नेपाल लाइफका सीईओ प्रवीण रमण पराजुलीले सम्हाले पदभार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले पदभार ग्रहण गरेका छन् । कम्पनी सञ्चालक समितिको ४७औँ बैठकको निर्णयअनुसार पराजुलीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो । नवनियुक्त सीईओ पराजुलीले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका हुन् ।
धौलागिरी लघुवित्तको डीसीईओमा मिनप्रसाद जोशी नियुक्त
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले मिनप्रसाद जोशीलाई नायब प्रमुख कार्यकारी अधिकृत पद (डीसीईओ)मा नियुक्त गर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार बसेको ५६औँ बैठकले जोशीलाई डीसीईओमा स्थायी नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाका अनुसार जोशीको नियुक्ति भदौ १ गतेदेखि लागू हुनेछ । बैठकको निर्णय अनुसार जोशीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत हेमराज जोशीले उक्त जानकारी दिएका हुन् ।
गरिमा समृद्धि योजनाको एक्टिङ सीईओमा अशोक सुवेदी नियुक्त
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले गरिमा समृद्धि योजना (जीएसवाई) को प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको ९४औँ बैठकले अशोक सुवेदीलाई एक्टिङ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईसँग भएको सेवा सम्झौता साउन मसान्तमा समाप्त हुने भएकाले त्यसको नवीकरण नगर्ने निर्णय भएको कम्पनीले जनाएको छ । कम्पनीको निरन्तर व्यवस्थापन तथा दैनिक कारोबार सञ्चालन कायम राख्न सुवेदीलाई एक्टिङ सीईओको जिम्मेवारी दिइएको हो । सुवेदी यसअघि कम्पनीमा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनलाई भदौ १ गतेदेखि लागू हुने गरी एक्टिङ सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । गरिमा क्यापिटल गरिमा समृद्धि योजना (जीएसवाई) को योजना व्यवस्थापक (फन्ड म्यानेजर) का रूपमा कार्यरत छ । को हुन् उनी अशोक सुवेदीले चार्टर्ड एकाउन्टेन्सीमा व्यावसायिक डिग्री तथा वाणिज्यशास्त्रमा स्नातक तहको शिक्षा हासिल गरेका छन् । उनीसँग बैंकिङ तथा पुँजी बजार क्षेत्रमा ६ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ । उनले चार्टर्ड एकाउन्टेन्ट संस्था देवेन्द्र के. जैन एन्ड एसोसिएट्समा ३ वर्ष इन्टर्नका रूपमा आफ्नो करियर सुरु गरेका थिए । सो अवधिमा उनले बजारको गतिशीलता तथा कार्यप्रणालीबारे महत्वपूर्ण अनुभव हासिल गरेका थिए । गरिमा क्यापिटल लिमिटेडमा आबद्ध हुनुअघि उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरेका छन् । उनले तत्कालीन स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड) तथा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक (हाल कुमारी बैंक लिमिटेड) लगायतका संस्थामा समेत कार्य गरेका छन् ।