इस्माली दाइको कलको खटखट र हाम्रो उबेलाको दशैं

त्यतिबेला कसैको आगमन पर्खनुमा पनि छुट्टै आनन्द थियो । बाटोमा देखिएको परिचित अनुहारले मनमा खुसी ल्याउँथ्यो ।

तस्बिर एआईको सहयोगमा ।

विद्यालयले रातोमाटो र कमेरो लिन उर्दी जारी गरेको दिनदेखि नै मेरो मनमा दशैं सुरु हुन्थ्यो ।

उर्दी सुन्नेबित्तिकै मन चङ्गा हुन्थ्यो । अब विद्यालय बन्द हुने भयो, बिहानै किताब बोकेर हिँड्नुपर्ने दिन सकिने भए र दशैं नजिकै आयो भन्ने लाग्थ्यो । उबेला पात्रो हेरेर दिन गन्ने बानी थिएन । रेडियोमा दशैंका गीत बज्न थालेपछि मात्रै दशैं आएको ठान्ने चलन पनि थिएन । हाम्रो दशैंको आफ्नै पात्रो थियो-विद्यालयको उर्दी, बुल्म पुग्ने उकाला-ओराला, कमेरपानीको बाटो र अन्त्यमा इस्माली दाइको कलको खटखट ।

रातोमाटो लिन बुल्म पुग्नुपर्थ्यो । साथीहरूको हुलसँगै इम्जुको ओरालो झरिन्थ्यो । कम्मरसम्म आउने छल्दीमा हेलिँदै माटो खन्ने ठाउँमा पुग्दा शरीर थाकिसकेको हुन्थ्यो । डोकोमा रातोमाटो भरेर फर्किंदा उकालो झन् लामो लाग्थ्यो । तर साथीहरूसँग हुँदा थकाइको वास्ता कसलाई हुन्थ्यो र रु बाटोभरि हाँसो चल्थ्यो, गफ हुन्थे र कसले कति माटो बोक्यो भन्ने हिसाबकिताब पनि ।

भोलिपल्ट कमेरो लिन कमेरपानी पुगिन्थ्यो । माटो र कमेरो बोकेर विद्यालय फर्कंदा हातखुट्टा थाकेका हुन्थे, तर मनमा बेग्लै खुसी हुन्थ्यो । अब विद्यालय पोतिनेछ, घटस्थापनाको अघिल्लो दिन लिपपोत सकिएपछि बिदा हुनेछ र दशैंको रमझम सुरु हुनेछ । मनमा यस्तै कुरा खेलिरहन्थे ।

अहिले सम्झिँदा लाग्छ, त्यतिबेला हामीले डोकोमा माटो मात्रै बोकेका रहेनछौँ । थाहै नपाई दशैंको प्रतीक्षा पनि बोकेका रहेछौँ ।

घटस्थापनाको अघिल्लो दिन विद्यालयका भित्तामा रातोमाटो र कमेरो लगाइन्थ्यो । विद्यालय चिटिक्क देखिन्थ्यो । हामी पनि आफ्नो काम सकिएको गर्व बोकेर घर फर्कन्थ्यौँ । अब केही दिन किताब र कापीको चिन्ता थिएन । तर विद्यालय बिदा भएर घर पुग्दैमा हाम्रो दशैं सुरु भइहाल्दैनथ्यो । दशैं आउन अझै केही दिन बाँकी हुन्थ्यो । त्यही बाँकी समय नै हाम्रा लागि सबैभन्दा लामो लाग्थ्यो ।

घरमा हजुरबुवा हुनुहुन्थ्यो । दशैं नजिकिँदै गर्दा उहाँ पूजाकोठाको तयारीमा लाग्नुहुन्थ्यो । काँक्रो, कुभिण्डोलगायतका सामग्री राखिन्थे । कोदालो र खुर्पाको पूजा हुन्थ्यो । वर्षभरि खेतबारीमा काम गर्ने औजारहरू पनि त्यस दिन विशेष बन्थे ।

म हजुरबुवाले पूजा गरेको हेरिरहन्थेँ । उहाँका हात चलिरहेका हुन्थे । पूजाकोठामा दशैंको वातावरण बन्दै गएको हुन्थ्यो । तर मेरो मन भने घरभित्र अडिँदैनथ्यो । म बेलाबेला आँगनतिर हेर्थें । कान बाहिरका आवाजमा लगाउँथेँ । मानौँ, मेरा कान कसैको पदचाप पछ्याइरहेका थिए ।

त्यो बेला मलाई एउटा आवाजको प्रतीक्षा थियो । त्यो आवाज थियो-इस्माली दाइका चप्पलको पट्यास-पट्यास र दाइको कलको खटखट ।

इस्माली दाइको कलमा खटखट सुनिन थालेपछि मात्रै मेरो मनमा दशैंले साँच्चिकै बास पाउँथ्यो । त्यो आवाज अरूका लागि सामान्य हुन सक्थ्यो, तर मेरा लागि त्यसको अर्थ बेग्लै थियो । त्यो खटखटसँगै नयाँ कपडाको वासना हरर आउँथ्यो । नयाँ कपडा पाउने दिन नजिकिएको अनुभूति हुन्थ्यो । मनभित्र कतै लुकेर बसेको खुसी एकाएक बाहिर निस्कन्थ्यो ।

त्यतिबेला नयाँ लुगा पाउनु आजजस्तो सामान्य कुरा थिएन । वर्षमा एकपटक आउने दशैंमा पाइने नयाँ कपडाको प्रतीक्षा लामो हुन्थ्यो । कपडा कस्तो होला रु कुन रङको होला रु लगाउँदा कस्तो देखिएला रु यस्तै कुरा मनमा खेलिरहन्थे । कपडाको पोको खोल्ने क्षणको उत्सुकता अहिले पनि सम्झन्छु । नयाँ कपडाको बास्ना नाकसम्म आइपुग्दा मनमा मीठो तरङ्ग उठ्थ्यो ।

अहिले बजारमा चाहेको कपडा छान्न पाइन्छ । मन लागेका बेला किनेर लगाउन पाइन्छ । तर त्यतिबेला नयाँ कपडाको अर्थ कपडा मात्रै थिएन । त्यसमा वर्षभरि साँचेर राखेको रहर हुन्थ्यो, प्रतीक्षा हुन्थ्यो र सानो मनले कल्पना गरेको ठूलो खुसी हुन्थ्यो ।

सायद त्यसैले इस्माली दाइको कलको खटखट मेरो सम्झनामा यति गहिरोसँग बसेको छ । त्यो आवाज सुन्दा म नयाँ कपडा मात्रै सम्झन्नथेँ, दशैं सम्झन्थेँ । अझ भनौँ, दशैंसँगै जोडिएको आफ्नो सानो संसार सम्झन्थेँ ।

त्यसपछि कोटमा बाजा बज्न थाल्थे ।

बाजा बजेको आवाज गाउँभरि फैलिँदा मनमा उत्साह झन् बढ्थ्यो । दशैं अब घरभित्र मात्रै सीमित थिएन, गाउँभरि आइपुगेको हुन्थ्यो । आकाशमा तालचरा देखिन्थे । गाउँका बाटामा चहलपहल बढ्थ्यो । अनि शरीरमा बसाउने तेल लगाएर, क्यासेट घन्काउँदै लाहुरेहरू गाउँ पस्न थाल्थे ।

लाहुरेहरू गाउँ फर्किएको दृश्य पनि दशैंको छुट्टै कथा थियो । टाढा बसेका मान्छेहरू घर फर्कन्थे । उनीहरूको आगमनसँगै गाउँका घरमा रौनक थपिन्थ्यो । क्यासेटमा गीत बजाउँदै गाउँ पस्ने उनीहरूको लवाइ, हिँडाइ र हातमा बोकेका झोलासमेत हामीलाई आकर्षक लाग्थे । उनीहरूलाई देख्दा गाउँमा केही विशेष भइरहेको छ भन्ने लाग्थ्यो ।

आजको पुस्तालाई त्यो दृश्य सुनाउँदा पुरानो चलचित्रको कथा सुनाएजस्तो लाग्ला । अहिले मोबाइलमै गीत बज्छन्, टाढा रहेका मान्छेसँग क्षणभरमै कुरा हुन्छ । तर, त्यतिबेला कसैको आगमन पर्खनुमा पनि छुट्टै आनन्द थियो । बाटोमा देखिएको परिचित अनुहारले मनमा खुसी ल्याउँथ्यो । क्यासेटको आवाज टाढैबाट सुनिँदा गाउँमा नयाँ रौनक आएको अनुभूति हुन्थ्यो ।

यसरी नै दशैं आउँथ्यो उबेला ।

कुनै दिन विद्यालयको उर्दीले दशैंको खबर ल्याउँथ्यो । कुनै दिन हजुरबुवाको पूजाले घरमा दशैंको आभास दिन्थ्यो । कुनै दिन इस्माली दाइको कलको खटखटले मन फुरुङ्ग बनाउँथ्यो । अनि बाजा, तालचरा र लाहुरेहरूको आगमनले गाउँलाई नै दशैंमय बनाइदिन्थ्यो ।

त्यतिबेला मलाई कहाँ थाहा थियो र, यी सामान्यजस्ता लाग्ने दृश्यहरू एक दिन जीवनका सबैभन्दा प्रिय सम्झना बन्नेछन् भनेर ।

समय बित्दै गयो । बुल्मबाट रातोमाटो बोक्ने दिनहरू सकिए । कमेरपानीको बाटोमा बालापनको जस्तो उत्साह लिएर हिँड्ने समय बित्यो । हजुरबुवाको पूजाकोठामा बसेर दशैंको प्रतीक्षा गर्ने ती दिनहरू पनि सम्झनामा सीमित भए । तर दशैं आउन छोडेन ।

हरेक वर्ष दशैं आउँछ । बजारमा नयाँ कपडा सजिन्छन् । घरमा मीठा परिकार पाक्छन् । आफन्तहरू भेटिन्छन् । गाउँ र सहरमा चहलपहल बढ्छ । समय फेरिएको छ, दशैं मनाउने तरिका फेरिएको छ र खुसी खोज्ने माध्यम पनि फेरिएका छन् ।

तर दशैं आउँदा मेरो मनको कुनै कुनाबाट एउटा पुरानो आवाज अझै सुनिन्छ- इस्माली दाइको कलको खटखट ।

त्यो आवाजसँगै बुल्मको रातोमाटो, कमेरपानीको उकालो, हजुरबुवाको पूजाकोठा, कोटमा घन्किने बाजा र क्यासेट बजाउँदै गाउँ पस्ने लाहुरेहरू एकैपटक सम्झनामा फर्किन्छन् ।

अनि मनले चुपचाप भन्छ- ८८दशैं त उबेलाकै जाती ।

 

Share News