काठमाडाैं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बीमितलाई बीमा कम्पनीहरूले अग्रिम दाबी भुक्तानी गर्ने भएका छन् ।
बाढीबाट प्रभावित बीमितलाइ राहत पुर्याउन क्षतिको पूर्ण मूल्याङ्कनअघि नै अग्रिम दाबी भुक्तानी दिने निर्णय गरेका हुन् । जलविद्युत् आयोजना तथा ठूला भौतिक पूर्वाधारमा भएको क्षतिको पूर्ण मूल्याङ्कन गर्न लामो समय लाग्ने भएकाले प्रभावितको नगद प्रवाह सहज बनाउन र पुनर्निर्माणको काम तत्काल अघि बढाउन अग्रिम भुक्तानी दिने सहमति भएको बीमा कम्पनीहरूले जनाएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलपछि बीमा दाबी प्रक्रियालाई सरल बनाउँदै अग्रिम भुक्तानी दिने निष्कर्ष निकालिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सर्भेयरहरूको परिचालनलाई पारदर्शी र निष्पक्ष बनाउन स्वचालित प्रणाली अपनाइने तथा आवश्यकताअनुसार विदेशी विज्ञ सर्भेयरहरूको समेत सेवा लिइनेछ ।
बीमा दाबीहरूको दैनिक अनुगमन, कम्पनीहरूको तरलता व्यवस्थापन र पुनर्बीमा शोधभर्नालाई तीव्र बनाउन नेपाल बीमा प्राधिकरणभित्रै एक विशेष कार्यदलसमेत गठन गरिएको छ ।