बाढीपीडितको राहतका लागि सिद्धार्थ प्रिमियरले दियो १ करोड १ लाख

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो ।

कम्पनीका सञ्चालक हसना शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

कम्पनीले यसअघि पनि विभिन्न विपद् तथा राष्ट्रिय महत्वका घटनामा सहयोग गर्दै आएको जनाएको छ । २०८१ सालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि कम्पनीले ५१ लाख रुपैयाँ सहयोग गरेको थियो ।

त्यस्तै, जेन्जी आन्दोलनका क्रममा क्षति भएका राष्ट्रिय सम्पदाको पुनर्निर्माणका लागि पनि कम्पनीले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको थियो ।

कम्पनीले विपद् तथा विभिन्न घटनाबाट क्षति भएका सम्पत्तिको बीमा दाबीसमेत समयमै फर्छ्योट गर्दै आएको जनाएको छ । दाबी प्रक्रियालाई छिटो टुंग्याएर बीमितलाई दाबी भुक्तानी गरिएको कम्पनीको भनाइ छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग जारी राख्ने जनाएको छ ।

Share News