गर्भवतीलाई स्वास्थ्य शिक्षा, आमाका लागि स्तनपान कक्ष

काठमाडौं । काठमाडौं महानगरपालिका–१९ स्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको हलमा नौ महिनाको गर्भ बोकेर आइपुगेकी सरस्वती थापाको मुहारमा उत्साह र खुसी झल्किन्थ्यो । काभ्रे स्थायी घर भई हाल डल्लुमा बस्दै आएकी थापा बिहीबार आयोजित मातृ स्वास्थ्य प्रवर्द्धन शिविरमा सहभागी हुन पुगेकी थिइन् ।

नियमित फलोअपका लागि स्वास्थ्य केन्द्र जाँदा सामान्य परामर्श मात्रै पाउने गरेकी उनले शिविरबाट गर्भावस्थामा अपनाउनुपर्ने सावधानी, हेरचाह र सम्भावित जोखिमबारे थप जानकारी पाउने अवसर पाइन् । 

नियमित जाँचका क्रममा थाहा नपाएका र बुझ्न नसकेका विषयमा समेत जानकारी पाउँदा उनी निकै खुसी देखिन्थिन् । 

‘कार्यक्रम मलाई एकदमै राम्रो लाग्यो । नबुझेका र थाहा नभएका धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनले खुसी हुँदै भनिन् ।

शिविरमा सहभागी अर्की गर्भवती रूपा कुँवरको मुहारमा पनि उत्तिकै खुसी र उत्साह झल्किन्थ्यो । चार महिनाको गर्भ बोकेर शिविरमा पुगेकी रूपाका लागि आफ्नै बसोबास रहेको वडामा आयोजित एकदिने स्वास्थ्य शिविर निकै उपयोगी बन्यो । 

शिविरले उनलाई सामान्य स्वास्थ्य जाँचमा मात्र सीमित नराखी गर्भावस्थामा अपनाउनुपर्ने सावधानी, उचित खानपान र योगाभ्यासका व्यावहारिक पक्षबारे समेत जानकारी दियो । 

‘शिविर एकदमै राम्रो लाग्यो, नजानेका र नबुझेका धेरै कुरा सिक्न पाइयो,’ रूपाले खुसी हुँदै भनिन् ।

सरस्वती र रूपाजस्तै शिविरमा सहभागी १५ जना गर्भवती महिलाकै मुहारमा खुसी र उत्साह देखिन्थ्यो । शिविरको विशेषता गर्भवती महिलाको सहभागितामा मात्र सीमित थिएन । उनीहरूसँगै श्रीमान्, सासू र ससुरासमेत सहभागी भएका थिए । यसले मातृ स्वास्थ्य र गर्भावस्थाको हेरचाह महिलाको मात्र जिम्मेवारी नभई परिवारकै साझा दायित्व हो भन्ने सन्देशसमेत दिएको थियो । 

त्यस्तै, कार्यक्रममा महिला स्वास्थ्य स्वंयमसेविकाहरूको उपस्थित थियो ।

null

स्वयंसेवक नानीमाया श्रेष्ठका अनुसार विगतको तुलनामा अहिले महिलाहरू स्वास्थ्य संस्था जानुपर्छ भन्ने विषयमा धेरै सचेत भइसकेका छन् । ‘दिदीबहिनीहरू आफै सजग भएर स्वास्थ्य जाँच गराउन आउनुहुन्छ, हाम्रो प्रयास पनि निरन्तर छ,’ उनले भनिन् ।

यो कार्यक्रम आमा सुरक्षा नेपालको आयोजनामा तथा नेको इन्स्योरेन्सको सहकार्यमा सम्पन्न भएको हो । शिविरमा सहभागीलाई गर्भावस्थामा अपनाउनुपर्ने स्वास्थ्य सावधानी, पोषण, मानसिक स्वास्थ्य, सुरक्षित शारीरिक गतिविधि तथा गर्भावस्थाका जोखिमका संकेतबारे जानकारी र परामर्श प्रदान गरिएको थियो । 

कार्यक्रममा निकिता संग्रौलाले गर्भावस्थामा सुरक्षित रूपमा गर्न सकिने योग तथा शारीरिक अभ्यासबारे जानकारी दिएकी थिइन् । उनले गर्भावस्थामा परिवारको सहयोगको महत्त्वबारे समेत प्रकाश पारेकी थिइन् । 

त्यस्तै, डा. सुष्मा ढकालले मातृ मानसिक स्वास्थ्य, पोषण तथा गर्भावस्थाका जोखिमका संकेतसम्बन्धी प्राविधिक सत्र सञ्चालन गरेकी थिइन् । उनले गर्भावस्थाका क्रममा देखिने असामान्य लक्षण समयमै पहिचान गरी स्वास्थ्य संस्थाबाट आवश्यक सेवा लिनुपर्नेमा जोड दिएकी थिइन् ।

null

शिविरमा सहभागी गर्भवती महिलाले स्त्रीरोग विशेषज्ञबाट व्यक्तिगत स्वास्थ्य परामर्श तथा भ्रूणका मुटुको धड्कन परीक्षण सेवा प्राप्त गरेका थिए । उनीहरूलाई गर्भावस्थामा आवश्यक सामग्रीसहितको मातृत्व किट र मातृत्व पहिचान ब्याजसमेत वितरण गरिएको थियो ।

केन्द्रभित्रै स्तनपान र डाइपर चेञ्जिङ कक्ष

सहरी क्षेत्रमा बसोबास गर्ने निम्न तथा मध्यमवर्गीय परिवारलाई लक्षित गरी आयोजना गरिएको शिविरसँगै स्वास्थ्य केन्द्रमा स्तनपान कक्ष र डाइपर चेन्जिङ रुमसमेत निर्माण गरिएको छ । 

ठूला र महँगा निजी अस्पतालमा यस्ता सुविधा उपलब्ध भए पनि सर्वसाधारणको पहुँचमा रहेका सरकारी स्वास्थ्य केन्द्रमा भने ठाउँको अभाव र भीडभाडका कारण महिलाहरूले स्तनपान गराउन तथा शिशुको डाइपर परिवर्तन गर्न असहजता भोग्दै आएका छन् ।

यही समस्यालाई मध्यनजर गर्दै नेको इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौं महानगरपालिकाको समन्वयमा केन्द्रको भवनमा स्तनपान कक्ष र डाइपर चेन्जिङ रुम निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।

null

नेको इन्स्योरेन्सका ब्रान्च कोअर्डिनेसन डिपार्टमेन्ट हेड दीपकराज ओझाले बीमा प्राधिकरणको निर्देशिकालाई आत्मसात गर्दै समाजमा प्रत्यक्ष र दीर्घकालीन प्रभाव पार्ने क्षेत्र छनोट गरी सहयोग गरिएको बताए । 

‘फेन्सी र महँगा अस्पतालका सुविधा उच्च वर्गका मानिसले उपभोग गर्न सक्छन्, तर, स्वास्थ्य केन्द्रमा आउने निम्न तथा मध्यमवर्गीय आमाहरू त्यस्ता सुविधाबाट वञ्चित भएको पाइयो,’ ओझाले भने ।

संस्थाले सीएसआरअन्तर्गतको रकम औपचारिकता पूरा गर्न मात्र खर्च नगरी त्यसको वास्तविक प्रभाव समाजमा देखियोस् भन्ने उद्देश्यले सानो भए पनि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गरेको उनले बताए ।

ओझाका अनुसार आगामी दिनमा विद्यालयमा समेत स्वास्थ्य तथा सामाजिक सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना कम्पनीको छ । 

‘गर्भवती महिलालाई परिवार र सार्वजनिक स्थानमा कस्तो व्यवहार गर्ने, उनीहरूलाई कसरी सहयोग र सम्मान गर्ने भन्ने विषयमा पनि सचेतना फैलाउने योजना छ,’ उनले भने । 

संस्थाले सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको र सोही क्रममा काठमाडौंमा स्वास्थ्य केन्द्रको आवश्यकता पहिचान गरी यो परियोजना छनोट गरिएको पनि उनको भनाइ छ ।

‘हामीले खर्च गरेको रकमले समाजमा दीर्घकालीन छाप छोडोस् भन्ने चाहन्छौं,’ ओझा थप्छन्, ‘एकपटक निर्माण गरेपछि वर्षौंसम्म सर्वसाधारणले उपयोग गर्न पाउने पूर्वाधारमा सहयोग गर्नु उपयुक्त लाग्यो ।’

null

उनका अनुसार परियोजना छनोट गर्दा त्यसको आवश्यकता र प्रत्यक्ष लाभग्राहीलाई विशेष ध्यान दिइएको थियो । केवल देखिने वा प्रचार हुने ठाउँमा लगानी गर्नुभन्दा वास्तविक आवश्यकता भएको स्थानमा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य केन्द्र छनोट गरिएको उनले थप स्पष्ट पारे ।

आमा सुरक्षा नेपालका कार्यक्रम संयोजक प्रेमबहादुर कार्कीका अनुसार संस्थाले विशेषगरी गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

शारीरिक तथा मानसिक स्वास्थ्यका दृष्टिले जोखिममा रहेका महिलालाई सहयोग गर्ने, स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने र आवश्यकताअनुसार डाइपर चेन्जिङ स्टेसन तथा अन्य साना पूर्वाधार निर्माण गर्ने काम पनि संस्थाले गर्दै आएको उनले बताए ।

‘हेर्दा सानो देखिए पनि यस्ता पूर्वाधारको महत्त्व ठूलो हुन्छ, यसले गर्भवती महिला र आमाहरूलाई दैनिक जीवनमा सहजता प्रदान गर्छ,’ उनले भने ।

null

कार्कीका अनुसार संस्थाले सुरुमा ललितपुरको लेलेबाट यस्ता कार्यक्रम सञ्चालन गरेको थियो । त्यसपछि काठमाडौं महानगरपालिकाका विभिन्न वडामा पनि कार्यक्रम सञ्चालन भइसकेको छ । यी कार्यक्रमको मुख्य उद्देश्य आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउनु रहेको उनले बताए ।

संस्थाले सीमित स्रोत साधनका बाबजुद विभिन्न दातृ निकाय, स्थानीय तह र निजी क्षेत्रसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिरहेको छ । 

कार्कीले भने, ‘नेको इन्स्योरेन्स, नगरपालिका तथा विदेशी दातृ निकायको सहयोग र आमा सुरक्षा नेपालको प्राविधिक सहकार्यमा यस्ता कार्यक्रम अघि बढाउँदै आएका छौं ।’

कार्कीका अनुसार संस्थाले स्वास्थ्य पूर्वाधार निर्माणसँगै गर्भवती महिलाले सार्वजनिक जीवनमा भोग्नुपर्ने असहजता र विभेदलाई पनि आफ्नो अभियानको विषय बनाएको छ । 

विशेषगरी सार्वजनिक यातायातमा गर्भवती महिलालाई प्राथमिकता नदिने प्रवृत्तिलाई परिवर्तन गर्न सचेतना अभियान सञ्चालन गर्दै आएको छ ।

‘सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक र बालबालिकाका लागि सिटको व्यवस्था भए पनि गर्भवती महिलाका लागि हुँदैछ,’ उनले भने, ‘गर्भवती महिलाले बसमा उभिएर यात्रा गर्नुपर्ने र बलिया यात्रुले सिट नछाड्ने अवस्था छ ।’

गर्भावस्थामा लामो समय उभिएर यात्रा गर्दा महिलाले शारीरिक कष्ट भोग्नुपर्ने भएकाले सार्वजनिक यातायातमा गर्भवती महिलालाई प्राथमिकता दिनुपर्ने कार्कीको भनाइ छ । 

यसका लागि सार्वजनिक सवारीसाधनमा गर्भवतीका लागि प्राथमिकता सिटको व्यवस्था गर्नुपर्ने सन्देशसहित सचेतनामूलक स्टिकर टाँस्ने तथा यात्रुहरूलाई व्यवहार परिवर्तनका लागि प्रेरित गर्ने कामलाई संस्थाले अघि बढाएको उनले बताए ।

त्यस्तै, संस्थाले सार्वजनिक यातायातमा सहज होस् भनेर मातृत्व पहिचान ब्याजसमेत वितरण गर्ने गरेको छ । बिहीबार आयोजित शिविरमा पनि संस्थाले सहभागी गर्भवती महिलाहरूलाई ब्याज प्रदान गरेको थियो । 

Share News