एचआईडीसीएलको सञ्चालकमा पर्वत कार्की नियुक्त

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को सञ्चालक समितिमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत महेश रिमालको स्थानमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक कार्कीलाई सञ्चालकमा मनोनयन गरिएको हो । नागरिक लगानी कोषले भदौ १५ गते पठाएको पत्रअनुसार कार्कीलाई एचआईडीसीएलको सञ्चालकमा मनोनयन गरिएको कम्पनीले जनाएको छ । कार्कीले भदौ १६ गते कम्पनीका सञ्चालक समितिका अध्यक्षसमक्ष सञ्चालक पदको शपथ लिएका छन् । कम्पनीले सञ्चालकमा भएको परिवर्तनबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकलाई समेत जानकारी गराएको छ ।

पिताम्बर भण्डारी बने नेपाल बैंकका नयाँ अध्यक्ष

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । बैंकको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष भण्डारीले भदौ १६ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बैंकले अध्यक्ष नियुक्ति र शपथ ग्रहणबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।

नेपाल बैंकको सञ्चालक समितिमा पिताम्बर, देवराज र सुवाष नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा तीन जना नयाँ सदस्य नियुक्त भएका छन् । बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट पिताम्बर भण्डारी र देवराज जोशी सञ्चालक समितिमा नियुक्त भएका छन् । यस्तै, सर्वसाधारण सेयरधनीअन्तर्गतको संगठित संस्था कर्मचारी सञ्चय कोषको तर्फबाट सुवाष खड्का सञ्चालक समितिमा नियुक्त भएका छन् । नयाँ सञ्चालक नियुक्त भएसँगै यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिको अध्यक्ष रहेका शोभाकान्त पौडेल र सञ्चालक अमृत लम्साल पदबाट बिदा भएका छन् । त्यसैगरी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक रहेका जीवन कुमार कट्वाल पनि सञ्चालक समितिबाट बिदा भएका छन् । बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले भदौ १६ गते नेप्सेलाई पत्रमार्फत सञ्चालक समितिमा भएको हेरफेरबारे जानकारी गराएका हुन् ।