स्वतन्त्र चालक फाउन्डेसनका सदस्यले आइजीआई प्रुडेन्सियलबाट बीमा सुविधा पाउने
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र स्वतन्त्र चालक फाउन्डेसन नेपालबीच बीमा सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार स्वतन्त्र चालक फाउन्डेसनसँग आबद्ध सदस्यहरूले आइजीआई प्रुडेन्सियलमार्फत दुर्घटना तथा स्वास्थ्य बीमासम्बन्धी सेवा, क्यासलेस उपचार सुविधा तथा दाबी प्रक्रियामा सहज र छिटो सेवा प्राप्त गर्नेछन् । सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका बागमती प्रदेश प्रमुख श्रीराम भण्डारी र स्वतन्त्र चालक फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयाँलले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले दुर्घटनापछि आवश्यक समन्वय, क्यासलेस उपचार सेवा उपलब्ध गराउने, बीमा दाबी प्रक्रियालाई सरल बनाउने तथा छिटो भुक्तानी सुनिश्चित गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । सम्झौतापछि आइजीआई प्रुडेन्सियलका बागमती प्रदेश प्रमुख भण्डारीले फाउन्डेसनका सदस्यलाई कम्पनीका विभिन्न बीमा सेवाबाट लाभ लिन आग्रह गरे । उनले गुणस्तरीय सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताए । यस्तै, स्वतन्त्र चालक फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयाँलले आइजीआई प्रुडेन्सियलबाट छिटो र प्रभावकारी बीमा सेवा प्राप्त हुने विश्वास व्यक्त गर्दै फाउन्डेसनका सदस्यलाई क्रमशः कम्पनीका बीमा योजनामा आबद्ध गराउँदै लैजाने बताए ।
९३ अर्ब भुक्तानी, साढे ४९ अर्ब बाँकी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) सम्म बीमा कम्पनीहरुले करिब ९३ अर्ब रुपैयाँको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार सञ्चालनमा रहेका बीमा कम्पनीहरुले ११ महिनामा कुल ९२ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीहरुले भुक्तानी गर्ने दाबी रकम २७.३७ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरुले ७२ अर्ब ९४ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । चालु आवको जेठ मसान्तसमममा जीवन बीमा कम्पनीहरुबाट २ लाख ६५ हजार २०४ वटा दाबीको ६६ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । अघिल्लो आवको यही अवधिसम्म जीवन बीमकहरुले २ लाख ३८ हजार ६०८ वटा दाबीको ५२ अर्ब ६४ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो अवाको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको दाबी भुक्तानी संख्या ११.१५ प्रतिशत र रकम २६.१७ प्रतिशतले घटेको छ । त्यस्तै चालु आवको जेठ मसान्तसम्ममा निर्जीवन बीमकहरुले १ लाख ४० हजार ३५१ वटा दाबीको २६ अर्ब ५६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आवको यही अवधिमा निर्जीवन बीमकहरुले १ लाख २७ हजार २८२ वटा दाबीको २० अर्ब ३० करोड ३ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको दाबी संख्या र रकम क्रमशः १०.२७ प्रतिशत र ३०.८४ प्रतिशतले बढेको छ । चालु आवको जेठ मसान्तसम्ममा जीवन र निर्जीवन बीमकहरुले अझै ४९ अर्ब ४४ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । ११ महिनाको अवधिमा जीवन बीमकहरुले मात्रै ६० हजार ९५४ वटा दाबीको ५ अर्ब ५४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । जुन गत आवको यही अवधिको तुलनामा दाबी संख्या र रकम क्रमशः १२ प्रतिशत र २१ .१२ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा जीवन बीमकहरुले ५४ हजार ४२२ संख्याको ४ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ बाँकी थयो । चालु आवको जेठसम्ममा निर्जीवन बीमकहरुले १ लाख १७ हजार १८२ वटा दाबीको ४३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । जुन गत आवको तुलनामा संख्या र रकम क्रमशः ९.७७ र ४४.१० प्रतिशतले बढी हो । गत आवको यही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १ लाख ६ हजार ७५७ दाबी संख्याको ३० अर्ब ४६ करोड १६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी थियो ।
११ महिनामा १२ अर्ब ५९ करोड पोलिसी सरेण्डर
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्ममा ८३ हजार ४४२ वटा बीमालेख सरेण्डर अर्थात समर्पण भएका छन् । जसअन्तर्गत १२ अर्ब ५९ करोड २६ लाख रुपैयाँ सरेण्डर रकम रहेको छ । ११ महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको सोही अवधिको तुलनामा ७.०१ प्रतिशतले घटेको छ । गता आवको यही अवधिमा ९८ हजार ४१ बीमालेखको १३ अर्ब ५४ करोड १५ लाख रुपैयाँ पोलिसी सरेण्डर भएको थियो । ११ महिनामा बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या भने बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको ११ महिनामा १० लाख २७ हजार ९६३ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३८ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । गत आवको यही अवधिमा १२ लाख ४३ हजार ७६९ बीमालेख व्यतित हुँदा ३६ अर्ब ५१ करोड ४७ लाख रुपैयाँ कम्पनीलाई घाटा भएको थियो ।