बाढीपीडितको सहयोगमा यामाहा ब्लू स्ट्रीक्स, रसुवा र नुवाकोटमा राहत वितरण

काठमाडौं । यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढीपीडित परिवारका लागि राहत सामग्री वितरण गरेको छ ।

गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले कम्युनिटीका सदस्यहरूले आफ्नै तर्फबाट रकम संकलन गरी राहत अभियान सञ्चालन गरेका हुन् ।

अभियानमार्फत ९३ हजार रुपैयाँ संकलन गरिएको थियो । संकलित रकमबाट चामल, दाल, मिनरल वाटर, स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री खरिद गरी राहत प्याकेज तयार पारिएको थियो ।

भारी वर्षाका बीच पनि ब्लू स्ट्रीक्सका सदस्यहरूले राहत सामग्री तयार गरी मोटरसाइकलको समूहसहित प्रभावित क्षेत्रतर्फ लगेका थिए । 

थप राहत सामग्री एउटा सवारीसाधनमार्फत पनि प्रभावित क्षेत्रमा पुर्याइएको थियो ।

राहत सामग्री नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको थियो । 

त्यहाँ कम्युनिटीका सदस्यहरूले बाढीपीडित परिवार, विशेषगरी ज्येष्ठ नागरिक तथा बालबालिकासँग प्रत्यक्ष भेट गरी राहत सामग्री उपलब्ध गराउनुका साथै उनीहरूलाई हौसला र साथ दिएका थिए ।

एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले ब्लू स्ट्रीक्सका सदस्यहरू राइडिङसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको बताए ।

‘हाम्रा राइडरहरू राइड मात्र सँगै गर्दैनन्, समाजलाई सहयोग पनि सँगसँगै मिलेर गर्छन्,’ अग्रवालले भने, ‘नेपालभर भइरहेका हाम्रा सामाजिक उत्तरदायित्वका गतिविधि हुन् वा यस्ता कठिन परिस्थिति, हाम्रो मूल मन्त्र सधैं ‘राइड टू प्राइड’ रहँदै आएको छ । ब्लू स्ट्रीक्स आवश्यक परेको समयमा आम नागरिकको साथमा निरन्तर उभिइरहनेछ ।’

बाढीबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणको काम जारी रहेका बेला ब्लू स्ट्रीक्सको पहलले सामुदायिक सहकार्य र सामाजिक उत्तरदायित्वलाई मानवीय सहयोगमा रूपान्तरण गर्ने उदाहरण प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

Share News