काठमाडौं । भारतको राजधानी दिल्लीका २६ वर्षीय एक पुरुषले विवाह भएको दुई वर्षसम्म पनि सन्तान नभएपछि चिकित्सकसँग परामर्श लिए । परीक्षणका क्रममा चिकित्सकहरूले उनको शरीरभित्र गर्भाशय र फलोपियन ट्युब रहेको पत्ता लगाए ।
यद्यपि उपचारमा संलग्न चिकित्सकका अनुसार बाहिरबाट हेर्दा उनको शरीर सामान्य पुरुषको जस्तै थियो र पुरुषमा देखिने सबै शारीरिक विशेषता विकसित भएका थिए । यसबाहेक यस्तो अवस्थाको संकेत गर्ने कुनै स्पष्ट लक्षण पनि थिएन ।
दिल्लीको एक निजी अस्पतालमा ती पुरुषको उपचार गरेका प्रमुख युरोलोजिस्ट डा. सुशील खरबन्दाका अनुसार बाँझोपनको परीक्षणका क्रममा गरिएको जाँचमा उनको शरीरभित्र गर्भाशय र फलोपियन ट्युब रहेको पत्ता लागेको हो ।
चिकित्सकहरूका अनुसार यो ‘पर्सिस्टेन्ट म्युलरियन डक्ट सिन्ड्रोम’ (पीएमडीएस) नामक अत्यन्त दुर्लभ जन्मजात अवस्था हो । अहिलेसम्म विश्वभर यसका ३०० भन्दा कम घटना अभिलेख गरिएको बताइन्छ ।
‘नेचर रिभ्यु युरोलोजी’मा प्रकाशित एक रिपोर्टअनुसार पीएमडीएस भएका व्यक्तिमा ४६ एक्सवाई क्रोमोजोम हुन्छन् र शरीर सामान्य रूपमा पुरुषकै रूपमा विकसित हुन्छ। तर म्युलरियन डक्टबाट बन्ने गर्भाशय र फलोपियन ट्युबजस्ता अंग भने शरीरभित्र रहन्छन् ।
जनवरी २०२६ मा ‘ग्लोबल जर्नल अफ सर्जरी एन्ड केस रिपोट्र्स’मा प्रकाशित एक रिपोर्टमा ४८ वर्षीय पुरुषमा बारम्बार पिसाब लाग्ने र वीर्यमा रगत देखिने समस्याको जाँच गर्दा सीटी स्क्यानमा गर्भाशयजस्तो संरचना भेटिएको उल्लेख छ ।
शल्यक्रियाका क्रममा प्रोस्टेटसँग जोडिएको उक्त दुई भाग भएको संरचना हटाइएको थियो । हिस्टोप्याथोलोजिकल परीक्षणमा उक्त संरचना गर्भाशयको तन्तु भएको पुष्टि भएको थियो । ती पुरुषको शारीरिक विकास भने सामान्य पुरुषकै जस्तो थियो ।
त्यस्तै, सन् २०१९ को एक रिपोर्टमा डेढ वर्षका एक बालकको शरीरमा गर्भाशय, फलोपियन ट्युब र अण्डाशयजस्ता संरचना भेटिएको उल्लेख छ ।आखिर पुरुषजस्तो शारीरिक विशेषता भएको व्यक्तिको शरीरभित्र गर्भाशय र फलोपियन ट्युब कसरी रहन सक्छ ? यो अवस्था किन हुन्छ र यसको पहिचान कसरी गरिन्छ ? यी प्रश्नको जवाफ जान्न उक्त बिरामीको उपचार गरेका डा. सुशील खरबन्दासँग गरिएको कुराकानीको सम्पादित अंश :
यस घटनामा के पाइएको थियो र चिकित्सकीय भाषामा यसलाई हामीले कसरी बुझ्ने ?
२६ वर्षीय ती पुरुषको दुई वर्षअघि विवाह भएको थियो । उनी पूर्ण रूपमा सक्रिय थिए र पुरुषमा विकसित हुने सबै दोस्रो चरणका यौन विशेषता उनीमा थिए । बाँझोपनको समस्या जाँच गर्ने क्रममा उनका दुवै अण्डकोष आफ्नो सामान्य स्थानमा नरहेको पाइयो ।
हर्मोन परीक्षणमा टेस्टोस्टेरोन, एफएसएच (फोलिकल स्टिमुलेटिङ हर्मोन) र एलएच (लुटिनाइजिङ हर्मोन) पनि सामान्य पाइएको थियो । यस्ता नतिजा क्रिप्टोर्किडिज्म अर्थात् अण्डकोष आफ्नो स्थानमा नझरेको अवस्था भएका बिरामीमा देखिन सक्छ ।
तर एमआरआई गर्दा निकै असामान्य अवस्था देखियो । परीक्षणमा गर्भाशय र फलोपियन ट्युब देखिए, जुन अण्डकोषसँग जोडिएका थिए । यी अंगहरू भित्रबाट पूर्ण रूपमा विकसित थिए र सामान्यतया महिलाको शरीरमा हुने अंगजस्तै देखिन्थे ।
पुरुषको शरीरमा गर्भाशय र फलोपियन ट्युब कसरी रहन सक्छन् ? के यो जन्मजात अवस्था हो ?
बच्चा आमाको गर्भमा हुँदा उसको लिङ्गको विकास क्रोमोजोम र हर्मोनको प्रभावबाट हुन्छ । सामान्यतया पुरुषमा ४६ एक्सवाई र महिलामा ४६ एक्सएक्स क्रोमोजोम हुन्छन् । यस क्रममा शरीरले एन्टिम्युलरियन हर्मोन (एएमएच) उत्पादन गर्छ । यो हर्मोनले सामान्यतया पुरुष शरीरमा विकास नहुने आन्तरिक प्रजनन अंगको विकास रोक्छ ।
४६ एक्सवाई क्रोमोजोम भएका व्यक्तिको विकास पुरुषका रूपमा हुन्छ र उनको शरीरमा एएमएच उत्पादन हुन्छ । एएमएचले गर्भाशय र फलोपियन ट्युबजस्ता अंगको विकास रोक्छ ।
तर पीएमडीएसमा या त यो हर्मोन हुँदैन वा यसको रिसेप्टरमा समस्या हुन्छ । त्यसैले गर्भाशय र फलोपियन ट्युबजस्ता संरचना शरीरभित्र रहिरहन्छन् ।
यसका कारण आन्तरिक अंगको संरचना फरक हुन्छ । यद्यपि बाहिरी शारीरिक संरचना भने पुरुषकै जस्तो हुन्छ । लिङ्ग र पुरुषका अन्य शारीरिक विशेषता सामान्य रूपमा विकसित हुन्छन् ।
के ती पुरुषमा अण्डकोषसँगै अण्डाशय पनि थिए ?
ती पुरुषको शरीरमा दुवैतर्फ गर्भाशय र फलोपियन ट्युब थिए, तर अण्डाशय थिएनन् । अण्डाशय हुने स्थानमा उनका अण्डकोष थिए । गोनाड्स भनिने यी अंग पुरुष र महिलामा फरक हुन्छन् । ती बिरामीका दुवै गोनाड्स अण्डकोष नै थिए, अण्डाशय थिएनन् ।
यसअघि गरिएको स्क्यान वा मेडिकल परीक्षणबाट यो अवस्था पत्ता लाग्न सक्दैनथ्यो ?
बिरामी हामीकहाँ आउँदा उनका दुवै अण्डकोष आफ्नो सामान्य स्थानमा थिएनन् । त्यसैले हर्मोन परीक्षणसँगै वीर्यको पनि परीक्षण गरियो । वीर्यमा एजुस्पर्मिया अर्थात् शुक्रकीटको संख्या शून्य पाइएको थियो । त्यसपछि एमआरआई गरियो । त्यसमा गर्भाशय, फलोपियन ट्युब र ती अंगसँग जोडिएका अण्डकोष देखिए ।
त्यसपछि क्रोमोजोम परीक्षण गरियो, जसमा ४६ एक्सवाई क्रोमोजोम पाइएको थियो । एमआरआई र क्रोमोजोम परीक्षण नै यो अवस्थाको पुष्टि गर्ने मुख्य परीक्षण थिए । यस्तो अवस्था सामान्यतया २६ वर्षको उमेरसम्म पनि थाहा नहुने होइन । समयमै स्क्यान गरिएको भए यसबारे पहिले नै थाहा पाउन सकिन्थ्यो ।
ती बिरामीले सुरुमा आफ्ना दुवै अण्डकोष सामान्य स्थानमा नरहेको कुरालाई ध्यान दिएका थिएनन् ।
यो अवस्थाका कुनै विशेष लक्षण हुन्छन् ?
सामान्यतया यस अवस्थामा दुखाइ, बान्ता वा ज्वरोजस्ता विशेष लक्षण हुँदैनन् । अण्डकोष आफ्नो सामान्य स्थानमा नरहनु भने यसको एउटा संकेत हुन सक्छ ।
बिरामीले कस्ता मनोवैज्ञानिक चुनौती वा जीवनमा कस्ता परिवर्तन सामना गर्नुपर्यो ?
२६ वर्षीय ती पुरुषले आफ्नो शरीरभित्र महिला प्रजनन अंगसँग सम्बन्धित संरचना रहेको थाहा पाएपछि स्वाभाविक रूपमा चिन्ता र तनाव महसुस गरेका थिए । उनी आफ्नो भविष्यलाई लिएर पनि चिन्तित थिए ।
हामीले लामो समयसम्म उनको परामर्श गर्यौं र यो दुर्लभ चिकित्सकीय अवस्था भएको बुझायौं । यो दुर्लभ अवस्था भए पनि यसकै कारण उनको जीवनमा ठूलो परिवर्तन आउनुपर्छ भन्ने होइन ।
यी अंग हटाउनु आवश्यक थियो, किनकि यसमा क्यान्सरको जोखिम हुन सक्छ । अहिले ती अंग हटाइसकेपछि उनी सामान्य रूपमा जीवन बिताउन सक्छन् ।
यस्ता अवस्थामा शल्यक्रिया वा उपचार सधैँ आवश्यक हुन्छ ?
यस बिरामीको हकमा शल्यक्रिया आवश्यक थियो । गर्भाशय र फलोपियन ट्युब अविकसित थिए र शरीरमा तिनको कुनै उपयोग थिएन ।
शल्यक्रियापछि गरिएको बायोप्सीमा एउटा अण्डकोषमा क्यान्सर हुनुअघिको अवस्था पनि देखियो । त्यसैले ती अंग हटाउनु आवश्यक थियो र शल्यक्रिया उपचारकै एउटा हिस्सा बन्यो ।
शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा कस्तो असर परेको छ र आगामी दिनमा के असर पर्छ ?
बिरामी शल्यक्रिया गरेको सात दिनपछि नै काममा फर्किए । अण्डकोषले टेस्टोस्टेरोन उत्पादन गर्ने भएकाले ती हटाएपछि उनको शरीरमा टेस्टोस्टेरोन उत्पादन हुँदैन । त्यसैले अब उनले प्रत्येक तीन महिनामा टेस्टोस्टेरोनको इन्जेक्सन लगाउनुपर्नेछ ।
यसका अतिरिक्त उनको यौन वा सामाजिक जीवनमा ठूलो परिवर्तन आवश्यक पर्दैन । हामीले शल्यक्रिया ल्याप्रोस्कोपिक प्रविधिबाट गरेका थियौं । अर्थात् टेलिस्कोपको सहयोगमा शल्यक्रिया गरिएको थियो । यसबाट ठूलो चिरा लगाउनुपरेन र उनी छिट्टै काममा फर्कन सके ।
यस्ता अवस्थाबारे मानिसमा कस्ता गलत धारणा छन् ?
यो घटना सार्वजनिक भएपछि बिरामी गर्भवती हुन सक्थे कि सक्दैनथे, उनलाई महिनावारी हुन्थ्यो कि हुँदैनथ्यो वा बाहिरबाट महिला जस्तो देखिन्थे कि भन्ने प्रश्न पनि उठेका छन् ।
यीमध्ये कुनै पनि कुरा सही होइनन् । उनको शरीरमा गर्भाशय र फलोपियन ट्युब थिए, तर ती अविकसित थिए र गर्भधारण सम्भव थिएन । उनको शरीरमा महिलामा हुनेजस्तो हर्मोनल अवस्था पनि थिएन ।
यस घटनाबाट चिकित्सकीय क्षेत्रले सिक्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?
शरीरमा देखिने कुनै पनि असामान्य अवस्थालाई बेवास्ता गर्नु हुँदैन र त्यसलाई लिएर लज्जित पनि हुनु हुँदैन । यस्तो अवस्था देखिएमा समयमै योग्य चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । नवजात शिशुमा कुनै असामान्य संरचना वा कुनै अंगको कमी देखिएमा तत्काल चिकित्सकीय परामर्श लिनुपर्छ । समयमै पहिचान गर्न सकेमा यस्तो अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत पुग्छ । (बीबीसीबाट अनुदित तथा सम्पादित)