत पूरा गर्न सहयोग पुग्ने बताए । बीमा दाबी तथा सर्भेका क्रममा देखिने विसंगति, बीमालेखसम्बन्धी विवाद र प्राविधिक समस्याको समाधानका लागि ठोस अनुसन्धान आवश्यक रहेको लामिछानेको भनाइ थियो ।  रिसीको सञ्चालनका लागि सेवा शुल्क, सदस्यता शुल्क तथा विभिन्न तथ्यांक र अनुसन्धान परियोजनामा हुने सहकार्यलाई आम्दानीको मुख्य स्रोत बनाउन सकिने उनले बताए । उनका अनुसार प्राधिकरणले हाल छ वटा नयाँ पोर्टफोलियो निर्माण गरिरहेको छ । विद्यमान सर्भेयरले कसरी काम गर्ने, उनीहरूको कार्यक्षेत्र कसरी निर्धारण गर्ने तथा कस्तो अनुभव भएका सर्भेयरलाई कुन श्रेणीमा राख्ने भन्ने विषयमा रिसीले गर्ने अनुसन्धान महत्त्वपूर्ण हुने उनले बताए । रिसीबाट प्राप्त अनुसन्धान प्रतिवेदनले सर्भेयरको कार्यक्षेत्र निर्धारण तथा वर्गीकरणका विषयमा प्राधिकरणलाई महत्त्वपूर्ण प्राविधिक सहयोग पुग्ने लामिछानेले बताए ।

‘अनपेक्षित विपदमा यथार्थ मूल्याङ्कन र द्रूत दाबी फर्छ्याैट गर्न सर्भेयर सक्षम’

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले नेपाली बीमा सर्भेयरहरूले अनपेक्षित विपद्का बेला जोखिमको यथार्थ मूल्याङ्कन गरी समयमै दाबी फर्छ्याैट गर्न सक्ने क्षमता प्रमाणित गरिसकेको बताएका छन्। आइतबार (आज) रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स (रिसी) को प्रथम वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष क्षेत्रीले नेपाली बीमा क्षेत्रको बढ्दो दायरा, प्राविधिक जनशक्तिको विकास तथा विशेषगरी विपद् व्यवस्थापनमा सर्भेयरहरूले निर्वाह गर्दै आएको भूमिकाबारे धारणा राखेका थिए ।  उनका अनुसार नेपालमा पर्याप्त संख्यामा अनुभवी तथा दक्ष बीमा सर्भेयरहरू छन् । ‘कोभिड–१९ महामारी तथा हालैका ठूला प्राकृतिक विपद्का समयमा नेपाली सर्भेयरहरूले निर्वाह गरेको भूमिका, छिटो दाबी फछ्र्यौटको लागि पुर्‍याउनु भएको योगदान प्रशंसनीय छ,’ अध्यक्ष क्षेत्रीले भने ।  त्यसैगरी, कार्यक्रममा अध्यक्ष क्षेत्रीले नेपालको आर्थिक क्षेत्रमा बैंकिङ प्रणालीको दबदबा रहँदै आएकोमा पछिल्लो समय बीमा क्षेत्रले पनि आफ्नो बलियो उपस्थिति जनाउँदै गएको बताए । उनले भने, ‘जीवन तथा निर्जीवन बीमाले देशको समग्र वित्तीय क्षेत्रमा ठूलो हिस्सा ओगटिसकेको छ भने योसँगै लगानीका चुनौती र यसलाई थप आधुनिक एवं उन्नत बनाउनुपर्ने दायित्व पनि थपिएको छ ।’ उनले दक्षिण एसियाली क्षेत्रमै नेपालको बीमा सेवा प्रवाहको स्थान राम्रो र प्रशंसनीय हुँदै गएको उल्लेख गरेका छन्। त्यस्तै, क्षेत्रीले केही वर्ष अघिसम्म देशमा एक जना पनि एक्चुअरी नभएको स्थिति स्मरण गर्दै अहिले त्यो अवस्थामा सुधार हुँदै गएको औंल्याए ।  उनका अनुसार हाल त्रिभुवन विश्वविद्यालयको ‘स्कुल अफ म्याथमेटिक्स’ बाट उत्पादित जनशक्तिले यो अभाव पूरा गर्दै लगेको र नेपालमै एक्चुअरीहरू तयार हुने वातावरण बनेको छ । अध्यक्ष क्षेत्रीले हवाई दुर्घटना हुँदा नेपाली सर्भेयरलाई समेत सर्भेमा सहभागी गराउनुपर्नेमा जोड दिए । विदेशी सर्भेयरलाई मात्र जिम्मेवारी दिनुभन्दा नेपाली सर्भेयरलाई संयुक्त सर्भेमा संलग्न गराउँदा उनीहरूको क्षमता र कार्यक्षेत्र विस्तार हुने उनको भनाइ छ । उनले नेपालजस्तो बाढी र भूकम्पको उच्च जोखिममा रहेको मुलुकले आफ्नै जोखिम मोडेल विकास गर्नुपर्ने आवश्यकता औंल्याए । विभिन्न देशले आफ्नो भौगोलिक जोखिमअनुसार बाढी, भूकम्प तथा ज्वालामुखीको क्षतिसम्बन्धी जोखिम मोडेल विकास गरेको उल्लेख गर्दै नेपालले भने हालसम्म आफ्नै जोखिम मोडेल बनाउन नसकेको उनको भनाइ थियो । विदेशी सेमिनार तथा सम्मेलनमा सहभागी हुँदा विभिन्न देशले आफ्नै जोखिम मोडेल प्रस्तुत गर्ने गरेको अनुभव सुनाउँदै क्षेत्रीले नेपालले पनि आफ्नै बाढी तथा भूकम्पको जोखिमसम्बन्धी मोडेल विकास गर्नुपर्नेमा जोड दिएका छन् ।  हाल नेपाल बाह्य एक्चुअरीले गरेको अनुमान वा निर्धारण गरेको दरमा निर्भर हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।  यसका लागि नेपाल बीमा प्राधिकरणले अनुसन्धानमूलक संस्थालाई सहयोग गरी व्यापक अध्ययन गराउनुपर्ने उनले बताए । आफ्नै देशको जोखिमलाई आधार बनाएर मोडेल विकास गर्न सके त्यसबाट बीमा क्षेत्र र नियामक दुवै लाभान्वित हुने क्षेत्रीको विश्वास छ ।  क्षेत्रीले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसम्बन्धी अनुसन्धानमा विभिन्न संस्थाबीच सहकार्य आवश्यक औंल्याए ।  बीमा क्षेत्रसँग आबद्ध सर्भेयर एसोसिएसन तथा बीमक संघलाई समेत सहभागी गराएर यस्तो अध्ययन र अनुसन्धानलाई अघि बढाउन सकिने उनले बताए । कार्यक्रममा क्षेत्रीले बीमा पोलिसी डिजाइनदेखि दाबी मूल्याङ्कनसम्मका विषयमा अनुसन्धान गरी आवश्यक सुझाव र सिफारिस तयार गर्नुपर्ने उल्लेख गरे । इन्जिनियरिङ बीमामा ‘फिडिक’को सिफारिस तथा इन्जिनियरिङ काउन्सिलले तयार गर्ने बीमा क्लजलाई आधार बनाउने गरिएको उल्लेख गर्दै क्षेत्रीले नेपालमा पनि बीमा क्षेत्रका प्राविधिक विषयमा अनुसन्धानको आवश्यकता रहेका औंल्याएका छन् ।  उनका अनुसार नेपाल बीमक संघले प्राविधिक विषयमा सुझाव दिन विभिन्न टेक्निकल ग्रुप तथा सब–कमिटी गठन गरेको छ ।  अन्डरराइटिङसम्बन्धी विषयमा सुझाव दिन सात सदस्यीय टेक्निकल सब–कमिटी रहेको तथा स्ट्यान्डर्ड फाइनान्स र पुनर्बिमालगायतका विषयमा पनि प्राविधिक सब–कमिटीमार्फत काम भइरहेको उनले बताए । बीमक संघको एउटा सब–कमिटीले तेस्रो पक्ष बीमाको प्रिमियम कति निर्धारण गर्ने भन्ने विषयमा अध्ययन गरी प्रतिवेदनसमेत तयार गरिसकेको क्षेत्रीले जानकारी जानकारी दिए ।  त्यस्तै, सरकारले गठन गरेको बीमा सुधार कार्यदललाई संघका तर्फबाटसुझावसमेत दिइएको उनले उनले बताए ।  विशेषगरी जलविद्युत् क्षेत्रमा भइरहेको ठूलो लगानीलाई मध्यनजर गर्दै यससम्बन्धी जोखिम र तथ्यांकको व्यवस्थित अध्ययन आवश्यक रहेको उनले बताए ।  नेपालमा हालसम्म करिब ४ हजार मेगावाट जलविद्युत् विकास भइसकेको उल्लेख गर्दै क्षेत्रीले हाइड्रोपावरसम्बन्धी तथ्यांक संकलन र जोखिम न्यूनीकरणका लागि ‘मेट्रो पावर’ गठनको तयारी भइरहेको जानकारी दिए । बीमा कम्पनीसँग हाल कुनै जलविद्युत् आयोजनाबाट कति बीमा शुल्क संकलन भयो र कति दाबी पर्यो भन्ने तथ्यांक भए पनि आयोजनाको क्षमता, उचाइ, नदीको बहाव तथा पानीको गति जस्ता विस्तृत जोखिमसम्बन्धी तथ्यांकको अभाव रहेको उनले बताए ।  ‘यी सम्पूर्ण तथ्यांक प्राप्त भएपछि मात्रै सही प्राइसिङ गर्न र विद्यमान बीमा प्रडक्टलाई स्ट्यान्डर्डाइज गर्न सकिन्छ,’ क्षेत्रीले भने । अनुसन्धानका लागि नेपाल बीमक संघ तथा समग्र बीमा उद्योग नै सहकार्य गर्न तयार रहेको उनले बताएका छन् ।

मधेशका उत्कृष्ट अभिकर्तालाई सन नेपाल लाइफको सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मधेश प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी विकास व्यवस्थापक (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट एजेन्सी विकास व्यवस्थापक, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय व्यवस्थापक तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न शाखाका अभिकर्ता, क्षेत्रीय व्यवस्थापक प्रमोद साह, उपेन्द्र नारायण महतो लगायत शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मधेश प्रदेश प्रमुख चौधरीले कम्पनीको बिक्री नीति २०८३/८४ तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे । प्रमुख बजार अधिकृत चौलागाईंले अभिकर्ताहरूको हकहित, सेवा–सुविधा तथा व्यावसायिक विकासलाई कम्पनीले प्राथमिकतामा राख्दै विभिन्न नीति तथा कार्यक्रम निर्माण एवं कार्यान्वयन गर्दै आएको बताए । अभिकर्ताहरूको व्यावसायिक यात्रालाई सहज बनाउन कम्पनी सहकार्य र सहजीकरणका लागि सधैं तयार रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनालाई निरन्तरता दिइने बताए । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा आफ्नो छुट्टै पहिचान तथा सकारात्मक व्यावसायिक छवि निर्माण गर्न सफल भएको बताए ।  कम्पनीको यो सफलतामा मधेश प्रदेशका सम्पूर्ण अभिकर्ता, एजेन्सी विकास व्यवस्थापक तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासप्रति विशेष धन्यवाद तथा आभार व्यक्त गरे । उनले आगामी दिनमा मधेश प्रदेशमा बीमाको पहुँच थप विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।  उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई निरन्तर प्रोत्साहन तथा सम्मान प्रदान गरिने पनि उनले बताए । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी विकास व्यवस्थापक तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।  सम्मानले अभिकर्ताहरूमा थप उत्साह र ऊर्जा प्रदान गर्दै आगामी दिनमा अझ उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्न प्रेरणा मिलेको सहभागीहरूले बताएका छन् । कार्यक्रमले अभिकर्ताको उत्प्रेरणा, नेतृत्व विकास, व्यावसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ । सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  बीमाको पहुँच विस्तार, अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यावसायिक वृद्धिलाई प्राथमिकतामा राख्दै कम्पनीले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ ।