सम्पत्ति शुद्धीकरण निवारणबारे बीमा क्षेत्रका लागि दुईदिने अन्तरक्रिया सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी दुईदिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चैत २० र २१ गते बर्दिवासमा आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक एवं नियमन महाशाखा प्रमुख शम्भु राज लामिछानेले वित्तीय प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउन AML/CFT को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । उनले बीमा क्षेत्रले ग्राहक पहिचान (KYC), जोखिम मूल्याङ्कन तथा शंकास्पद कारोबारको समयमै पहिचान र प्रतिवेदनमार्फत वित्तीय अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने उल्लेख गरे । त्यसैगरी, प्राधिकरणका उपनिर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण शाखा प्रमुख पदम प्रसाद सापकोटाले सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न बीमा क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै मधेश प्रदेश कार्यालय प्रमुख आर्या रावलले यस्तो कार्यक्रमले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ज्ञान अभिवृद्धि, अनुभव आदानप्रदान तथा कानुनी अनुपालनमा एकरूपता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । बीमा कम्पनीका शाखा प्रमुख तथा अन्डरराइटिङ कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रममा विद्यमान कानुन तथा नियम, जोखिम पहिचान, ग्राहकको उचित पहिचान (KYC), शंकास्पद कारोबार प्रतिवेदन (STR) पेश गर्ने प्रक्रिया लगायत विषयमा विस्तृत छलफल गरिएको थियो। साथै AML/CFT सम्बन्धी कानुनी दायित्व, संस्थागत उत्तरदायित्व तथा आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरणका उपायबारे जानकारी प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका सहायक निर्देशक सुस्मा थापा र महेश मण्डलले गरेका थिए । कार्यक्रममा बीमा कम्पनीका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोसमार्फत रणनीतिक साझेदारी
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रालिबीच डिजिटल भुक्तानी क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि सिटी टेकको हार्डवेयर ‘फिनपोस’ मा एससीटीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्ने सुविधा उपलब्ध हुने भएको छ । यस प्रणालीमार्फत भिसा, युनियनपे, नेपालपे लगायत विभिन्न कार्ड स्किम तथा स्मार्टक्यूआरमार्फत डाइनामिक क्यूआर भुक्तानीलाई समेत समर्थन गरिनेछ । एससीटी र सिटी टेकबीचको सहकार्यले बैंक, वित्तीय संस्था तथा व्यापारीहरूका लागि आधुनिक, सहज र विस्तारयोग्य पिओएस उपकरण उपलब्ध गराउने लक्ष्य राखिएको छ । पिओएस अधिग्रहण (एक्वायरिङ) व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरू यस सेवाबाट लाभान्वित हुने कम्पनीले जनाएको छ । छुट्टाछुट्टै कार्ड स्किम सदस्यता लिनुपर्ने, प्रविधिमा ठूलो लगानी गर्नुपर्ने तथा सुरक्षा प्रमाणीकरणको आवश्यकता कम हुने भएकाले यो सेवा आर्थिक रूपमा समेत प्रभावकारी रहने बताइएको छ । एससीटीले डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै फिनपोससँगको साझेदारीलाई महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ । हाल एससीटीले २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आएको छ । कम्पनीले आफ्नै कार्ड स्विचिङ संरचना ‘स्मार्ट स्विच’मार्फत एससीटी–युनियनपे तथा भिसा कार्ड जारी गर्नुका साथै भिसा, रुपे, मास्टरकार्ड र डिस्कभर कार्ड स्वीकार सेवा प्रदान गर्दै आएको छ । विगत दुई दशकदेखि नेपालभर सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा प्रदान गर्दै आएको एससीटी नेपालकै पहिलो स्वदेशी कार्ड स्किम हो । कार्ड सेवाका अतिरिक्त एससीटीले स्मार्ट क्यूआर, स्मार्ट पे–आईबीएफटी अन्तरबैंक भुक्तानी सेवा तथा स्मार्ट बैंकिङ मोबाइल बैंकिङ सेवा समेत उपलब्ध गराउँदै आएको छ ।
गरिमा म्युचूअल फण्डको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ को इकाई बाँडफाँट सम्पन्न
काठमाडौं । ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ को इकाई बाँडफाँट कार्य सम्पन्न भएको छ । प्रति इकाई १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाईका लागि गत २०८२ फागुन २८ गतेदेखि चैत्र ११ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको थियो । उक्त अवधिमा बीज पूँजीसहित कुल १,०६,७९४ आवेदकहरूबाट ७१ करोड ५७ लाख ८३ हजार २०० रुपैयाँ बराबरको ७ करोड १५ लाख ७८ हजार ३२० इकाईका लागि आवेदन प्राप्त भएको थियो, जुन माग गरिएको भन्दा बढी हो । प्राप्त आवेदनहरूमध्ये रीतपूर्वक नदेखिएका १७० आवेदकका ४१ हजार इकाईलाई छाडेर बाँकी १,०६,६२४ रीतपूर्वक आवेदकहरूलाई उनीहरूले माग गरे बमोजिम नै ७ करोड १५ लाख ३७ हजार ३२० इकाई बाँडफाँट गरिएको छ । नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपैयाँ बराबरको इकाई निष्काशनको स्वीकृति प्राप्त भइसकेको र योजनाको विवरणपत्रमा अधिकतम १० करोड इकाईसम्म बिक्री गर्न सकिने प्रावधान रहेकाले पहिलो चरणमा ५ करोड इकाई आह्वान गरिए पनि रीतपूर्वक आवेदन दिने सबै लगानीकर्ताहरूलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ बमोजिम माग गरेकै संख्यामा इकाई उपलब्ध गराइएको क्यापिटलले जनाएको छ । बाँडफाँट कार्यक्रम आइतबार गरिमा क्यापिटलको केन्द्रीय कार्यालय, कमलपोखरीमा सम्पन्न भएको थियो । बाँडफाँट भएको मितिले तीन महिनापश्चात योजनाको इकाई नियमित खरिदबिक्री तथा सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) समेतका लागि खुला गरिनेछ । यस निष्काशन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, बैंक तथा वित्तीय संस्थाहरू र लगानीकर्ताहरूप्रति गरिमा क्यापिटलले हार्दिक आभारसमेत प्रकट गरेको छ ।