२१ वटा म्युचुअल फण्डले बाँडे १.७९ अर्ब लाभांश, २.२० देखि १५ प्रतिशतसम्म

काठमाडौं । सेयर बजारमा प्रत्यक्ष लगानी गर्दा बजारको उतारचढावसँगै जोखिम पनि व्यहोर्नुपर्छ । यही जोखिमबाट केही हदसम्म टाढा रहेर आफ्नो बचतलाई बजारमा परिचालन गर्न चाहने लगानीकर्ताका लागि सामूहिक लगानी कोष (म्युचुअल फण्ड) आकर्षक विकल्प बन्दै आएको छ । व्यक्तिगत रूपमा सेयर छनोट र व्यवस्थापन गर्नुपर्ने झन्झट कम हुने भएकाले म्युचुअल फण्डमा लगानी गर्नेहरूको आकर्षण पनि बढ्दो छ ।  म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताको नजरमा यतिबेला भने प्रतिफलतर्फ छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत सामूहिक लगानी कोषमध्ये हालसम्म २१ वटा योजनाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना इकाइधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । घोषणा भएका यी योजनाले कुल करिब १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ नगद प्रतिफलका रूपमा इकाइधनीलाई वितरण गर्दैछन् । २१ योजनाको औसत प्रतिफल करिब ७ प्रतिशत देखिन्छ । तर सबै म्युचुअल फण्डको प्रतिफल भने एउटै छैन । केही योजनाले दोहोरो अंकको लाभांश घोषणा गरेका छन् भने केहीको प्रतिफल ३ प्रतिशतभन्दा पनि कम छ । एउटै प्रकृतिको लगानी साधन भए पनि योजनाअनुसार प्रतिफलमा देखिएको यो अन्तरले तिनको लगानी रणनीति, बजारमा गरेको प्रदर्शन, नाफा आर्जन र कोष व्यवस्थापनको प्रभावलाई समेत प्रतिबिम्बित गर्छ । हालसम्म घोषणा भएका योजनामध्ये हिमालयन ८०-२० ले सबैभन्दा धेरै प्रतिफल दिने भएको छ । हिमालयन क्यापिटलको कोष व्यवस्थापनमा रहेको यस योजनाले इकाइधनीलाई करसहित १५ प्रतिशतका दरले कुल १५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।  दोहोरो अंकको प्रतिफल दिने योजनामा प्रभु क्यापिटलको व्यवस्थापनमा रहेका दुई योजना पनि छन् । प्रभु सेलेक्ट फण्डले १२ प्रतिशतका दरले १५ करोड रुपैयाँ र प्रभु स्मार्ट फण्डले १२ प्रतिशतका दरले १२ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै, कुमारी क्यापिटलअन्तर्गतका कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले पनि इकाइधनीलाई १० प्रतिशतका दरले प्रतिफल दिने भएका छन् । कुमारी इक्विटी फण्डले १० करोड रुपैयाँ र कुमारी धनवृद्धि योजनाले १२ करोड २५ लाख ७ हजार २५९ रुपैयाँ नगद प्रतिफल वितरण गर्नेछ । एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड-२ ले पनि १० प्रतिशतका दरले १२ करोड २० लाख ९९ हजार ९९३ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा रहेको सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-३ ले १० प्रतिशतका दरले ८ करोड ५ लाख ८० हजार रुपैयाँ वितरण गर्नेछ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाले इकाइधनीलाई करसहित ८.४२ प्रतिशतका दरले १० करोड १० लाख ५३ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालित एमबीएल इक्विटी फण्डले करसहित ८ प्रतिशतका दरले ९ करोड ७३ लाख २६४ रुपैयाँ नगद प्रतिफल वितरण गर्ने भएको छ । यस्तै, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ ले ८ प्रतिशतका दरले ९ करोड ६० लाख रुपैयाँ लाभांश दिनेछ । सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा ग्रोथ फण्डले इकाइधनीलाई करसहित ५ प्रतिशतका दरले ३ करोड ३६ लाख २६ हजार ६३० रुपैयाँ नगद प्रतिफल वितरण गर्ने भएको छ । एनएमबी क्यापिटल लिमिटेडले व्यवस्थापन गरिरहेको एनएमबी हाइब्रिड फन्ड एल-२ ले ४.५ प्रतिशतका दरले ६ करोड १४ लाख १७ हजार ८०० रुपैयाँ र लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित सनराइज फोकस्ड इक्विटी फन्डले करसहित ४.५ प्रतिशतका दरले ४ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङले व्यवस्थापन गरिरहेको नबिल ब्यालेन्सड्-२ ले ३.५ प्रतिशतका दरले ३ करोड ९२ लाख रुपैयाँ र नबिल ब्यालेन्सड्-३ ले २.५ प्रतिशतका दरले ३ करोड १२ लाख ५० हजार रुपैयाँ लाभांश वितरण गर्ने भएका छन् । एनएमबी फिफ्टीले ३.१५ प्रतिशतका दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ नगद प्रतिफल दिने भएको छ । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमले ३ प्रतिशतका दरले ८ करोड ३७ लाख ६० हजार २६५ रुपैयाँ वितरण गर्नेछ । हालसम्म घोषणा भएका योजनामध्ये कुमारी सबल योजनाले २.९० प्रतिशतका दरले २ करोड १५ लाख ९७ हजार ७७० रुपैयाँ नगद प्रतिफल वितरण गर्ने भएको छ । त्यस्तै, मुक्तिनाथ क्यापिटल व्यवस्थापक रहेको मुक्तिनाथ म्युचुअल फन्ड-१ ले इकाइधनीलाई करसहित २.२० प्रतिशतका दरले २ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

३२ कम्पनीको लाभांश घोषणा, कसले बाँड्दैछ कति ?

काठमाडौं । आर्थिक वर्ष सकिएसँगै लगानीकर्ताको चासो हुन्छ– आफूले लगानी गरेको कम्पनीले यस वर्ष कति लाभांश देला ? कम्पनीले वर्षभरि कमाएको नाफाबाट सेयरधनीलाई बाँड्ने प्रतिफल लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । त्यसैले आर्थिक वर्ष सकिएपछि लगानीकर्ताहरू कम्पनीको वित्तीय विवरण, नाफा, सञ्चालक समितिको निर्णय र अन्ततः लाभांश घोषणाको प्रतीक्षामा हुन्छन् ।  लाभांश घोषणा जति छिटो हुन्छ, लगानीकर्ताको चासो पनि त्यति नै बढ्छ । अझ घोषणा भएको लाभांश साधारणसभाबाट पारित भएर छिट्टै सेयरधनीको हातमा परोस् भन्ने चाहना स्वाभाविक हुन्छ । आर्थिक वर्ष २०८२/८३ को नाफाबाट अहिले विभिन्न कम्पनीले धमाधम लाभांश प्रस्ताव गर्न थालेका छन् । विकासन्युजलाई प्राप्त विवरणअनुसार वाणिज्य बैंकदेखि विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन तथा प्रशोधन, मेडिकल कलेज, मर्चेन्ट कम्पनी, ब्रोकर तथा अन्य कम्पनीले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  नेप्सेमा सूचीकृत १० कम्पनीको लाभांश एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सानिमा बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित १० प्रतिशतका दरले १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ५.२६ प्रतिशतका दरले १ अर्ब १३ करोड ६८ लाख ५१ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले ५७ करोड ९२ लाख ८९ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँको ४ प्रतिशतका दरले १४ करोड ९३ लाख ६२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६.५२ प्रतिशतका दरले २४ करोड ३६ लाख ९७ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले कुल १०.५२ प्रतिशत अर्थात् ३९ करोड ३० लाख ५९ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको १०.५२ प्रतिशतका दरले १२ करोड ४५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशतका दरले ३४ करोड ७२ लाख ८७ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले कुल १५.७८ प्रतिशत अर्थात् ३६ करोड ५५ लाख ६५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको करसहित १२ प्रतिशतका दरले १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । सूचीकृत नभएका कम्पनीको लाभांश  विकासन्युजलाई प्राप्त तथ्यांकअनुसार पुँजी बजारमा सूचीकृत नभएका विभिन्न ५ वटा मर्चेन्ट कम्पनी, ७ वटा हाइड्रोपावर कम्पनी, ३ वटा स्वास्थ्य क्षेत्रका कम्पनी, ३ वटा ब्रोकर कम्पनी र ४ वटा अन्य कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन् ।  एनआईसी एशिया क्यापिटलले ५० प्रतिशतका दरले १० करोड रुपैयाँ, कुमारी क्यापिटलले १२.२५ प्रतिशतका दरले ४ करोड ९० लाख रुपैयाँ, सानिमा क्यापिटलले १० प्रतिशतका दरले २ करोड ५० लाख रुपैयाँ, माछापुच्छ्रे क्यापिटलले ७ प्रतिशतका दरले २ करोड ४३ हजार ७६५ रुपैयाँ र मुक्तिनाथ क्यापिटलले ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । यस्तै, हिल्टन हाइड्रो इनर्जीले २० प्रतिशत, आशुतोष इनर्जीले १८.९४ प्रतिशत, काबेली हाइड्रोपावरले १६.३१ प्रतिशत, सेन्चुरी इनर्जीले १०.५२ प्रतिशत, पशुपती रिन्यूएबल्सले १०.३४ प्रतिशत र साप्सु कालिका हाइड्रोपावरले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । निलगिरी खोला हाइड्रोपावरले भने लाभांश वितरण गरेको छ । तर, कम्पनीले लाभांशको दर भने खुलाएको छैन । यस्तै, नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २२.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । डिभाइन हेल्थ केयर लिमिटेडले चुक्ता पुँजीको १.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०६५ प्रतिशत नगद लाभांश गरी कुल १.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सनी सेक्युरिटिजले २५ प्रतिशत, केबीएल सेक्युरिटिजले ७.५ प्रतिशत र ग्लोबल आइएमई सेक्युरिटिजले ३.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । शिवम् होल्डिङ्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १५ लाख ५७ हजार ३४३ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । होटेल सारथीले गत आर्थिक वर्ष २०८२/८३ सम्मको जगेडा कोषबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, भेन्चर हायर पर्चेजले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

जेनजी आन्दोलनमा क्षतिग्रस्त युलेन्सको आम्दानी १३.३३ प्रतिशत घट्यो, कमायो ६७.६० करोड

काठमाडौं । युलेन्स एजुकेशन फाउण्डेसनले गत आर्थिक वर्ष २०८२/८३ मा ६७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३.३३ प्रतिशत अर्थात् १० करोड ४० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा युलेन्सले ७८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  गत भदौमा भएको जेनजी आन्दोलनका कारण आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ । मासिक शिक्षण शुल्क तथा अन्य सहायक शुल्कबाट प्राप्त रकम घट्नुका साथै यातायात सेवाबाट हुने आम्दानीमा आएको कमीका कारण पनि आम्दानी घटेको हो । विद्यार्थीलाई प्रदान गरिएको छात्रवृत्ति तथा शुल्क छुटले पनि संस्थाको आम्दानीमा दबाब परेको जनाएको छ ।  युलेन्सले आर्थिक वर्ष २०८०/८१ मा ७६ करोड ५० लाख रुपैयाँ, आव २०७९/८० मा ७५ करोड ४० लाख रुपैयाँ र आव २०७८/७९ मा ६३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  युलेन्स एजुकेशन फाउण्डेसन नेपालमा विश्वस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको गैरनाफामूलक संस्था हो । २०६२ पुसमा स्थापना भएको फाउण्डेसनले शिक्षालाई गैरनाफामूलक क्षेत्रमा विकास गर्दै उच्चस्तरको सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । फाउण्डेसनले युलेन्स स्कुल सञ्चालन गर्दै आएको छ । युलेन्सले बालकक्षादेखि कक्षा १२ सम्मको शिक्षा प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । विद्यालयको कक्षा ११ र १२ को कार्यक्रम नेपाल सरकारअन्तर्गतको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त छ भने अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रम स्विट्जरल्यान्डस्थित अन्तर्राष्ट्रिय स्नातक संस्थासँग आबद्ध छ । करिब दुई दशकदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको युलेन्सको सञ्चालक समितिमा ६ सदस्य छन् । समितिको अध्यक्षमा बेलायतको नर्विचस्थित इस्ट एङ्ग्लिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय बाल कल्याण विषयमा स्नातकोत्तर गरेका सोमप्रसाद पनेरु छन् । पनेरुले नेपालका केन्द्रीय बाल कल्याण बोर्डको सञ्चालक सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।  सञ्चालक समितिमा लगानी तथा पूर्वाधार वित्त विज्ञ मनीष थापा, संस्थासँग लामो समयदेखि आबद्ध संस्थापक सञ्चालक सदस्य सजनी अमात्य, अर्थशास्त्री तथा विकास विशेषज्ञ अनिता महत, शैक्षिक तथा संरक्षण क्षेत्रका विज्ञ डा. हेमसागर बराल र नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक प्रद्युम्नकुमार खनाल रहेका छन् ।  गत आर्थिक वर्षमा युलेन्सको सञ्चालन नाफा तथा ब्याज, कर, ह्रासकट्टीअघिको नाफा अनुपात २१.५० प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३४.५० प्रतिशत थियो । आम्दानी घट्नुका साथै चुनौतीपूर्ण परिस्थितिमा पनि शिक्षक तथा सहयोगी कर्मचारीको संख्या यथावत् राखिएकाले खर्च बढ्दा नाफा अनुपातमा दबाब परेको कम्पनीले जनाएको छ । करपछिको नाफा अनुपातसमेत १६.५५ प्रतिशतबाट घटेर २.८२ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, कुल नगद सञ्चिति आम्दानी अघिल्लो वर्षको १९ करोड ५० लाख रुपैयाँबाट घटेर ५ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । आम्दानीमा आएको कमीका साथै अशान्तिपछि सम्पत्ति पुनःस्थापनाका लागि गरिएको एकपटकको मर्मत तथा सम्भार खर्चले पनि संस्थाको नाफामा दबाब सिर्जना गरेको जनाएको छ । तर, विद्यार्थी भर्नाको सन्तोषजनक अवस्था, समयअनुसार शिक्षण शुल्कमा हुने परिमार्जन तथा सञ्चालन अवस्था सामान्य बन्दै गएकाले आगामी वर्ष आम्दानीमा सुधार हुने अपेक्षा कम्पनीको छ ।  कम्पनीका अनुसार नेपालमा गुणस्तरीय शैक्षिक सेवाको माग निरन्तर बढ्दैछ । आम्दानी तथा रोजगारी सिर्जनाका दृष्टिले शिक्षा क्षेत्र नेपालका प्रमुख क्षेत्रमध्ये एकका रूपमा विकसित हुँदै गएको छ । बढ्दो आम्दानी, शिक्षाप्रतिको जनचेतनामा वृद्धि, जीवनशैलीमा आएको सुधार तथा शैक्षिक सेवामा सहज पहुँचले आगामी दिनमा शिक्षा क्षेत्रको विस्तारमा थप योगदान पु¥याउने कम्पनीको अपेक्षा छ ।  यद्यपि, शिक्षा क्षेत्र अत्यधिक प्रतिस्पर्धात्मक रहेकाले विद्यार्थी आकर्षित गर्न शैक्षिक संस्थाबीच उच्च प्रतिस्पर्धा रहेको छ । शिक्षाको गुणस्तर, शिक्षकको योग्यता तथा अनुभव, प्रदान गरिने सेवाको दायरा र आधुनिक शिक्षण पद्धति विद्यार्थी आकर्षित गर्ने महत्वपूर्ण आधार बन्ने जनाएको छ । पछिल्ला वर्षमा निजी शैक्षिक संस्थाको संख्या बढ्दै गएपछि दक्ष तथा अनुभवी शिक्षक र अन्य शैक्षिक जनशक्तिलाई संस्थामा टिकाइराख्नु पनि क्षेत्रका लागि चुनौती बनेको कम्पनीले जनाएको छ ।  कक्षा १२ सम्मको माध्यमिक शिक्षामा प्रतिस्पर्धा अत्यधिक रहे पनि अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रममा तुलनात्मक रूपमा कम प्रतिस्पर्धा रहेको युलेन्स एजुकेशन फाउण्डेशनले जनाएको छ । नेपालमा हाल यस्ता कार्यक्रम सञ्चालन गर्ने संस्थाको संख्या सीमित रहेकाले प्रतिस्पर्धा कम देखिएको हो । यद्यपि, अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रमले विदेशी शैक्षिक संस्था तथा विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने समकक्षी कार्यक्रमबाट प्रतिस्पर्धा व्यहोर्नुपरेको छ । विशेषगरी बेलायतको क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने उच्च तहको सामान्य शैक्षिक प्रमाणपत्र कार्यक्रमलगायत वैकल्पिक शैक्षिक कार्यक्रम यसका प्रतिस्पर्धीका रूपमा रहेका छन् । कम्पनीका अनुसार युलेन्स शैक्षिक संस्थासँग सम्बन्धित नियामकीय जोखिमबाट समेत प्रभावित हुन सक्ने देखिएको छ । युलेन्सअन्तर्गत सञ्चालनमा रहेको विद्यालय सरकारका विभिन्न निकाय तथा संस्थाबाट नियमन हुने भएकाले शिक्षा क्षेत्रमा हुने नीतिगत तथा कानुनी परिवर्तनले संस्थाको सञ्चालन र आम्दानीमा प्रभाव पार्न सक्ने जनाएको छ । प्रतिकूल निगरानीबाट हटाइयो युलेन्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६५ करोड रुपैयाँ ऋण लिएको छ । त्यसमध्ये ५१ करोड रुपैयाँ दीर्घकालीन र १३ करोड ९४ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । गत वर्षको भदौमा भएको जेनजी आन्दोलनका कारण उत्पन्न अनिश्चितता कम हुँदै गएपछि युलेन्सको बैंकिङ सुविधासम्बन्धी ऋण मूल्याङ्कनलाई नकारात्मक प्रभावसहितको प्रतिकूल निगरानीबाट हटाएको केयरएज रेटिङ्ग्स नेपालले जनाएको छ । आन्दोलनका क्रममा ललितपुरस्थित युलेन्स स्कुलको मुख्य परिसरसमेत प्रभावित भएको थियो । विद्यालयका भवन, सवारीसाधन तथा शैक्षिक सामग्रीमा ठूलो क्षति पुगेपछि कम्पनीले उल्लेख्य आर्थिक नोक्सानी बेहोर्नुका साथै केही समय सञ्चालनमा अवरोध व्यहोरेको थियो । तर, फाउण्डेसनले छिटो पुनरुत्थान गर्न सक्ने क्षमता देखाउँदै शैक्षिक गतिविधि शीघ्र सञ्चालनमा ल्याएको हो । अशान्तिपछि विद्यालयले तत्काल विद्युतीय माध्यमबाट पठनपाठन सञ्चालनमा ल्याएको थियो । त्यसपछि अस्थायी रूपमा भाडामा लिइएका स्थानबाट शैक्षिक गतिविधि सञ्चालन गरिएको थियो । क्षतिग्रस्त पूर्वाधारको मर्मत तथा पुनःस्थापना र बीमा दाबीमार्फत नोक्सानीको केही हिस्सा प्राप्त गर्न सफल भएको थियो ।