काठमाडौं । एफवानसफ्ट ग्रुपले बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड ३५ लाख सहयोग प्रदान गरेको छ ।
ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, ईसेवा मनि ट्रान्स्फर र कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम कोषमा जम्मा गरिएको हो ।
संकटको यस कठिन घडीमा बाढीप्रभावितहरूसँगै उभिने र राहत कार्यमा थप मद्दत पुर्याउने उद्देश्यले यो योगदान गरिएको कम्पनीले जनाएको छ ।
यसका साथै, एफवानसफ्ट ग्रुपले आफ्ना डिजिटल प्लेटफर्महरू फोनपे र इसेवामार्फत व्यक्तिगत रूपमा राहत कोषमा योगदान पुर्याउने सम्पूर्ण प्रयोगकर्ताहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
हालसम्म इसेवाका १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख र फोनपेका ८ लाख ६२ हजार ४४५ जना प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरिसकेका छन् ।
फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदानसमेत समावेश छ । जसअन्तर्गत भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रकम सहयोग गरेका हुन् ।
संस्थाले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै यस कठिन समयबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ ।
साथै, प्रभावित क्षेत्रहरूमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति एफवानसफ्ट ग्रुपले उच्च सम्मानका साथ आभार प्रकट गरेको छ ।