पुष्पलाल पाण्डे

आक्रामक सुनिने ओली रक्षात्मक बन्दै

काठमाडौं । नेकपा एमालेभित्र लामो समयदेखि दबिएर रहेको असन्तुष्टि औपचारिक बैठकमै प्रकट हुन थालेको छ । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली, पार्टी सञ्चालनको शैली, निर्णय प्रक्रियाको केन्द्रीकरण र पछिल्लो निर्वाचन परिणामलाई लिएर सचिवालय तहमा खुलेर प्रश्न उठ्न थालेपछि एमालेको आन्तरिक राजनीति नयाँ चरणमा प्रवेश गरेको छ । आइतबार सम्पन्न सचिवालय बैठकपछि बाहिर सार्वजनिक रूपमा ओलीविरुद्ध स्पष्ट मोर्चाबन्दी देखिएको छैन । तर, बैठकभित्र उठेका प्रश्न, नेताहरूको अभिव्यक्ति र आगामी प्रक्रियाबारे भएका छलफलले एमालेभित्र शक्ति सन्तुलन फेरिन सक्ने संकेत देखिएको छ । एमालेभित्र पछिल्ला केही महिनायता संगठनात्मक निष्क्रियता, जनसंगठनहरूको कमजोर उपस्थिति, युवापुस्तासँग दूरी र नेतृत्वको अत्यधिक केन्द्रीकरणबारे असन्तुष्टि बढ्दै गएको थियो । तर, ती विषयहरू पहिलोपटक सचिवालय बैठकमै औपचारिक रूपमा उठेपछि त्यसलाई सामान्य असहमति मात्रै नभई संरचनागत बहसको सुरुआतका रूपमा हेरिएको छ । वाम विश्लेषक लोककृष्ण भट्टराईले लामो समयसम्म आक्रामक र नियन्त्रणकारी शैलीमा प्रस्तुत हुँदै आएका अध्यक्ष ओली अहिले पहिलो पटक पार्टीभित्र रक्षात्मक देखिन थालेको बताए । उनका अनुसार पहिले ओली असन्तुष्ट स्वरलाई प्रत्यक्ष चुनौती दिन्थे, अहिले भने उनी सुन्ने र आलोचनालाई तत्काल प्रतिवाद नगर्ने अवस्थामा पुगेका छन् । यो एमालेभित्रको बदलिँदो मनोविज्ञानको संकेत हो । निर्वाचन परिणामले बढायो दबाब एमालेभित्र अहिले सबैभन्दा धेरै बहस भइरहेको विषय भनेकै निर्वाचन परिणाम हो । यही सन्दर्भमा एमालेले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव दिन कार्यदल गठन गरेको छ । यो कार्यदललाई एमालेभित्र अहिले अत्यन्त अर्थपूर्ण रूपमा हेरिएको छ । किनकि यसले केवल प्राविधिक समीक्षा मात्रै गर्ने कि पार्टी नेतृत्व, संगठनात्मक संरचना र निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाउने भन्ने विषय चासोको केन्द्र बनेको छ । पार्टीभित्रका केही नेताहरूको बुझाइमा यदि कार्यदलले कमजोर निर्वाचन परिणामको कारण संगठनात्मक जडता, नेतृत्वको अत्यधिक केन्द्रीकरण वा जनतासँगको दूरीलाई ठहर ग‍¥यो भने त्यसको राजनीतिक असर प्रत्यक्ष रूपमा अध्यक्ष ओलीमाथि पर्नेछ । एक सचिवालय सदस्यका अनुसार अहिले एमालेभित्रको बहस केवल निर्वाचन हार–जीतमा सीमित छैन, पार्टी कसरी चलिरहेको छ ? निर्णय कसरी हुन्छ ? दोस्रो पुस्ताले भूमिका पाउँछ कि पाउँदैन ? भन्ने प्रश्नमा केन्द्रित हुन थालेको छ । ओली किन रक्षात्मक देखिन थाले ? एमाले नेताहरूका अनुसार पछिल्ला बैठकहरूमा अध्यक्ष ओलीको व्यवहार र अभिव्यक्तिमा पनि परिवर्तन देखिन थालेको छ । पहिले आलोचनाप्रति तत्काल प्रतिवाद गर्ने ओली अहिले तुलनात्मक रूपमा संयमित देखिएको नेताहरूको दाबी छ ।  राजनीतिक विश्लेषक पर्शुराम घिमिरेका अनुसार यो परिवर्तनलाई सामान्य रूपमा लिन मिल्दैन । उनले भने, ‘ओलीले पार्टीभित्रको असन्तुष्टि महसुस गरेका छन् । त्यसैले उनी अहिले प्रत्यक्ष टकरावभन्दा संवादमार्फत स्थिति नियन्त्रण गर्ने रणनीतिमा देखिन्छन् ।’ एमालेभित्र अहिले खुला विद्रोहको अवस्था नभए पनि नियन्त्रित असन्तुष्टि विस्तार हुँदै गएको उनी बताउँछन् । त्यो असन्तुष्टि अब संरचनागत बहसतर्फ उन्मुख हुन थालेको संकेत देखिएको उनको बुझाइ रहेको छ । असारको केन्द्रीय कमिटी बैठक समर्थन कि पुनर्संरचना ? असार तेस्रो साताका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकलाई एमालेभित्र अहिले निर्णायक मोडका रूपमा हेरिएको छ । यो बैठकमा निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदन पेश हुनेछ । साथै संगठन, जनसंगठन, नेतृत्व शैली र पार्टी सञ्चालनबारे व्यापक छलफल हुने तयारी पनि गरिएको छ । ओली निकट नेताहरू भने पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै औपचारिक बहस नरहेको दाबी गर्छन् । एमाले सचिव महेश बस्नेतका अनुसार एमाले अझै पनि अध्यक्ष ओलीकै नेतृत्वमा एकताबद्ध रहेको र बाहिर देखाइएजस्तो गम्भीर ध्रुवीकरणको अवस्था छैन । तर असन्तुष्ट नेताहरू भने यही बैठकबाट संगठनात्मक पुनर्संरचना, निर्णय प्रक्रियाको विकेन्द्रीकरण र दोस्रो तहका नेताहरूको भूमिकाबारे औपचारिक बहस सुरु हुने दाबी गर्छन् । उनीहरू जनसंगठनहरूको पुनः सक्रियता, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने वातावरण र पार्टीभित्र संस्थागत प्रणाली बलियो बनाउनुपर्ने विषय उठाउने तयारीमा छन् ।  यदि केन्द्रीय कमिटी बैठक केवल औपचारिक समर्थन र नेतृत्वको पुनः वैधता स्थापित गर्ने प्रक्रियामा सीमित भयो भने ओली अझै बलियो भएर निस्किन सक्छन् । तर बैठकमा व्यापक असन्तुष्टि औपचारिक रूपमा अभिव्यक्त भयो भने एमालेभित्र शक्ति समीकरण फेरिने प्रक्रिया सुरु हुन सक्छ । एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत एमाले अहिले औपचारिक रूपमा विभाजित अवस्थामा छैन । तर पार्टीभित्र विचार, नेतृत्व शैली र संगठन सञ्चालनबारे फरक धारणा स्पष्ट देखिन थालेका छन् । एक पक्ष अहिलेको राष्ट्रिय राजनीतिक परिस्थितिमा ओलीभन्दा बलियो विकल्प नभएको तर्क गर्दै उनको नेतृत्वमै पार्टीलाई थप सशक्त बनाउनुपर्ने पक्षमा छ ।  उनीहरूको बुझाइमा एमाले अझै पनि ओलीकै व्यक्तित्व र राजनीतिक आक्रामकतामा टिकेको छ । तर अर्को पक्ष भने पार्टीलाई दीर्घकालीन रूपमा पुनर्जीवित गर्न संस्थागत सुधार अपरिहार्य भएको निष्कर्षमा पुगेको देखिन्छ । उनीहरूका अनुसार एमाले अत्यधिक व्यक्ति केन्द्रित हुँदै गएको छ र यही कारण संगठनात्मक ऊर्जा कमजोर बन्न थालेको हो । अहिलेसम्म अध्यक्ष ओली नै एमालेका सबैभन्दा शक्तिशाली नेता हुन् । पार्टीको संगठनात्मक संरचना, कार्यकर्ता पंक्ति र निर्णायक तहमा उनको प्रभाव अझै बलियो छ । तर सचिवालय तहबाट पहिलो पटक खुलेर उठेको असन्तुष्टि सामान्य घटना भने होइन । यसले एमालेभित्र दबाबको नयाँ चरण सुरु भएको संकेत दिएको विश्लेषक भट्टराई बताउँछन् । ‘अब धेरै कुरा असारको केन्द्रीय कमिटी बैठक र थापा नेतृत्वको कार्यदलले बुझाउने प्रतिवेदनमा निर्भर हुनेछ,’ उनले भने, ‘त्यो बैठक ओलीका लागि पुनः नेतृत्व वैधता स्थापित गर्ने रक्षा कवच बन्न पनि सक्छ ।’ तर, त्यही बैठक एमालेभित्र संस्थागत सुधार, पुस्तान्तरण र नेतृत्व शैलीमाथिको बहसलाई औपचारिक प्रवेश गराउने मोड बन्ने सम्भावना पनि उत्तिकै बलियो देखिएको छ । एमाले अहिले ठीक त्यही दोबाटोमा उभिएको छ ।

कान्तिमा करोडौंका उपकरण थन्किए

काठमाडौं । कान्ति बाल अस्पतालले ८ करोड ५५ लाख ६७ हजार ९५७ रुपैयाँमा खरिद गरेको अत्याधुनिक प्रयोगशाला उपकरण सञ्चालनमा ल्याउन पहिलेदेखि प्रयोग भइरहेका उपकरणहरू थन्काएको पाइएको छ । उक्त मेशिन सेरो डाइग्नोष्टिक कम्पनीले जडान गरेको हो ।  अस्पतालले सेरो डाइग्नोष्टिक कम्पनीसँग खरिद गरेको भिट्रोस ५६०० मेसिन गत चैत १ गतेदेखि सञ्चालनमा ल्याएको थियो । तर, उक्त मेसिनलाई पर्याप्त परीक्षणको काम दिने भन्दै अस्पताल प्रशासनले दुई वर्षअघि मात्रै स्वास्थ्य सेवा विभाग र केन्द्रीय प्रयोगशालाबाट उपलब्ध गराइएका र अस्पतालले खरिद गरेका अन्य नयाँ उपकरणहरू प्रयोगविहीन बनाएर स्टोरमा थन्काएको छ । अस्पताल स्रोतका अनुसार थन्काइएका उपकरणहरू अझै प्रयोगयोग्य अवस्थामा थिए । तर, नयाँ खरिद गरिएको मेसिनमार्फत अधिकांश परीक्षण गराउन पहिले प्रयोग भइरहेका बायोकेमेस्ट्री तथा इम्युनोलोजीसम्बन्धी उपकरणहरू स्टोरमा राखिएको हो ।  ती उपकरण हटाउँदा अस्पतालको मर्मत सम्भार शाखाबाट आवश्यक प्राविधिक स्वीकृति समेत नलिइएको स्रोतको भनाइ छ । अस्पतालभित्र उपकरण व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठ्न थालेका छन् । स्वास्थ्य संस्थामा आवश्यकताको अध्ययन, उपकरणको उपयोग दर, जनशक्ति उपलब्धता र मर्मत सम्भारको अवस्थाको मूल्यांकन नगरी नयाँ उपकरण खरिद गर्ने प्रवृत्तिले राज्यको करोडौं लगानी जोखिममा पर्ने विज्ञहरू बताउँछन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महासाखा प्रमुख केशवराज पण्डितका अनुसार औजार उपकरणहरु जहाँ आवश्यक छ त्यहाँ दिने व्यवस्था गरिएको छ । तर, कान्तिले विभाग र केन्द्रीय प्रयोगशालाबाट प्राप्त भएका यस्ता मेसिनसमेत स्टोरमा थन्काएको छ । अस्पतालका सूचना अधिकारी रमेश नरसिंह केसीले पनि त्यस्ता सामानहरू स्टोर दाखिला गरिएको जानकारी दिए ।  स्वास्थ्य मन्त्रालयका डा. प्रकाश ज्ञवाली संघीय अस्पतालमा औजार उपकरणहरुको अवस्था के छ भनेर अभिलेखिकरण सुरु गरिएको बताए । लउनका अनुसार सबै संघीय अस्पतालमा एक–एक जना पठाएर अभिलेखिकरण सुरु भएको छ । नेपालका सरकारी अस्पतालहरूमा उपकरण थन्किने समस्या नयाँ भने होइन । पछिल्लो समय विभिन्न सरकारी अस्पतालमा प्रयोगविहीन उपकरणको संख्या बढ्दो रहेको तथ्यांक सार्वजनिक भइरहेका छन् ।  केही समयअघि सार्वजनिक विवरणअनुसार ६६ सरकारी अस्पतालमा २ हजार ६ सय ४५ स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा रहेको उल्लेख गरिएको थियो । त्यसमध्ये १ हजार ७४ उपकरण जडान गरिसक्दा पनि प्रयोगमा ल्याइएको थिएन भने १ हजार ८ सय २३ उपकरण मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थामा पनि थन्किएका थिए । यस्तै, राष्ट्रिय आविष्कार केन्द्रले केही समय पहिले विभिन्न सरकारी अस्पतालमा बिग्रिएर थन्किएका ५ सयभन्दा बढी उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको जनाएको थियो । केन्द्रका अनुसार सामान्य मर्मत र तार जडानकै अभावमा करोडौं मूल्यका उपकरण वर्षौदेखि थन्किएका थिए । स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार सरकारी अस्पतालहरूमा उपकरण खरिद प्रक्रिया अक्सर आवश्यकता भन्दा कमिसन केन्द्रित हुने आरोप लाग्दै आएको छ । उपकरण बिग्रिएपछि मर्मत नगरी नयाँ खरिद गर्ने प्रवृत्तिका कारण राज्यलाई दोहोरो आर्थिक भार परेको उनीहरूको भनाइ छ ।  यसअघि पनि वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बाल अस्पताललगायतका संस्थामा करोडौंका उपकरण थन्किएको विषय सार्वजनिक भएको थियो । कान्ति बाल अस्पतालमा थन्काइएका उपकरण कुन अवस्थामा छन् ? ती पुनः सञ्चालनमा ल्याउन सकिन्छ वा सकिँदैन भन्ने विकासन्युजको जिज्ञासामा सूचना अधिकारी केसीले केही पनि बताउन चाहेनन् ।  स्रोतका अनुसार उपकरण व्यवस्थापन र खरिद प्रक्रियाबारे अख्तियार दररुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरिसकेको छ । यसअघि राष्ट्रिय सतर्कता केन्द्रले अस्पतालमा अनुगमन गरिसकेको छ ।  बालबालिकाको उपचारका लागि देशकै केन्द्रीय विशेषज्ञ अस्पताल मानिने कान्ति बाल अस्पतालमा यस प्रकारको उपकरण व्यवस्थापन विवाद बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन गर्नुपर्ने मागसमेत उठ्न थालेको छ । सम्बन्धित सामग्री कान्तिबालको बदमासीमा मुछिए पूर्वमन्त्री बस्नेत, अख्तियारमा उजुरी कानुनी अपराधमा कान्ति बाल, निजी ल्याबको रिपोर्ट आफ्नो भन्दै हस्ताक्षर बदमासी ढाकछोप गर्न कर्मचारीको सातो खाँदै प्रशासन कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण काजमै राज गरिरहेका भीआईपी चिकित्सक

मन्त्री-सचिव टकराव सतहमा

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी)को अध्यक्ष नियुक्तिका लागि जेठ ७ गते सरकारी सञ्चारमाध्यम गोरखापत्र दैनिकमा प्रकाशित दरखास्त आह्वानको सूचना २४ घण्टा नबित्दै रद्द गरिएको छ ।  रद्द गरिएको सूचनामा विशेष कारणवश आह्वान रद्द गरिएको उल्लेख गरिएको छ भने सूचना तथा सञ्चार मन्त्रालयले प्राविधिक कारण देखाएको छ । सूचना प्रकाशित भएपछि योग्यता पुगेका धेरै उम्मेदवारहरूले दरखास्त दिने तयारी गरिरहेका बेला एकाएक प्रक्रिया रोकिएपछि मन्त्रालयभित्रको आन्तरिक विवाद सतहमा आएको हो । मन्त्रालयका प्रवक्ता उदयबहादुर रानाले प्राविधिक कमजोरीका कारण सूचना रद्द गर्नु परेको जानकारी दिए । उनका अनुसार ऐन अनुसारका प्रावधान सच्याएर केही दिनमै पुनः नयाँ सूचना जारी गरिनेछ । तर, मन्त्रालय स्रोतका अनुसार यो प्रकरण प्राविधिक त्रुटिमा मात्र सीमित नभई सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतबीच लामो समयदेखि देखिएको संवादहीनता यस घटनामार्फत सार्वजनिक भएको हो । जारी भएको सूचना । चैत १३ गते बालेन्द्र साह नेतृत्वको सरकार गठन भएयता मन्त्रालयमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच समन्वय कमजोर रहेको आरोप उच्च प्रशासनिक तहकै अधिकारीहरूले लगाएका छन् । उनीहरूका अनुसार मन्त्रीसहित अधिकांश मन्त्रालयहरू निजी सचिवालयको प्रभावमा सञ्चालन भइरहेका छन् । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ अनुसार अध्यक्ष नियुक्तिका लागि पहिले सिफारिस समिति गठन हुनुपर्ने व्यवस्था छ । सो समितिले मात्र दरखास्त आह्वान गर्न सक्ने कानुनी प्रावधान भए पनि मन्त्रीको निजी सचिवालयको दबाबमा प्रक्रिया अघि बढाइएको ती सहसचिवको दाबी छ । ‘ऐनअनुसार सिफारिस समिति गठन नै नगरी सूचना प्रकाशित गरियो । गोरखापत्रमा सूचना छापिएपछि कानुनी कमजोरी देखिएर २४ घण्टामै फिर्ता लिनुप‍र्‍यो,’ मन्त्रालयका ती अधिकारीले भने । ऐनको दफा ८ को १ क अनुसार अध्यक्षको नियुक्ति सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले गर्ने व्यवस्था छ । तर प्रकाशित सूचनामा सिधै नेपाल सरकारले नियुक्त गर्ने आशय व्यक्त गरिएको थियो । यस्तै, ऐनको दफा ५ अनुसार लोक सेवा आयोगका अध्यक्ष वा उनले तोकेको सदस्य अध्यक्षतामा मन्त्रालयका सचिव तथा एक विज्ञ सदस्य सम्मिलित सिफारिस समिति गठन गर्नुपर्ने प्रावधान छ । तर समिति नै गठन नगरी सूचना प्रकाशित गरिएकाले प्रक्रिया विवादमा परेको मन्त्रालय स्रोतको भनाइ छ । मन्त्रालयका एक सहसचिवले भने, ‘प्रशासनिक नेतृत्वसँग पर्याप्त छलफल नै नगरी निजी सचिवालयबाट तयार पारिएको सूचना प्रकाशित हुँदा यस्तो अवस्था आएको हो ।’ प्रवक्ता रानाले पनि कानुनी तथा प्राविधिक पक्षमा केही कमजोरी रहेको स्विकार गर्दै प्रक्रिया सच्याएर पुनः सूचना प्रकाशित गरिने बताएका छन् । उनले भने, ‘अबको केही दिनमै सबै प्रक्रिया पुरा गरेर नयाँ सूचना जारी हुन्छ ।’

लिमा, सोविता र तोसिमामा कसले मार्ला बाजी ?

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आसन्न प्रथम महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनबारे आन्तरिक छलफल तीव्र बनेको छ । विशेषगरी महिला उपसभापति पदका लागि तीन प्रभावशाली नेतृबीच प्रतिस्पर्धा हुने देखिएको छ ।  पार्टीका केही पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूसँग गरिएको कुराकानीका आधारमा हालकी कोषाध्यक्ष तथा सांसद लिमा अधिकारी, कानुनमन्त्री सोविता गौतम र सांसद डा. तोसिमा कार्की महिला उपसभापति पदका प्रमुख दाबेदारका रूपमा चर्चामा रहेका छन् । रास्वपाको नयाँ विधानमा तीन उपसभापतिको व्यवस्था गरीएको छ । तीमध्ये एक महिला उपसभापति पद पनि विधानमा राखिएको छ । 'उक्त पदका लागि तीनवटै नेतृको आ-आफ्नै बलियो आधार छ । संगठन, जनसम्पर्क र सार्वजनिक छविका हिसाबले उनीहरूलाई गम्भीर दाबेदारका रूपमा हेरिएको छ,’ एक केन्द्रीय सदस्यले भने । पार्टीभित्र नयाँ नेतृत्व संरचना, संगठन विस्तार र आगामी निर्वाचन रणनीतिका विषयमा बहस भइरहेका बेला महिला उपसभापति पदलाई पनि विशेष महत्त्वका साथ हेरिएको छ । रास्वपाले आफूलाई परम्परागत दलभन्दा फरक र नयाँ राजनीतिक संस्कार बोकेको दलका रूपमा प्रस्तुत गर्दै आएको सन्दर्भमा महिला नेतृत्व चयनलाई पार्टीको भावी दिशासँग जोडेर हेरिएको छ । ती केन्द्रीय सदस्यले उपसभापति पदमा अहिले सबैभन्दा बढी चर्चा लिमा अधिकारीको रहेको जानकारी दिए । हाल पार्टीको कोषाध्यक्ष रहेकी अधिकारी संगठनभित्र लामो समयदेखि सक्रिय नेतृका रूपमा चिनिन्छिन् । पार्टीको वित्तीय व्यवस्थापन, संगठन निर्माण र आन्तरिक संरचनालाई व्यवस्थित बनाउन उनले खेलेको भूमिकाका कारण उनको पक्षमा संस्थापन पक्षका धेरै नेताहरू देखिएका हुन् ।  पार्टी स्रोतका अनुसार अधिकारीले जिल्ला तहसम्म संगठन निर्माणमा सक्रिय भूमिका खेलेकी छन् जसले महाधिवेशन प्रतिनिधिहरूमाझ उनको पहुँच बलियो बनाएको हो । रास्वपाको आर्थिक पारदर्शिता र संस्थागत व्यवस्थापनलाई व्यवस्थित बनाउने कार्यमा अधिकारीको योगदान रहेको भन्दै उनका समर्थकहरूले उनलाई संगठनमैत्री नेतृत्वका रूपमा प्रस्तुत गर्न थालेका छन् । केही नेताहरूले भने पार्टीभित्र समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने क्षमताका कारण पनि अधिकारीको सम्भावना बलियो रहेको बताउँछन् । यता कानुनमन्त्री सोविता गौतमको नाम पनि महिला उपसभापति पदमा बलियो रूपमा चर्चामा छ । युवा पुस्तामाझ लोकप्रिय छवि बनाएकी गौतमले संसद र सरकार दुवै क्षेत्रमा सक्रिय उपस्थिति जनाउँदै आएकी छन् । कानुनमन्त्रीको जिम्मेवारी सम्हालिरहेका कारण उनीसँग प्रशासनिक अनुभव र राजनीतिक सन्तुलन दुवै रहेको विश्लेषण पार्टीभित्र भइरहेको छ । अर्कोतर्फ सांसद डा. कार्की पनि महिला उपसभापति पदका लागि प्रभावशाली दाबेदारका रूपमा अगाडि देखिएकी छन् । स्वास्थ्य क्षेत्रको पृष्ठभूमिबाट राजनीतिमा आएकी कार्कीले छोटो समयमा नै फरक पहिचान बनाएकी छन् । चिकित्सा क्षेत्र, युवापुस्ता र सामाजिक सञ्जालमा उनको प्रभाव छ । रास्वपाभित्र वैचारिक स्पष्टता र सार्वजनिक प्रस्तुतीकरणमा प्रभावशाली नेतृका रूपमा कार्कीलाई हेरिन्छ । पार्टीका युवा पंक्तिमा उनको लोकप्रियता उल्लेख्य रहेको बताइन्छ । कार्कीको पक्षमा विशेषगरी युवा प्रतिनिधिहरू खुलेको बताइन्छ । ्स्वास्थ्य, शिक्षा र सुशासनका विषयमा उनले निरन्तर उठाउँदै आएका मुद्दाले उनलाई बौद्धिक र सक्रिय नेतृका रूपमा स्थापित गरेको छ । यद्यपि महाधिवेशन नजिकिँदै जाँदा समीकरणहरू परिवर्तन हुन सक्ने नेताहरू बताउँछन् । रास्वपाभित्र संस्थापन, युवा समूह र संगठन पक्षबीच आन्तरिक शक्ति सन्तुलन मिलाउने प्रयास भइरहेको छ । त्यसैले महिला उपसभापति पदमा अन्तिम समयमा सहमति, प्यानल वा नयाँ नाम पनि आउन सक्ने सम्भावना रहेको नेताहरूको भनाइ छ । पार्टी सभापति रवि लामिछाने निकट नेताहरू भने नेतृत्व चयन प्रक्रियालाई सकेसम्म सहमतिमै टुंग्याउने प्रयास भइरहेको बताउँछन् । महाधिवेशनलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा प्रस्तुत गर्न चाहेको रास्वपाले प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रिया माने पनि विभाजनकारी अवस्था सिर्जना हुन नदिने रणनीति लिएको स्रोतको दाबी छ । रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी दिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । नयाँ नेतृत्व चयनसँगै पार्टीको वैचारिक मार्गचित्र, संगठन विस्तार रणनीति र आगामी निर्वाचन तयारीबारे पनि सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ । यहीकारण महिला उपसभापति पदको प्रतिस्पर्धालाई पार्टीभित्रको शक्ति सन्तुलन, नयाँ पुस्ताको प्रतिनिधित्व र भावी नेतृत्वको संकेतका रूपमा हेरिएको छ । लिमा अधिकारी, सोविता गौतम र डा तोसिमा कार्कीमध्ये कसले बाजी मार्ने हुन् भन्ने विषयले अहिले रास्वपा वृत्तमा व्यापक चासो पैदा गरेको छ ।

कांग्रेसले गठन गर्यो निर्वाचन ब्यूरो, चुनावी तयारीदेखि तथ्याङ्क संकलनको काम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र स्थायी प्रकृतिको नयाँ संरचना निर्वाचन ब्यूरो गठन गरेको छ । यसअघि चुनावका बेला मात्रै निर्वाचन परिचालन समिति बनाउने अभ्यास गर्दै आएको कांग्रेसले अब निरन्तर रूपमा चुनावी तयारी, तथ्याङ्क संकलन र रणनीति निर्माणका लागि स्थायी ब्यूरो बनाएको हो । पार्टीले आगामी निर्वाचनहरुमा अगाडि सार्नसक्ने क्याडर निर्माण गर्ने, निर्वाचन लक्षित सुचनाहरु संकलन गर्ने उद्देश्यले ब्यूरो गठन गरिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा स्थायी प्रकृतिको निर्वाचन ब्यूरो गठन गरिएको चालिसेले जानकारी दिए । सभापति गगन कुमार थापाले १७ जना नेतालाई सदस्य मनोनित गर्दै काम अगाडि बढाउन निर्देशन दिएको चालिसेले बताए । प्रवक्ता चालिसेका अनुसार ब्यूरोलाई स्पष्ट कार्यादेश टिओआरसहित जिम्मेवारी दिइएको छ । ब्यूरोमा निवर्तमान सहमहामन्त्री जीवन परियारसहित अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुङ्गेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, भूमिराज चापागाईं, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेज बिनोद पौडेल, जग्गनाथ लामिछाने र मिलनराज बर्तौला सदस्य रहेका छन् । चालिसेका अनुसार निर्वाचन ब्यूरोले देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने, चुनावी तयारीलाई तथ्याङ्कमा आधारित र वैज्ञानिक बनाउने तथा ७५३ स्थानीय तह, ६ हजार ७४३ वडा र सातै प्रदेशको विस्तृत निर्वाचन योजना तयार गर्नेछ । त्यस्तै, मतदाता र स्थानीय वस्तुस्थितिको विश्लेषण गर्दै उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक र तथ्यपरक बनाइने चालिसेले बताए । ब्यूरोले स्पष्ट र प्रभावकारी चुनावी रणनीति निर्माण गर्नुका साथै पार्टीको परम्परागत चुनावी अभियानलाई आधुनिक राजनीतिक अभियान संरचनामा रूपान्तरण गर्ने लक्ष्य लिएको छ । कांग्रेसले निर्वाचन ब्यूरोअन्तर्गत सात सदस्यीय प्राविधिक समिति पनि रहने जनाएको छ । ब्यूरो मातहत विभिन्न कार्यसमूह र इकाइ गठन गरिनेछ भने प्रदेशस्तरमा संयोजक खटाइनेछ । उनीहरूले सूचना संकलन र व्यवस्थापनको काम गर्ने पनि प्रवक्ता चालिसेले जानकारी दिए । प्रदेश संयोजकअन्तर्गत जिल्ला र स्थानीय तहमा सूचनादाता रहने व्यवस्था गरिएको छ । उनीहरूले नियमित रूपमा स्थानीय तहका राजनीतिक गतिविधि, जनमत, प्राथमिकता र असन्तुष्टिबारे जानकारी उपलब्ध गराउने कांग्रेसको भनाइ छ । ब्यूरोको कार्यविवरणमा पछिल्ला र अघिल्ला निर्वाचनको तुलनात्मक अध्ययन, मत परिवर्तनको विश्लेषण, मतदान सहभागिता र मतदाता मनोविज्ञान अध्ययन गर्ने चालिसेले बताए । चालिसेका अनुसार ब्यूरोलाई देशव्यापी सर्वेक्षण सञ्चालन गरी मतदाताको भावना, विश्वासको स्तर र प्राथमिकता मापन गर्ने तथा त्यसका आधारमा नीति र घोषणापत्र सुधारका सुझाव दिने जिम्मेवारी पनि तोकिएको छ । त्यसैगरी प्रत्येक वडा, गाउँपालिका, नगरपालिका र प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन रणनीति तयार गरिने जनाइएको छ । स्थानीय तहका मुद्दा, जनभावना र राजनीतिक प्रवृत्तिको निरन्तर अध्ययन गरी ब्युरोलाई प्रतिवेदन बुझाइनेछ । कांग्रेसले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत जनमतको प्रवृत्ति विश्लेषण गर्ने, विशेष क्षेत्र वा विषयमा देखिने असन्तुष्टि तथा राजनीतिक परिवर्तन प्रारम्भिक चरणमै पहिचान गर्ने र नियमित रूपमा विश्लेषणात्मक प्रतिवेदन तयार पार्ने योजना पनि अघि सारेको छ । उनका अनुसार यस संरचनाले देशव्यापी निर्वाचन डाटाबेस निर्माण र वैज्ञानिक तरिकाले उम्मेदवार छनोट प्रणाली विकास गर्नेछ । उनका अनुसार मतदाता भावना आधारित घोषणापत्र निर्माणदेखि प्रभावकारी चुनावी रणनीति तय गर्ने काम पनि ब्यूरोले गर्नेछ । कांग्रेसले यसबाट पार्टीको निर्वाचन प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।

स्वास्थ्यमन्त्रीको ‘फोर्स’ लगाउँदै काज फिर्तामा अटेरी

काठमाडौं । सरकारले काजमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्काल दरबन्दी भएको अस्पतालमै फर्किन निर्देशन दिएपनि उपत्यकाबाहिरका अधिकांश संघीय अस्पतालमा त्यसको प्रभाव नगण्य देखिएको छ । विभिन्न अस्पतालबाट प्राप्त विवरणअनुसार काज फिर्ताको परिपत्र जारी भएको लामो समय बितिसक्दा पनि अधिकांश चिकित्सक आफ्नो मूल कार्यस्थलमा फर्किएका छैनन् । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले बैशाख २१ गते परिपत्र जारी गर्दै काजमा रहेका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई काज फिर्ता गरेर आफ्नो कार्यस्थलमा हाजिर हुन निर्देशन दिएको थियो । तर, सरकारले निर्देशन गरेको १६ दिन बित्दा पनि काजमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले काज फिर्तामा खासै चासो नदेखाएका हुन् ।  दुर्गमका कम सुविधा भएका अस्पतालमा दरबन्दी राखेर सुगमका सुविधासम्पन्न अस्पतालमा काजमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काज फिर्तामा उदासीन देखिन्छन् । काज फिर्ताको निर्देशन दिए पनि मन्त्रालयले पनि त्यस विषयमा खासै सोधखोज गरेको भेटिएको छैन । यसले गर्दा पनि सरकारको निर्देशन प्रभावकारी नभएको उपत्यका बाहिरका अस्पतालहरूका मेडिकल सुपरिटेन्डेन्टहरूले बताएका छन् । स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार उपत्यका बाहिरका संघीय अस्पतालहरूका चिकित्सकहरू लामो समयदेखि काठमाडौं केन्द्रित अस्पताल, मन्त्रालय, विभाग तथा विभिन्न परियोजनामा काजमा बस्ने प्रवृत्ति बढ्दो छ । यसका कारण प्रदेश र दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ सेवा कमजोर बन्दै गएको उनीहरूको भनाइ छ । विशेषज्ञ चिकित्सक अभावले उपत्यकाबाहिरका संघीय अस्पतालहरूमा बिरामीको उपचार, शल्यक्रिया, आकस्मिक सेवा र रेफरल व्यवस्थापनमा प्रत्यक्ष असर परेको अस्पताल प्रशासनहरूले बताएका छन् ।  स्वास्थ्य मन्त्रालयले काज प्रणालीलाई व्यवस्थित बनाउने र दरबन्दी भएका अस्पतालमै जनशक्ति अनिवार्य रूपमा राख्ने नीति लिएको बताए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको टिप्पणी भइरहेको छ । अस्पताल प्रशासनहरूले भने तत्काल काजमा रहेका चिकित्सकलाई फिर्ता नगरे उपत्यकाबाहिरका संघीय अस्पतालमा सेवा प्रवाह थप संकटग्रस्त बन्ने चेतावनी दिएका छन् ।  उपत्यकाबाहिर रहेका आठ संघीय अस्पतालबाट अन्य अस्पताल तथा निकायमा काजमा गएका करिब १५० चिकित्सकमध्ये अत्यन्त कम संख्यामा मात्रै फर्किएको तथ्यांकले देखाएको छ । यसले संघीय अस्पतालहरूमा विशेषज्ञ चिकित्सक अभाव थप चर्किएको अस्पताल प्रशासनहरूको गुनासो छ । मन्त्रालयले विगतमा संघीय अस्पतालहरूमा जनशक्ति अभाव बढ्दै गएको भन्दै काजमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्काल फिर्ता गर्न ताकेता गरेको थियो । तर, व्यवहारमा भने अधिकांश चिकित्सक अझै काठमाडौं केन्द्रित अस्पताल वा अन्य निकायमै कार्यरत रहेको पाइएको छ । कति फर्के, कति बाँकी ? मन्त्रालयले निर्देशन जारी गरेपछि अत्यन्तै थोरै चिकित्सक तथा स्वास्थ्थकर्मीहरू कार्यस्थल फर्किएको पाइएको छ । यो समाचार तयार पार्दासम्म सुदूरपश्चिमस्थित डडेल्धुरा अस्पतालबाट चारजना चिकित्सक अन्यत्र काजमा गएकोमा दुईजना अस्पताल फर्किएको अस्पतालका सूचना अधिकारी सुशील प्रसाद पन्तले जानकारी दिए । पन्तका अनुसार बाँकी चिकित्सक अझै काजमै रहेका कारण सेवा प्रवाह प्रभावित भइरहेको छ । नारायणी अस्पतालबाट काजमा रहेका ४५ जनामध्ये केबल तीन जना मात्रै फर्किएका छन् । अस्पताल स्रोतका अनुसार विशेषज्ञ चिकित्सक अभावका कारण बिरामीको चाप व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ । दैनिक सयौं बिरामीको उपचार गर्दै आएको अस्पतालमा जनशक्ति अभावले सेवा गुणस्तरमै असर पर्न थालेको अस्पताल प्रशासनको भनाइ छ । बाँकेको भेरी अस्पतालमा पनि अवस्था चिन्ताजनक देखिएको छ । अस्पतालमा दरबन्दी रहेका ५६ चिकित्सकमध्ये २९ जना विशेषज्ञ चिकित्सक रहेका छन् । तर, तीमध्ये नौजना विशेषज्ञ चिकित्सक विभिन्न स्थानमा काजमा रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार मेडिकल अफिसर, नर्सिङ स्टाफ र अन्य स्वास्थ्यकर्मीसमेत गरेर कुल २९ जना कर्मचारी अन्यत्र काजमा छन् । काजमा गएका चिकित्सक तथा स्वास्थ्यकर्मीमध्ये हालसम्म कोही पनि अस्पताल फर्किएका छैनन् । अस्पताल प्रशासनले विशेषज्ञ चिकित्सक अभावका कारण सेवा सञ्चालनमा गम्भीर दबाब परेको जनाएको छ । विशेषगरी आकस्मिक सेवा, शल्यक्रिया तथा विशेषज्ञ ओपीडी प्रभावित बन्न थालेका छन् । पूर्वी नेपालको प्रमुख उपचार केन्द्र मानिने कोशी अस्पतालमा पनि चिकित्सक अभाव उस्तै देखिएको छ । अस्पतालमा कार्यरत ४० जना कन्सल्टेन्ट चिकित्सकमध्ये आधा मात्रै नियमित रूपमा अस्पतालमा उपलब्ध रहेको प्रशासनले जनाएको छ । बाँकी चिकित्सक कहाँ र कुन अवस्थामा कार्यरत छन् भन्नेबारे समेत अस्पतालले खोजी गरिरहेको छ ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामनारायण चाैधरीका अनुसार अस्पतालले विशेषज्ञ चिकित्सकको अभाव खेपिरहेको छ । उनले कति चिकित्सक काजमा छन्, कति फर्किए भन्ने सूचना दिन नमिल्ने बताए । उनले भने, ‘काजमा रहेका साथीहरू अहिलेसम्म फर्किनु भएको छैन । फर्किँदै हुनुहोला ।’ अस्पतालका अनुसार ३४ जना मेडिकल अफिसरको दरबन्दी रहे पनि १७ जना अन्य अस्पताल तथा निकायमा काजमा छन् । यसले अस्पतालको नियमित सेवा सञ्चालनमै समस्या सिर्जना भएको प्रशासनको भनाइ छ । पश्चिमाञ्चल अस्पताल पोखरामा अन्य अस्पतालको तुलनामा काज समस्या कम रहेको अस्पतालका सूचना अधिकारी सुशील कुमार अर्यालले जानकारी दिए । उक्त अस्पत्तालवाट ६ वर्षदेखि काठमाडौंको कान्ति बाल अस्पतालमा काजमा रहेकी डा. मोनी सुवेदीसहित केही चिकित्सकमात्रै काजमा छन् । गजेन्द्र नारायणसिंह अस्पतालमा २० जना विशेषज्ञ चिकित्सक रहे पनि हाल ३ जना मात्रै अस्पतालमा कार्यरत रहेको अस्पतालले जनाएको छ ।  अस्पताल प्रमुख अवधेस कुमार मिश्र भने यस विषयमा जानकारी दिन तयार भएनन् । स्वास्थ्य मन्त्रालय के भन्छ ? बैशाख २१ मै सबै चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई काज फिर्ता भएर दरबन्दी रहेको स्वास्थ्य संस्थामा फर्किन निर्देशन जारी गरेको मन्त्रालय निर्देशन पछिको प्रगति विवरणमा भने सुस्त देखिएको छ । केही चिकित्सक र स्वास्थ्यकर्मीहरू स्वास्थ्यमन्त्री निशा मेहताका साथीहरू समेत रहेकोले मन्त्रीले खासै चासो नदिएको मन्त्रालयको उच्च स्रोतले बताएको छ ।  उपत्यका बाहिर दरबन्दी रहेर उपत्यकाका अस्पतालमा काजमा रहेका केही चिकित्सकहरू मन्त्री मेहताका अत्यन्तै निकटका साथीहरू रहेकोले ती चिकित्सकको दबाबमा मन्त्री मेहताले आफ्नो निर्देशनमै कोल्टे फेरेको मन्त्रालयका एक उच्च प्रशासकले जानकारी दिए । उनले भने ‘२१ गते निर्देशन भएपछि मन्त्री मेहताले एकपटक पनि त्यसको प्रगति विवरण मागेकी छैनन् ।’ मन्त्रालयका सहप्रवक्ता डा. भक्त बहादुर केसी भने प्रशासन महाशाखाका प्रमुखसहितका साथीहरू बिदा बसेकोले फलोअपमा समस्या आएको बताउँछन् । डा. केसी भन्छन्, ‘साथीहरू बिदामा रहेकोले केही समस्या पक्कै आएको हो । यसलाई हामी तुरुन्तै एक्सनमा लगेर यो समस्या समाधान गर्छौं ।’ चिकित्सकहरूको फरक धारणा चिकित्सक काजमा रहेको विषय अरू कर्मचारी काजमा रहेको जस्तो विषय नभएको उनीहरू बताउँछन् । हाल का‍‍न्ति बाल अस्पतालमा काजमा रहेका डा. रामहरि चापागाईं सेड्युलमा सरुवा नहुुदा अहिलेको अवस्था आएको बताउँछन् ।  पछिल्लो दुई वर्षदेखि सरुवा पदस्थापन नगरिएको अवस्थामा एकाएक काज फिर्ताको निर्देशन आउँदा चिकित्सकहरू चिन्तित भएको डा. चापागाईंको दाबी छ । ‘कति जना चिकित्सकहरू बढुवा भएका छन् । तिनीहरूको व्यवस्थापन नगरी काज फिर्ताको निर्देशन आउँदा हामीहरू निराश भएका छौं,’ डा चापागाईंले भने । काजमा रहेका चिकित्सकहरू १. डा. चुमनलाल दास २. डा. भरत बहादुर क्षेत्री ३. डा. वर्षा थापा ४. डा. दीपेन्द्र गौतम ५. डा. आनन्द नेपाल ६. डा. शरद पौडेल ७. डा. अंशु झा ८. डा. ईश्वर प्रसाद अधिकारी ९. डा. दिवस सापकोटा १०. डा. मुकेश पौडेल ११. संयोग तिम्सिना १२. डा. विनित झा १३. डा. मनीष पाण्डे १४. डा. प्रेम पाठक १५. डा. सोनिका क्षेत्री १६. डा. अणु वाल १७. डा. अलि अकवर राइन १८. डा. रोशन चौधरी १९. डा. मृगेन्द्र कुमार सिंह यादव २०. डा. ओमप्रकाश यादव २१. डा. गोपाल कुमार यादव २२. डा. सूर्य ताप रैदास २३. श्री तीर्थराज गौतम २४. श्री रुकु साह २५. श्री जागृति शर्मा सुवेदी २६. श्री मिना साह २७. श्री उपमा निरौला २८. श्री सुस्मिता पौडेल २९. श्री गीता कँडार ३०. श्री निर्मला कठरिया ३१. श्री चेतना ओली ३२. श्री सजु तिवारी ३३. श्री कृत्ति कुमार साह ३४. खुश्बु चौधरी ३५. नरेश कुमार मण्डल ३६. श्री दया ठाकुर ३७. सीमा मण्डल ३८. श्री रामु काकी ३९. श्री कमलेश महतो ४०. श्री महेश कुमार बराल ४१. श्री शिवजी दास ४२. श्री विनोद कुमार यादव ४३. श्री मनोज कुमार चौधरी ४४. श्री मीरा कुमार साह ४५. श्री रामप्रकाश राय यादव ४६. डा. युवराज बसौला ४७. डा. मोनी सुवेदी ४८. डा. रामहरी चापागाई ४९. डा. किसोर प्रसाद खत्री ५०. डा. दुर्गालक्ष्मी श्रेष्ठ ५१. डा. भक्त बहादुर वत्सल ५२. डा. सविता विश्वकर्मा ५३. डा. कृष्ण आचार्य ५४. डा. सुजन ढकाल ५५. डा. चुनु दर्नाल ५६. डा. मृदुल प्रसाद जोशी ५७. बसन्त रेग्मी सम्बन्धित सामग्री : काजमै राज गरिरहेका भीआईपी चिकित्सक

काजमै राज गरिरहेका भीआईपी चिकित्सक

काठमाडौं । विशेषज्ञ चिकित्सकहरू वर्षौंदेखि काठमाडौंका सुविधासम्पन्न अस्पतालमै काजमा बसिरहँदा उपत्यकाबाहिरका सरकारी अस्पतालको सेवा प्रवाह गम्भीर रूपमा प्रभावित भएको पाइएको छ । विशेषगरी दरबन्दी भएका अस्पतालमा चिकित्सक नफर्किँदा प्रदेशस्तरीय अस्पतालहरू प्रभावकारी उपचार केन्द्रभन्दा रिफर अस्पताल जस्तै बन्न थालेको सम्बन्धित अस्पताल प्रमुखहरूले बताएका छन् । हाल कान्ति बाल अस्पतालमा भेरी अस्पतालका तीनजना विशेषज्ञ चिकित्सक काजमा कार्यरत छन् । यस्तै, कोशी अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखराका एक/एक जना विशेषज्ञ चिकित्सक पनि कान्तिमै कार्यरत रहेका छन् । दरबन्दी भने बाहिरका अस्पतालमा कायम छ । भेरी अस्पतालका प्रमुख डा. नवीन दर्नालका अनुसार यो समस्या कान्ति अस्पतालमा मात्र सीमित छैन । दुर्गम तथा मोफसलका अस्पतालमा दरबन्दी भएका धेरै विशेषज्ञ चिकित्सक पहुँच र प्रभावका आधारमा काठमाडौं तथा सुविधासम्पन्न सहरका अस्पतालमा काजमा बसिरहेका उनले जानकारी दिए । ‘दूरदराजका अस्पतालमा सेवा दिने भनेको पहुँच नभएका वा त्यस्तो गर्न नचाहने चिकित्सकहरूले मात्रै हो भन्ने अवस्था बन्दै गएको छ,’ डा दर्नालले भने । विशेषज्ञ चिकित्सक अभावका कारण बिरामीलाई सामान्य अवस्थामै पनि काठमाडौं रिफर गर्नुपर्ने बाध्यता छ । पश्चिमाञ्चल अस्पताल पोखराका सहायक सूचना अधिकारी दीपक जीसीले पनि दरबन्दी एक ठाउँमा राखेर काम अर्कै अस्पतालमा गर्ने प्रवृत्ति पुरानै रहेको बताए । पहुँच भएका चिकित्सकहरूले दरबन्दी पोखरामा राख्ने तर काम काठमाडौंमा गर्ने चलन वर्षौंदेखि चलिरहेको छ । मन्त्रिपरिषद्ले हालै गरेको निर्णय कडाइका साथ कार्यान्वयन भए मात्रै समस्या समाधान हुन सक्ने उनको भनाइ छ । कान्ति बाल अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा. मोनी सुवेदी पछिल्लो ६ वर्षदेखि काजमा कान्तिमै कार्यरत छिन् । उनको दरबन्दी भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ । सरकार परिवर्तनसँगै स्वास्थ्य मन्त्रालयले दरबन्दी भएको अस्पतालमा फर्किन निर्देशन दिए पनि उनी निरन्तर कान्तिमै कार्यरत रहेकी हुन् । राजनीतिक पहुँचले गर्दा उनलाई सरकारका पछिल्ला निर्देशनले समेत छुन सकेको छैन । यस्तै, कोशी अस्पतालमा दरबन्दी राखेर कान्तिमा कार्यरत अर्की विशेषज्ञ चिकित्सक डा. रेश्मा श्रेष्ठ कर्माचार्य हाल कान्तिमा प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिस्टका रूपमा कार्यरत छिन् । कान्ति अस्पतालकै प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डा. रामहरि चापागाईं र कन्सल्टेन्ट पेडियाट्रिसियन डा. जगतजीवन घिमिरेको दरबन्दी भेरी अस्पतालमा रहेको छ । डा. दिनेश शिवाकोटी र डा. दिपेश भट्टराईको दरबन्दी पनि उपत्यकाबाहिरकै अस्पतालमा रहेको छ । डा. शिवाकोटीको दरवन्दी भेरी अस्पतालमा रहेको छ भने डा. भट्टराईको नारायणी अस्पतालमा दरबन्दी रहेको छ । काजमा कार्यरत डा. शिवाकोटीले सरकारले स्पष्ट र समान नीति लागू गर्न नसक्दा समस्या जटिल बनेको दाबी गरे । ‘सबैलाई समान व्यवहार र एउटै मापदण्ड लागू नहुँदा काज व्यवस्थापन विवादित बनेको हो,’ उनले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसी भने मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइसकेको बताउँछन् । उनका अनुसार मन्त्रालयले काजमा रहेका चिकित्सकलाई दरबन्दी भएको अस्पतालमा फर्किन औपचारिक पत्राचार गरिसकेको छ । ‘मन्त्रालयले सबैलाई काज फिर्ता गरी दरबन्दी भएको अस्पतालमा हाजिर हुन निर्देशन दिइसकेको छ,’ डा केसीले भने, ‘यदि कसैले अटेरी गरेर काठमाडौंमै बसिरहनुभएको छ भने उहाँहरूले तत्काल आफ्नो अस्पतालमा गएर सेवा सुरु गर्नुपर्छ ।’ उनले अटेरी गर्ने चिकित्सकमाथि विभागीय कारबाही हुन सक्ने चेतावनी पनि दिए । ‘काज फिर्ता नगर्ने चिकित्सक मात्र होइन, दरबन्दी भएका चिकित्सकलाई नबोलाउने अस्पताल प्रमुखहरू पनि कारबाहीको दायरामा आउन सक्छन्,’ उनले भने । सरकारले हालै संघीय अस्पताल तथा स्वास्थ्य संस्थामा लामो समयदेखि चलिरहेको काज प्रक्रियालाई व्यवस्थित गर्ने निर्णय गरेपछि मन्त्रालयले दरबन्दीअनुसार चिकित्सक फिर्ता गर्ने प्रक्रिया थालेको छ । तर, प्रभावशाली चिकित्सक र अस्पताल प्रशासनकै कारण निर्णय कार्यान्वयनमा चुनौती देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरू बताउँछन् । विशेषज्ञ चिकित्सकको अभावका कारण उपत्यका बाहिरका सरकारी अस्पतालमा सेवा विस्तार प्रभावित हुँदै गएको छ भने बिरामीको चाप काठमाडौं केन्द्रित बन्दै गएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार दरबन्दी व्यवस्थापन प्रभावकारी बनाउन नसके संघीय स्वास्थ्य प्रणालीको उद्देश्य नै कमजोर बन्ने खतरा रहेको छ।   सम्बन्धित सामग्री कान्तिबालको बदमासीमा मुछिए पूर्वमन्त्री बस्नेत, अख्तियारमा उजुरी कानुनी अपराधमा कान्ति बाल, निजी ल्याबको रिपोर्ट आफ्नो भन्दै हस्ताक्षर बदमासी ढाकछोप गर्न कर्मचारीको सातो खाँदै प्रशासन कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण

फरक प्रकृतिका ‘पावर सेन्टर’ मन्त्रालय मर्ज

काठमाडौं । नेपाल सरकारका दुई फरक प्रकृति, संरचना र संवेदनशीलता बोकेका मन्त्रालय अहिले एउटै राजनीतिक नेतृत्वअन्तर्गत सञ्चालन भइरहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी एउटै मन्त्रीलाई दिइएपछि प्रशासनिक वृत्त, कर्मचारी संयन्त्र र नीतिगत तहमा यसको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ । सरकारले राजनीतिक सन्तुलन, शक्ति व्यवस्थापन र मन्त्रिपरिषद्को आकार नियन्त्रणका लागि एउटै मन्त्रीलाई बहुमन्त्रालयको जिम्मेवारी दिने अभ्यास नयाँ होइन । तर, पछिल्लो व्यवस्थापनले राज्य सञ्चालनका दुई अत्यन्तै संवेदनशील र असाध्यै फरक प्रकृतिका क्षेत्रलाई एउटै मन्त्रालय बनाउँदा त्यसको प्रभावकारितामा असर पर्न सक्नेतर्फ सचेत हुनुपर्ने प्रशासन क्षेत्रका जानकारहरू बताउँछन् ।  सरकारले ती दुई मन्त्रालयलाई मर्ज गरेर भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नामाकरण गरेकाे छ । अहिले उक्त मन्त्रालयकाे नेतृत्व प्रतिभा रावलले गरिरहेकी छन् ।  नेपाल सरकारका पूर्वसहसचिव भागिरथ पाण्डे एकातिर भूमि, सहकारी र गरिबी निवारणजस्तो प्रत्यक्ष जनसरोकारको सेवा क्षेत्र र अर्कोतर्फ कर्मचारी प्रशासन र संघीय शासन व्यवस्थाजस्तो संरचनात्मक क्षेत्रलाई एउटै नेतृत्वमा राख्दा कार्यसम्पादन क्षमता प्रभावित हुन सक्ने चिन्ता बढेको बताउँछन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मूलतः सेवा प्रवाह, अभिलेख व्यवस्थापन र नियमनकारी प्रकृतिको मन्त्रालय हो । मालपोत कार्यालय, नापी विभाग, भू–अभिलेख प्रणाली, गुठी प्रशासन र सहकारी अनुगमन यसका मुख्य कार्यक्षेत्रहरू हुन् । पूवसर्हसचिव पाण्डेका अनुसार जग्गा स्वामित्व विवाददेखि डिजिटल नक्सांकन, भूमि प्रशासन सुधार, सहकारी ठगी नियन्त्रण र गरिबी निवारण कार्यक्रमसम्मका जटिल विषय यस मन्त्रालयसँग जोडिएका छन् । विशेषगरी पछिल्ला वर्षहरूमा सहकारी संकट, बचतकर्ताको आन्दोलन, भूमाफिया नियन्त्रण, सार्वजनिक जग्गा संरक्षण तथा सेवा प्रवाहमा देखिएको ढिलासुस्तीका कारण यो मन्त्रालय निरन्तर सार्वजनिक निगरानीमा रहँदै आएको छ ।  भूमि प्रशासनसँग जोडिएको भ्रष्टाचार, अभिलेख हेरफेर, मालपोत प्रणालीमा राजनीतिक प्रभाव र सहकारी क्षेत्रमा देखिएको नियमनहीनताले यो मन्त्रालयलाई अझ संवेदनशील बनाएको मन्त्रालयका एक सहसचिवले जानकारी दिए । उनका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने राज्य संयन्त्र सञ्चालन गर्ने केन्द्रीय प्रशासनिक नर्भ सेन्टरका रूपमा चिनिन्छ । ‘संघीयता कार्यान्वयन, स्थानीय तहसँग समन्वय, प्रदेश संघ सम्बन्ध, निजामती कर्मचारी व्यवस्थापन, कर्मचारी सरुवा बढुवा, प्रशासनिक पुनर्संरचना तथा संघीय शासन प्रणालीलाई कार्यान्वयनमा लैजाने मुख्य जिम्मेवारी यही मन्त्रालयसँग छ,’ ती सहसचिवले भने । स्थानीय तहमा कर्मचारी अभाव, संघीय निजामती ऐनको अन्योल, प्रदेशसँगको अधिकार विवाद, कर्मचारी समायोजनका समस्या तथा प्रशासनिक स्थायित्वका प्रश्नले यो मन्त्रालयलाई सधैं उच्च राजनीतिक र प्रशासनिक दबाबमा राख्ने गरेको छ । किन कठिन मानिन्छ एउटै नेतृत्व ? प्रशासनविद तथा पूर्वसचिव युवराज पाण्डे दुई मन्त्रालयको कार्यप्रकृति मात्र होइन, सञ्चालनको अभ्यास नै पूर्ण रूपमा फरक रहेको बताउँछन् । अर्का पूर्वउपसचिव डा. हरिप्रसाद भण्डारीका अनुसार भूमि मन्त्रालय बढी फिल्ड ड्राइभन मन्त्रालय हो, जहाँ दैनिक सेवा प्रवाह, प्राविधिक निर्णय, स्थानीय विवाद र प्रत्यक्ष जनसम्पर्कको चाप हुन्छ । तर, सामान्य प्रशासन मन्त्रालय सिस्टम ड्राइभन निकाय हो, जसले राज्य संयन्त्र, कर्मचारी संरचना र संघीय शासनको दीर्घकालीन नीति निर्माण सम्हाल्छ । डा. भण्डारी एउटै मन्त्रीले दुवै मन्त्रालयलाई समान प्राथमिकता दिन व्यवहारतः कठिन हुने बताउँछन् । भूमि मन्त्रालयमा दैनिक उत्पन्न हुने विवाद, सहकारी संकट र सेवा प्रवाह सुधारमा मन्त्रीको प्रत्यक्ष संलग्नता आवश्यक पर्छ । सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी व्यवस्थापन, संघीय समन्वय र प्रशासनिक सुधारजस्ता विषयमा निरन्तर रणनीतिक निर्णय लिनुपर्ने हुन्छ । यसले अन्ततः कुनै एक मन्त्रालय प्राथमिकता बाहिर पर्न सक्ने जोखिम बढाउने डा. भण्डारीको भनाइ छ । तर, मन्त्रालयका प्रवक्ता एकदेव अधिकारी यो दाबी मान्न तयार छैनन् । उनी भन्छन्, ‘दुवै निकायमा खासै ठुलो प्राविधिक फरक छैन, ठूला समस्या आउने सम्भावना देखिँदैन ।’ सरकारले गठन गरेको मन्त्रालय पुर्नसंरचना समितिका एक सदस्य भने पछिल्लो पुर्नसंरचनाले केही जटिलता उत्पन्न गर्न सक्ने बताउँछन् । ‘विज्ञहरुसँग गरिएको लामो संवादपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सामान्य प्रशासन महाशाखाको रुपमा प्रधानमन्त्री कार्यालयमा व्यवस्थापन गर्नेगरी प्रतिवेदन बुझाइएको थियो । पुर्नसंरचना भएर आउँदा दुई फरक प्रवृतिका निकायलाई एकै ठाउमा ल्याइयो,’ उनले भने । यसले मन्त्रालयका कर्मचारीहरुमा पनि असन्तुष्टि बढाएको बुझ्न सकिने देखाएको छ । राजनीतिक व्यवस्थापन कि प्रशासनिक दबाब ? सरकारले प्रायः राजनीतिक समीकरण मिलाउन वा मन्त्रिपरिषद्को आकार सीमित राख्न एउटै मन्त्रीलाई अतिरिक्त जिम्मेवारी दिने गरेको छ । तर, प्रशासनिक क्षेत्रका जानकारहरूका अनुसार संवेदनशील मन्त्रालयहरूमा यस्तो अभ्यास दीर्घकालीन रूपमा प्रभावकारी मानिँदैन । विशेषगरी अहिले सहकारी संकट राष्ट्रिय मुद्दाका रूपमा देखिएको छ । हजारौं बचतकर्ता रकम फिर्ताको माग गर्दै आन्दोलनमा छन् । भूमि सुधार र डिजिटल भूअभिलेख प्रणाली कार्यान्वयन पनि सुस्त छ । त्यसैगरी संघीय निजामती ऐन अझै टुंगिन सकेको छैन । स्थानीय तहमा कर्मचारी अभाव, प्रदेशसँगको समन्वय समस्या र संघीय संरचनाको कार्यान्वयनमा अन्योल कायमै छ । यस्तो अवस्थामा दुवै मन्त्रालयलाई फुल–टाइम राजनीतिक ध्यान आवश्यक पर्ने प्रशासनिक अधिकारीहरू बताउँछन् ।  मन्त्रालयकै अधिकांश उच्च तहका अधिकारीहरु पछिल्लो संरचनाबाट सन्तुष्ट नभएको बताउँछन् । हामीसँग सम्वाद गरेका केही अधिकारीहरुले अहिले दुवै निकायलाई पुर्ण राजनितिक नेतृत्व चाहिने बेलामा एकै ठाँउ मर्ज गरेर राजनितिक नेतृत्वले विषय गिजोल्न खोजेको आशंका गर्छन् । मन्त्रालयका प्रवक्ता अधिकारी भन्छन्, ‘उहाँहरुको चिन्ता जायज भए पनि सम्बोधन नै गर्न नसकिने गरी पुर्नसंरचना गरिएको छैन । नयाँ हुँदा केही असहजता भए पनि गर्दै सिक्दै जाँदा समस्या आउँदैन ।’ भूमि प्रशासन र सामान्य प्रशासन दुवै मन्त्रालय प्रत्यक्ष रूपमा नागरिकसँग जोडिएका मन्त्रालय हुन् । एउटा मन्त्रालयले नागरिकको जग्गा, स्वामित्व र आर्थिक सुरक्षासँग सम्बन्ध राख्छ भने अर्कोले राज्य संयन्त्रको सेवा प्रवाह र कर्मचारी व्यवस्थापन निर्धारण गर्छ । प्रशासनिक वृत्तमा यसले चिन्ता थपेको अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार मन्त्रीको समय, निर्णय क्षमता र प्राथमिकता विभाजित हुँदा नीतिगत निर्णय ढिला हुने, प्रशासनिक समन्वय कमजोर हुने र सेवा प्रवाह प्रभावित हुने सम्भावना बढ्न सक्छ । विशेषगरी सहकारी नियमन, मालपोत सुधार, कर्मचारी सरुवा, स्थानीय तह समन्वय र संघीय प्रशासनिक सुधारजस्ता विषयमा निर्णय प्रक्रियामा ढिलाइ हुन सक्ने आशंका मन्त्रालयका उच्च अधिकारीहरुको छ । प्रशासनविद्हरूका अनुसार संघीय शासन प्रणाली स्थायित्वतर्फ उन्मुख भइरहेको वर्तमान अवस्थामा मन्त्रालयहरूको कार्यविभाजन, विशेषज्ञतामा आधारित नेतृत्व र पूर्णकालीन राजनीतिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता झन् बलियो रूपमा देखिएको छ ।