दशैं बिदामै घर गए दुई सहसचिव, कात्तिकमा थप पाँच उच्चपदस्थकाे अवकास

काठमाडौं । दसैँको बिदाकै बीच दुई सहसचिव अनिवार्य अवकाशमा गएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका सहसचिव शरदकुमार शर्मा र राष्ट्रिय योजना आयोगका सहसचिव हरिशरण पुडासैनी ५८ वर्षे उमेरहदका कारण सेवाबाट निवृत्त भएका हुन् ।

निजामती कितावखानाको तथ्याँकका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत शर्मा कात्तिक ५ गते एकादशीको दिन अनिवार्य अवकाशमा गएका हुन् । त्यस्तै, राष्ट्रिय योजना आयोगका सहसचिव पुडासैनी कात्तिक ७ गतेदेखि अवकाशमा गएका छन् । दुवै सहसचिव ५८ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाशमा परेका हुन् । दसैँ बिदा जारी रहेकै बेला उनीहरू सेवाबाट बाहिरिएकाले सोमवार कार्यालय खुलेपछि हाजिर हुने छैनन् ।

यस्तै कात्तिक महिनाभित्रै अन्य पाँच उच्चपदस्थ कर्मचारी पनि सरकारी सेवाबाट निवृत्त हुने कितावखानाले दिएको तथ्याँकमा जनाइएको छ , अवकाशमा जाने सूचीमा सहन्यायाधिवक्ता गंगाप्रसाद पौड्याल तथा सहसचिवहरू महेशचन्द्र न्यौपाने, हरिकुमार पोखरेल, दीर्घनारायण कोइराला र रुद्रप्रसाद लामिछाने रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव न्यौपानेको सेवा अवधि कात्तिक १६ गतेसम्म रहे पनि उनी त्यसअघि नै बिदामा बसेको प्राधिकरण श्रोतले जनाएको छ । 
कात्तिक महिनामानै सात उच्चपदस्थ कर्मचारी सेवाबाट बाहिरिने कितावखानाको तथ्याँकमा जनाइएको छ ।

Share News