काठमाडौं । नेपालमा बसेर वैदेशिक सेवामा संलग्न फ्रिल्यान्सर र डिजिटल उद्यमीहरूका लागि भुक्तानी संकलनको पुरानो झन्झट अन्त्य भएको छ ।
खल्ती बाइ आइएमईले आइएमई लिमिटेड र विश्वप्रसिद्ध भुक्तानी गेटवे स्ट्राइपसँग साझेदारी गर्दै अन्तर्राष्ट्रिय भुक्तानी सोझै मोबाइल वालेटमा प्राप्त गर्न सकिने नयाँ व्यवस्था सुरु गरेको छ ।
यस रणनीतिक साझेदारीसँगै अब नेपाली प्रयोगकर्ताले विदेशबाट हुने भुक्तानी सुरक्षित, भरपर्दो र रियल-टाइम (तत्काल) प्राप्त गर्न सक्नेछन् । यसअघि विदेशबाट पैसा आउन हप्तौं कुर्नुपर्ने समस्यालाई यसले पूर्ण रूपमा समाधान गरेको कम्पनीको दाबी छ ।
भुक्तानी प्राप्त गर्न प्रयोगकर्ताले खल्ती एपभित्रै गएर भुक्तानी अनुरोध पठाउनु पर्नेछ । भुक्तानी गर्ने विदेशी कम्पनी वा व्यक्तिले स्ट्राइप गेटवेमार्फत एसीएच र सेपा भिजा, मास्टरकार्ड एप्पल पे र गुगल पे तथा ई-बैंकिङ माध्यमबाट रकम पठाउन सक्नेछन् । यसरी पठाइएको रकम प्रयोगकर्ताको खल्ती वालेटमा तुरुन्तै जम्मा हुनेछ ।
नेपालको डिजिटल जनशक्तिले लामो समयदेखि अन्तर्राष्ट्रिय भुक्तानी संकलनमा भोग्दै आएको अवरोध हटाउन यो पहलले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
खल्ती बाइ आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यसलाई नेपालको फिनटेक क्षेत्रको महत्त्वपूर्ण माइलस्टोनको रूपमा उल्लेख गरे ।
'यो साझेदारीले नेपाली डिजिटल ट्यालेन्टहरूका लागि विश्वव्यापी रूपमा कमाउने र सो रकम तत्काल प्राप्त गर्ने ढोका खोलेको छ', रेग्मीले भने, 'स्वदेशी डिजिटल वालेटले परिष्कृत र एकीकृत अन्तरदेशीय कारोबारमा सहजता प्रदान गर्दा नेपालको डिजिटल अर्थतन्त्र विस्तारमा ठूलो योगदान पुग्नेछ ।'
यो भुक्तानी संरचना नियामकको मापदण्ड बमोजिम सुरक्षित र भरपर्दो बनाइएको कम्पनीले जनाएको छ ।