काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्र दुई अलग महाधिवेशन प्रक्रियाले संगठनात्मक आकार लिइसकेका छन् । सभापति गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी अधिवेशन प्रक्रिया अघि बढाएको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारीलाई जिल्ला तहसम्म विस्तार गरीरहेको छ ।
तर, यी दुई प्रक्रियाबीच नेता डा. शेखर कोइराला भने अहिलेसम्म अन्यौलमै देखिन्छन् । उनले महाधिवेशनमा सहभागी नभई तटस्थ बस्ने निर्णय गरेको उनीनिकट नेता बद्री पाण्डेले बताएका छन् ।
तर, शेखरनिकट नेताहरू भने एउटै धारमा देखिएका छैनन् । पूर्वउपसभापति धनराज गुरुङसहित केही नेता गगन नेतृत्वको महाधिवेशन प्रक्रियामा गएका छन् । पूर्व सहमहामन्त्री बद्री पाण्डे, गत महाधिवेशनमा महामन्त्रीका प्रत्याशी डा. मिनेन्द्र नेताहरु बलबहादुर केसी, सरिता प्रसाईं र सञ्जय गौतमलगायत नेताहरुले भने शेखरलाई साथ दिइरहेका छन् ।
महाधिवेशनको रौनकमा गगन
गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाअधिवेशनका प्रतिनिधि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । संशोधित कार्यतालिकाअनुसार ६ हजार ७ सय ४३ वडामा भदौ २४ गते वडा अधिवेशन सम्पन्न भएको छ । भदौ २७ गते गाउँ-नगर अधिवेशन टुंगिसकेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।
१५औं महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत आज आइतबार १३ जिल्लामा प्रतिनिधि छनोटको काम हुँदै गरेको कटुवालले जानकारी दिए ।
अत्यधिक वर्षाका कारण असोज १० गतेका लागि तोकिएको अधिवेशन निर्वाचन समितिले असोज १३ गतेभित्र अनुकूल मितिमा गर्न सक्ने विकल्प दिएपछि जिल्लाअनुसार फरक-फरक दिनमा क्षेत्रीय अधिवेशन भइरहेको कटुवालले जानकारी दिए ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार आज आइतबार झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतमा क्षेत्रीय अधिवेशन हुँदैछ ।
यस्तै, असोज १२ गते ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपुर, रुपन्देही, गुल्मी, दाङ, सल्यान, बाजुरा, बझाङ, अछाम र कैलालीमा अधिवेशन गर्ने तयारी छ ।
निर्वाचन समितिका अनुसार असोज १३ गते सुनसरी, नुवाकोट, मकवानपुर, नवलपरासी, बर्दिया र दैलेखमा तथा असोज १४ गते इलाममा क्षेत्रीय अधिवेशन गर्ने तयारी गरिएको छ ।
यसअघि असोज १० गते निर्धारित तालिकाअनुसार १७ जिल्लामा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ । डडेल्धुरा, मनाङ, मुस्ताङ र बैतडीको क्षेत्रीय अधिवेशनबाट नतिजासमेत आइसकेको कटुवालले जानकारी दिए ।
त्यसैगरी संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जुम्ला, डोटी, दार्चुला र कञ्चनपुरमा निर्वाचन प्रक्रिया जारी छ । बाँकी जिल्लामा पनि असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने गरी तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।
त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि परिचालन र अभिमुखीकरणसमेत सुरु भइसकेको जनाएको छ ।
यसरी संस्थापन पक्षको महाधिवेशन प्रक्रिया अब घोषणाको चरणमा मात्र नभई तल्लो तहका अधिवेशन हुँदै प्रतिनिधि छनोटको चरणमा प्रवेश गरिसकेको छ ।
देउवा पक्ष जिल्ला तहमा
देउवा पक्षले पनि छुट्टै महाधिवेशनको तयारीलाई संगठन परिचालनमा रूपान्तरण गरेको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५औं केन्द्रीय महाधिवेशन तयारी समितिले ५५ जिल्लामा संयोजक तोकेको छ । समितिले सात प्रदेशका ती जिल्लामा संयोजक तोकेको हो । मधेश प्रदेशका कुनै पनि जिल्लामा भने अहिलेसम्म संयोजक तोकिएको छैन ।
प्रस्तावित कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी रहेको नेता जितजंग बस्नेतले जानकारी दिए । त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम रहेको बस्नेतले बताए ।
यससँगै देउवा पक्षको तयारी पनि समानान्तर संगठन निर्माण र अधिवेशन सञ्चालनको चरणमा पुगेको छ ।
शेखरको 'सुलेसन'ले काम गरेन
शेखर कोइरालाले पार्टीभित्र विभाजनको अवस्था आउन नदिन संवाद र सहमतिको प्रयासलाई प्राथमिकता दिएका छन् । यही कारण उनले आफू कुनै पनि महाधिवेशन प्रक्रियामा सहभागी नहुने र तटस्थ बस्ने निर्णय लिएको उनीनिकट नेताहरूले बताएका छन् ।
तर, उनको समूहका नेताहरू भने क्रमशः फरक–फरक दिशामा देखिएका छन् । शेखरनिकट तत्कालीन उपसभापति धनराज गुरुङसहित दीपक गिरी, कृष्णचन्द्र नेपाली, किरण यादव, चन्द्रमोहन यादव, रुक्मिणी कोइराला र टेकप्रसाद गुरुङ गगन नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी भएका छन् ।
पुर्व सहमहामन्त्री बद्री पाण्डे, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, सरिता प्रसाईं र सञ्जय गौतमलगायत नेताहरू शेखरको निर्णयपछि पार्टी एकताको पक्षमा कसरी अघि बढ्ने भन्नेबारे छलफलमा रहेका छन् ।
यसअघि गगन थापाले केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका १९ जनामध्ये शेखर पक्षसँग निकट मानिएका जीवन परियार, सुजता कोइराला, दिलेन्द्रप्रसाद बडू, डा. चन्द्रकान्त भण्डारी, राजिव कोइराला, डा. गोविन्दराज पोखरेल र दिनेश कोइराला समेटिएका थिए । यससँगै १४औँ महाधिवेशनमा शेखर–गगन समीकरणमा रहेका नेताहरूको एउटा हिस्सा नयाँ संस्थागत संरचनामा पुगिसकेको छ ।
एउटै पार्टी, दुई कार्यतालिका
कांग्रेसमा अहिले मूल विवाद महाधिवेशनको मिति मात्र होइन, कुन प्रक्रियाबाट हुने महाधिवेशनलाई पार्टीको आधिकारिक महाधिवेशन मान्ने भन्ने प्रश्नमा केन्द्रित भएको छ ।
गगन नेतृत्वको पक्षले असोज १६-१९ गतेको महाधिवेशनलाई केन्द्रीय कार्यसमितिको निर्णय र निर्वाचन समितिको कार्यतालिकाअनुसार अघि बढाएको छ । निर्वाचन समितिले सर्वोच्च अदालतको फैसलासमेत उल्लेख गर्दै निर्धारत मितिमै महाधिवेशन सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको जनाएको छ ।
देउवा पक्षले भने आफ्नो छुट्टै संगठनात्मक संरचना निर्माण गरेर मंसिर २१–२३ गते महाधिवेशन गर्ने तयारी गरिरहेको छ । जिल्ला संयोजक र केन्द्रीय प्रतिनिधि परिचालन भइसकेपछि उसको समानान्तर प्रक्रिया पनि संगठनात्मक तहमा विस्तार भएको छ ।
यही अवस्थामा शेखर कोइराला दुवै प्रक्रियाबाट तत्काल बाहिर छन् । तर, उनी निकट नेताहरू भने एउटै ठाउँमा छैनन् । यसले १४औं महाधिवेशनमा एउटै समूहका रूपमा देखिएको शेखर पक्ष अहिले फरक–फरक राजनीतिक बाटोमा रहेको देखाएको छ ।
अब कांग्रेसको महाधिवेशन प्रक्रियामा असोजको मिति निर्णायक चरणमा प्रवेश गर्दै गर्दा शेखरको तटस्थता कति समय कायम रहन्छ र उनका निकट नेताहरू कुन प्रक्रियामा संगठित हुन्छन् भन्ने विषय पार्टीभित्रको आगामी समीकरणको महत्वपूर्ण पक्ष बनेको छ । तर, शेखरले रोक्न खोजेको विभाजन भने नरोकिएको राजनितिक विश्लेषक पर्शुराम घिमिरेको दाबी छ ।
अधिवक्ता समेत रहेका घिमिरे भन्छन्, ‘एकताका लागि शेखरले चप्काउन खोजेको गुँदले काम नगरेको सत्य हो ।’
उनका अनुसार अहिलेको कांग्रेसको संगठनात्मक तस्वीर तीन तहमा देखिएको छ । एउटा तह गगन पक्ष असोजको महाधिवेशनतर्फ अघि बढिरहेको छ । देउवा पक्ष मंसिरको समानान्तर महाधिवेशनका लागि जिल्ला तहमा संरचना बनाउँदैछ । शेखर कोइराला दुवै प्रक्रियाबीच तटस्थ रहँदै सहमतिको बाटो खोजिरहेका छन् ।