काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रगती प्रतिवेदन आर्थिक मामिला तथा योजनामा पेश गरिएको छ ।
प्रदेश कार्यालयले गरेका प्रमुख कार्यक्रम, गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन कोशी प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेप समक्ष पेश गरेको छ ।
बीमा प्रधिकरण कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनले बीमा प्राधिकरणले गरेको प्रगती विवरणको अवस्था समेटिएको बार्षिक विवरण माननीय मन्त्रीसमक्ष पेश गरेका हुन् ।
प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा कार्यालयबाट सञ्चालन गरिएका बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम, विभिन्न सरोकारवालासँगको अन्तरक्रिया, बीमाको पहुँच विस्तार तथा बीमा क्षेत्रको विकासका लागि गरिएका विभिन्न पहललगायतका प्रमुख गतिविधिहरू समेटिएका छन् ।
प्रतिवेदन पेश गर्ने क्रममा कोशी प्रदेशमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमाको पहुँच विस्तार तथा आम नागरिकमा बीमाको महत्व र आवश्यकताबारे थप सचेतना अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
आगामी दिनमा प्रदेश सरकार र नेपाल बीमा प्राधिकरणबीच समन्वय तथा सहकार्य गरी आम नागरिकलाई लक्षित बीमा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने विषयमा समेत छलफल भएको थियो ।
प्रदेशका ग्रामीण तथा बीमाको पहुँच न्यून रहेका क्षेत्रसम्म बीमा सम्बन्धी सूचना तथा सेवाको पहुँच विस्तार गर्ने, नागरिकलाई बीमाप्रति थप जागरूक बनाउने तथा बीमा सम्बन्धी समस्या र गुनासोको प्रभावकारी सम्बोधनका लागि सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने विषयमा समेत जोड दिइएको थियो ।
सो भेटघाटले कोशी प्रदेशमा बीमाको पहुँच तथा प्रभावकारिता अभिवृद्धि गर्दै आम नागरिकलाई बीमाको दायरामा ल्याउन प्रदेश सरकार र नेपाल बीमा प्राधिकरणबीच आगामी दिनमा थप सहकार्य र समन्वय गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।