विपदमा बीमाको साथ : करोडौंको सहयोगदेखि प्रभावित क्षेत्रमा राहतसम्म

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको आकस्मिक बाढीले ठूलो धनजनको क्षति पुर्याएको छ । विपदबाट प्रभावितको उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायदेखि सरकारी निकाय, विभिन्न संघसंस्था तथा निजी क्षेत्रले सहयोगको हात बढाइरहेका छन् ।

विपद्को यो कठिन घडीमा नेपालका बीमा कम्पनीहरू पनि एकजुट भएर अघि बढेका छन् । यो परिस्थितिमा कम्पनीहरूले केवल दाबी भुक्तानीको व्यावसायिक दायित्वमा मात्र सीमित नरही प्रभावितको उद्धार तथा राहतका लागि सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेका छन् ।

कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नुका साथै प्रत्यक्ष मानवीय सेवामा समेत सक्रियता देखाएका छन् । कम्पनीका कर्मचारी तथा स्थानीय शाखामार्फत प्रभावित क्षेत्रमै पुगेर उनीहरू प्रत्यक्ष राहत वितरणमा जुटेका छन् ।

नेपाल लाइफको २ करोड ५१ लाख सहयोग

नेपाल लाइफ इन्स्योरेन्सले बाढी प्रभावित परिवारको उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सेवाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा उक्त रकमले थप योगदान पुग्ने कम्पनीले जनाएको छ । सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै कम्पनीले विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

सिटिजन्स लाइफको १ करोड ५१ लाख सहयोग

सिटिजन लाइफ इन्स्योरेन्सले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहतमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । 

विपद्को यस घडीमा कर्पोरेट सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिँदै सहयोग गरिएको कम्पनीको भनाइ छ । उक्त सहयोगले पीडित परिवारको राहत तथा पुनःस्थापनामा थप टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ ।

नेशनल लाइफको डेढ करोड सहयोग

नेशनल लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड ५१ लाख रूपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग उपलब्ध गराएको जनाएको छ ।

नेशनल लाइफले पनि यो सहयोगले पीडित परिवारको राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । 

एशियन लाइफको १ करोड सहयोग

बाढीका कारण प्रभावितहरूको राहत तथा उद्धार कार्यका लागि एशियन लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड १ लाख रूपैयाँ सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री विपद राहत कोषमा या रकम सहयोग गरेको हो ।

सूर्यज्योति लाइफको १ करोड सहयोग

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बाढीपीडितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भन्दै सो रकम सहयोग गर्ने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको हो ।

कम्पनीले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा आर्थिक तथा विविध प्रकारको सहयोग गर्दै आइरहेको छ । 

विपद्को यस कठिन घडीमा सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको कम्पनीको भनाइ छ ।

आईएमई लाइफको १ करोड सहयोग

त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीले पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकमको सहयोग गर्ने घोषणा गरेको हो । 

कम्पनीले स्थापनाकालदेखि नै राष्ट्रमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीको घडीमा अग्रपंक्तिमा रहेर सहयोग हस्तान्तरण गर्दै आइरहेको छ जनाएको छ ।

हालको विषम परिस्थितिमा कम्पनीको तर्फबाट उपलब्ध गराइने यो आर्थिक सहयोगले बाढी प्रभावितहरूको खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार तथा पुनःस्थापना कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सानिमा रिलायन्सको ७२ लाख सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बाढीबाट प्रभावित व्यक्तिलाई राहत होस भन्ने उद्देश्यले ७२ लाख सहयोग गर्ने प्रतिबद्धता  जनाएको छ । ५१ लाख सञ्चालक समिति र कर्मचारीबाट  २१ लाख गरी जम्मा ७२ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

सन नेपाल ६० लाख सहयोग 

सन नेपाल लाइफ इन्स्योरेन्सले बाढीबाट प्रभावितहरूलाई उद्धार राहत र पुनःस्थापनामा सहयोग पुर्याउन ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपदको सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुनःस्थापनाको कामका थप टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रभु महालक्ष्मीको ५१  लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफले एकाउन्न लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

विपदबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो ।

रिलायबल नेपालको ५१ लाख सहयोग

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बाढीबाट प्रभावित व्यक्तिलाई राहत होस भन्ने उद्देश्यले सहयोग गरेको छ । कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  ५१ लाख रुपैयाँ सहयोग गरेको हो ।

मेट लाइफको ३० लाख रुपैयाँ सहयोग

मेटलाइफ नेपालले बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  ३० लाख योगदान गरेको छ ।

सामूहिक प्रयासबाट प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउँदै राहत तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने कम्पनीले विश्वास लिएको छ ।

नेपाल इन्स्योरेन्सको ५० लाख सहयोग 

नेपाल इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । अकल्पनीय बाढीका कारण भएको जनधनको अपुरणीय क्षतिमा राहत स्वरूप कम्पनीले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सहयोग गरेको जनाएको छ ।

नेपाल रिको एक करोड सहयोग

पुनर्बीमा कम्पनी नेपाल रिले एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।  बाढीका कारण प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले  सो रकम सहयोग गरेको कम्पनीले जनाएको छ ।

राहत वितरण तथा सामाजिक कार्यमा पनि जुट्दै

आर्थिक सहयोगसँगै कम्पनीका कर्मचारी तथा स्थानीय शाखाहरूले प्रभावित क्षेत्रमै पुगेर प्रत्यक्ष राहत वितरण गरिरहेका छन् । हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारीहरूले बाढीबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् ।

कम्पनीका कर्मचारीहरूले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, विपद्का बेला अस्पतालहरूमा हुने रगतको अभावलाई मध्यनजर गर्दै हिमालयन लाइफ कर्मचारी संगठनको पहलमा विशेष रक्तदान कार्यक्रम समेत गरेका छन् ।

त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मन्थली शाखाले प्रभावित क्षेत्रमा सरसफाइ र महामारी फैलिन नदिन ४० थान डस्टबिन वितरण गरी वातावरणीय स्वास्थ्यमा सहयोग पुर्याएको छ ।

कम्पनीको नवौं स्थापना दिवसको अवसर पारेर मन्थली शाखाले मन्थलीमा बजार सरसफाइ गरी डस्टबिन वितरण गरेको छ ।

Share News