काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहटा र प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले संयुक्त रूपमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, सुरक्षा निकाय र विभिन्न संघसंस्थाले गरिरहेको प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले सहयोग गरेको जनाएको छ ।
कम्पनीका अनुसार उक्त सहयोगले बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न तथा उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग पुग्ने विश्वास लिएको छ ।
सूर्यज्योति लाइफले विगतमा पनि राष्ट्रिय आवश्यकता परेका विभिन्न विपद् तथा कठिन परिस्थितिमा आर्थिक तथा अन्य सहयोग गर्दै आएको जनाएको छ ।
विपद्को कठिन समयमा प्रभावित परिवारको राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको कम्पनीले जनाएको छ । आगामी दिनमा पनि राष्ट्रलाई आवश्यकता परेको अवस्थामा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सहकार्यलाई निरन्तरता दिने कम्पनीको प्रतिबद्धता छ ।
कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
त्यस्तै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।