फोटो बोकेर ज्वाइँ खोजिरहेका अशोक

काठमाडौं । उनीसँग ठूलो पहुँच छैन । चिनजानका मानिसहरूको लामो सूची छैन । खोजीका लागि दौडधूप गर्ने आफन्तहरूको भीड पनि छैन ।  उनी शारीरिक रूपमा पूर्ण सक्षम पनि छैनन् । मजाले हिँड्न सक्दैनन् । बोल्दा शब्दहरू पनि स्पष्ट बुझ्न कठिन हुन्छन् । तर ज्वाइँ खोज्ने कुरा आउँदा उनका पाइला भने रोकिन्‍न । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भीडतर्फ उनको पाइला लम्किरहेको छ । गह्रौं पाइला अस्पतालको गेटमा पुगेर अडिन्छ । त्यही फोटो देखाउँदै भन्छन्, ‘यो मानिस मेरो ज्वाइँ हो, फोटो हेरेर कतै खोजिदिनू न ।’  तिनै ज्वाइँ खोजी हिँड्ने ४७ वर्षीय अशोक शाह बालाजुबाट आएका हुन् ।  भारतको अन्धानगर घर भएका उनी दुई दशकदेखि काठमाडौंलाई कर्मथलो बनाउँदै आएका छन् । रसुवामा गत बुधबार आएको बाढीले ज्वाइँलाई बगाएको आशंकामा उनी अस्पतालमा आइपुगेका हुन् । ३७ वर्षीय ज्वाइँ उमेश शाह बाढीमा परेको हुनसक्ने आशंकामा अस्पतालको शवगृहमा आइपुगेका हुन् । हातमा फोटो लिएर उनी प्रहरीलाई सोध्छन्, ‘यो मेरो ज्वाइँ हो, कतै देख्नुभएको छ ? फोटो हेरेर खोजिदिनू न ।’ आवाज अस्पष्ट सुनिन्छ, तर त्यो आवाजभित्रको पीडा भने स्पष्ट बताइरहेका थिए । अशोकको फोन पनि लगातार बजिरहन्छ । फोन गर्ने उनकी बहिनी हुन् । उताबाट एउटै प्रश्न आउँछ— ‘केही खबर आयो ?’ तर अशोकसँग जवाफ छैन । छेउमा उभिएका प्रहरी एसपी प्रदीप सिंहलाई फोटो देखाउँछन् । उनी फेरि फोटो  हेर्छन् । फेरि प्रहरीको अनुहार हेर्छन्। फेरि अस्पताल परिसरमा नजर दौडाउँछन् । ‘एक सातादेखि लुगा फेरेको छैन,’ उनी भन्छन् । उनले खाना पनि राम्ररी खान पाएका छैनन् । अशोकको पेटभन्दा मन भारी छ । निद्राभन्दा चिन्ता ठूलो छ । शरीर थाकेको छ, तर खोजी रोकिन सकेको छैन । माछापोखरीमा बस्ने अशोक सानो व्यापार गरेर जीवन चलाउँछन् । टिस्यु, झोला र गिलास बेच्ने उनको सामान्य दैनिकी थियो । सानो कमाइ, सानो संसार र सामान्य जीवन । उनले हिजोआज ज्वाइँको खोजीमा लागेकाले केही गर्न सकेका छैनन् । ‘म बालाजुमा एक्लै बस्छु,’ अशोक भन्छन्, ‘आफन्त कोही छैनन् ।’  बहिनीलाई के भन्ने उनलाई त्यहीँ चिन्ताले सताउन थालेको छ । उनलाई चार जना भान्जाभान्जीले मामा के भयो भनेर सोधिरहन्छन् । अशोकसँग सुन्नदेखि अर्को विकल्प छैन । जवाफबाट नाजवाफ छन् । उनका लागि आफन्तको अर्थ पनि सीमित थियो । त्यसमध्ये एक जना ज्वाइँ परिवारका लागि विशेष सहारा थिए । आज त्यही सहारा बेपत्ता भएका छन् । अशोक आफैं असहाय भएर खोजीमा भौंतारिरहेका छन् । बेपत्ता भएका उमेश शाह ३७ वर्षका थिए । उनको घर पनि भारत तर नेपालमा बस्न थालेको १४ वर्ष भइसकेको छ । उमेश टायल लगाउने कामका ठेकेदार थिए । उनका ज्वाई उमेश कामको खोजी र परिवारको भविष्यका लागि उनी जहाँ अवसर भेट्थ्यो, त्यहीँ पुग्थे। पछिल्लो चार महिनादेखि उनी केरुङ क्षेत्रमा काम गरिरहेका थिए। चीनको सीमावर्ती क्षेत्रमा काम गर्नु सजिलो थिएन । परिवारबाट टाढा बस्नुपथ्र्यो । जोखिम र कठिनाइ पनि थिए । उमेश केवल बुवा मात्र थिएनन्, परिवारको भविष्य थिए । घरको आशा थिए । कमाएर परिवार पाल्ने आधार थिए । नेपालमा पसिना बगाएर उनले भारतमा रहेका आफ्ना परिवारका सदस्यहरूको जीवनमा खुसी ल्याउने प्रयास गरिरहेका थिए । अशोक भन्छन्, ‘ मेरो ज्वाइँ परिवारको सहारा थिए ।’ बाढीले ज्वाइँलाई मात्र होइन, परिवारको भरोसा पनि बगाएको छ । अशोकका लागि उमेश हराउनु भनेको परिवारको एउटा सदस्य मात्र हराउनु होइन । उनी भन्छन्, ‘एक जना ज्वाइँ आफन्त थिए, उनी पनि हराए ।’ आफै राम्रोसँग हिँड्न नसक्ने अशोक अहिले अस्पताल, प्रहरी कार्यालय र खोजी हुने ठाउँहरूमा पुगिरहेका छन् । उनीसँग खोजीका लागि सुविधा छैन । शरीरले साथ दिइरहेको छैन । बोलाइ पनि प्रस्ट छैन । तर ज्वाइँको फोटो भने उनको हातबाट छुट्दैन । सायद उनीभित्र एउटा विश्वास अझै बाँकी छ कतै न कतै उमेश भेटिन्छन् कि ! ‘कतै देख्नुभएको छ भने खबर गरिदिनु न ।’ अस्पतालमा आउने मानिसहरूको भीड देख्दा अशोकको नजर प्रत्येक अनुहारमा पुग्छ । कतै उमेश जस्तै अनुहार देखिन्छ कि ? कतै घाइतेको सूचीमा नाम भेटिन्छ कि? कतै उद्धार गरिएका मानिसमध्ये उनी छन् कि ? यही प्रश्नको उत्तर खोज्दै उनी एक सातादेखि भौंतारिरहेका छन् ।  घरमा बस्दा फोन बज्छ । खोजीमा निस्किँदा बहिनीको फोन आउँछ । उताबाट फेरि सोधिन्छ, ‘केही पत्ता लाग्यो ?’ उनीसँग अहिले एउटा फोटो छ, एउटा नाम छ र एउटा आशा छ ।

रहेनन् हाइड्रो, न भेटिए कामदार

काठमाडौं । विनाशकारी बाढी आएको एक साता बितिसक्दा पनि जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युतगृहमा फसेका र सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारमा उल्लेख्य प्रगति हुन सकेको छैन । सुरुङभित्र पसेको लेदो र थुप्रिएको माटो, निरन्तर बढिरहेको नदीको सतह तथा घटनास्थलसम्म आवश्यक भारी उद्धार उपकरण पुर्‍याउन नसक्दा उद्धार टोलीले कठिन चुनौती सामना गरिरहेको छ । उद्धारमा खटिएका अधिकारीहरूका अनुसार कतिपय स्थानमा उद्धार थाल्नुअघि पहुँचमार्ग नै निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । जलविद्युत् आयोजनाबाट हराइरहेकाको अवस्था सात दिन बितिसक्दा पनि अज्ञात छ । बाढीका कारण क्षति पुगेका जलविद्युत आयोजनाहरूको उद्धार र खोजी कार्यमा निकै कठिनाइ भइरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । इप्पानका अध्यक्ष मोहन डाँगी विशेषगरी माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङभित्र बाढी पसेका कारण ठूलो मानवीय र भौतिक क्षतिको आशंका गरिएको बताउँछन् । अध्यक्ष डाँगीका अनुसार भौगोलिक विकटता, बाटोको असुविधा र भारी उपकरण पुर्‍याउन नसक्दा उद्धार टोली अहिलेसम्म सुरुङभित्र पस्न सकेको छैन । अध्यक्ष डाँगीले माथिल्लो त्रिशूली-१ को १० किलोमिटर लामो सुरुङमध्ये करिब ४ किलोमिटरसम्म बाढी पसेको जानकारी दिए । ‘त्यो ४ किलोमिटर खण्डमा बाढीसँगै आएका मेसिन र अन्य सामग्रीहरू अड्किएका छन्, जसले गर्दा सुरुङ पुरैभरिएको छ,’  उनले विकासन्युजसँग भने । उक्त ४ किलोमिटर क्षेत्रमा कार्यरत कामदारहरूको अवस्था निकै चिन्ताजनक रहेको र उनीहरू जीवितै हुने सम्भावना न्यून रहेको उनको संकेत छ । यद्यपि सुरुङको बाँकी ६ किलोमिटर क्षेत्रमा रहेका कामदारहरू भने सुरक्षित रूपमा निस्कन सफल भएका छन् । सुरुङभित्र पसेर उद्धार गर्न नेपाली सेना र विज्ञ टोली खटिए पनि भौगोलिक कारणले गर्दा ठूला स्क्याभेटर र मेसिनहरू घटनास्थलमा पुर्‍याउन सकिएको छैन । हेलिकप्टरबाट सामान ओसार्ने प्रयास गरिए पनि त्यसको क्षमता कम हुँदा पर्याप्त उपकरण पुग्न नसकेको डाँगीले बताए । निजी क्षेत्रका तर्फबाट उपकरण लैजाने प्रयास भइरहे पनि प्राविधिक कारणले ती प्रभावकारी हुन सकेका छैनन् । उद्धार कार्यलाई तीव्रता दिन भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोलीहरू घटनास्थलमा खटिएका छन् । अध्यक्ष डाँगीका अनुसार भारतबाट ११ जना, चीनबाट ९ जना र कोरियाबाट ३/४ जनाको टोली उद्धारमा संलग्न छ । यसैगरी, सुरुङभित्र र वरपर बेपत्ता भएकाहरूको शव पहिचान गर्न पोखराबाट चारवटा तालिमप्राप्त कुकुरहरू पनि ल्याइएको छ । ‘ती कुकुरहरूले शव भएको स्थान ट्रयाक गर्न मद्दत गर्ने विश्वास लिइएको छ,’  डाँगीले थपे ।  घटना भएको सात दिन बितिसक्दा पनि धेरै कामदारहरू अझै बेपत्ता छन् । अध्यक्ष डाँगीले अबको प्राथमिकता शव फेला पार्ने र यदी भेटिएन भने कानुनी प्रक्रिया पुर्‍याएर अघि बढ्ने बताए ।   ‘सास नभेटिए पनि कम्तीमा लास भेटियोस् भन्ने सबैको चाहना छ, त्यसपछि मात्रै संस्कार र अन्य कानुनी प्रक्रिया सुरु हुनेछ,’ उनले विकासन्युजसँग भने ।  हाल जलविद्युत आयोजनाहरूमा भएको क्षतिको यकिन विवरण संकलन गर्ने र उद्धार कार्यलाई निरन्तरता दिने काम भइरहेको इप्पानले जनाएको छ । बाढीले क्षति पुर्‍याएका १३ विद्युत् आयोजनामध्ये कोरियाली लगानीमा निर्माण भइरहेको माथिल्लो त्रिशूली-१ बाट नै सबैभन्दा धेरै सम्पर्कविहीन छन् । बाढीपछि ५७३ जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ ।  २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ मा फसेकाहरूमध्ये सोमबार तीन जनाको मात्र उद्धार भएको थियो । हालसम्म उद्धार र सम्पर्क आएकाहरूको संख्या ८७३ छ । यसैगरी ,परामर्शदाता कम्पनी, ठेकेदार कम्पनीसहित आयोजनाका कर्मचारीहरू गरी ५७३ हराइरहेका छन् ।  यसमध्ये ३०० जना सुरुङभित्र काम गर्नेहरू हराइरहेका छन् । उनीहरू सुरुभित्र बसेर काम गरिरहेका थिए वा भित्र प्रवेश गर्न बाँकी थियो भन्ने यकिन भएको छैन । सो दिन आयोजनामा करिब साढे १४०० सय जनाले काम गरिरहेको हुन सक्ने अनुमान गरिएको छ । लाङटाङका ४१ जना अझै बेपत्ता बाढीका कारण २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको कम्पनीका प्रबन्ध निर्देशक तथा इप्पानका सचिव विजयमोहन भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार विपद्पछि अहिलेसम्म ४१ जना कामदार तथा स्थानीयहरू अझै बेपत्ता रहेका छन् । बाढी आएपछि सुरुमा ६० जना व्यक्तिहरू सम्पर्कविहीन भएका थिए । तीमध्ये १८ जनालाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ भने एक जना आफै सम्पर्कमा आएका छन् । बाँकी ४१ जनाको खोजी कार्य जारी छ । उनका अनुसार अहिले नेपाली सेना र प्राविधिक टोली आयोजनाको सर्भिस टनेल क्षेत्रमा पुगिसकेका छन् । करिब १५० मिटर लामो उक्त सुरुङभित्र १० देखि १२ जना कामदारहरू फसेको हुनसक्ने अनुमान गरिएको छ ।  ‘हाम्रो प्राविधिक टोली र सेनाको टोली त्यहाँ पुगिसकेको छ, आजदेखि थप उपकरणहरू प्रयोग गरेर सुरुङभित्र खोजी र उद्धारको काम सुरु हुँदैछ,’ उनले विकासन्युजसँग भने । बाढीले आयोजना स्थल जोड्ने पुल र बाटाहरू पूर्ण रूपमा बगाएका कारण पैदल जान सक्ने अवस्था छैन । उद्धार टोली र आवश्यक उपकरणहरू हेलिकप्टरमार्फत एयरलिफ्टिङ गरेर पुर्‍याइएको छ ।  भौगोलिक विकटताका कारण उद्धार कार्यमा निकै चुनौती थपिएको सचिव भट्टराईले जानकारी दिए । बाढीको प्रकृति सुनामी जस्तै अचानक र अत्यन्तै तीव्र भएको उनले बताए । जल तथा मौसम विज्ञान विभागको स्टेशन र बाढीको पूर्वसूचना दिने अलार्म प्रणालीलाई समेत बाढीले एकैपटक बगाएका कारण कसैले पनि सतर्क हुने मौका नपाएको उनको भनाइ छ ।  ‘बाढी बुलेट जस्तै गतिमा आयो, जसले गर्दा मोबाइलमा अलर्ट आउने वा अलार्म बज्ने समय नै पाइएन,’ उनले थपे । यो २० मेगावाटको आयोजना निर्माण सम्पन्न भई परीक्षण उत्पादनको अन्तिम चरणमा थियो । परीक्षणको समय भएकाले आयोजनामा नियमित समयमा भन्दा कम कामदारहरू उपस्थित थिए, जसले गर्दा मानवीय क्षति केही कम भएको हुनसक्ने आकलन गरिएको छ । सामान्य अवस्थामा त्यहाँ ३०० देखि ४०० जनासम्म मानिसहरू हुने गर्दथे । सचिव भट्टराईले यो राष्ट्रिय विपद्को समय भएकोले यसमा कुनै राजनीति नगरी सबै पक्षलाई एकजुट भई उद्धार र राहतमा जुट्न अपिल समेत गरेका छन् । बेपत्ताहरूको खोजीका लागि सरकार र सरोकारवाला निकायले थप तदारुकता देखाउनुपर्नेमा उनले जोड दिएका छन् । चिलिमे जलविद्युतको सुरुङमा ६ जना कर्मचारी बेपत्ता  बाढीका कारण चिलिमे जलविद्युत आयोजनामा कार्यरत ६ जना कर्मचारीहरू सुरुङभित्रै बेपत्ता भएका छन् । आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले दिएको जानकारी अनुसार बाढी र पहिरोका कारण सुरुङभित्र उद्धार टोली पुग्न नसक्दा उनीहरूको अवस्था अझै अज्ञात छ । प्रबन्ध निर्देशक महर्जनका अनुसार घटनाको समयमा आयोजना स्थलमा कुल ७० जना कर्मचारीहरू कार्यरत थिए । तीमध्ये ६४ जना सुरक्षित रूपमा सम्पर्कमा आएका छन् भने २२ मेगावाटको उक्त आयोजनाको सुरुङभित्र रहेका ६ जना अझै सम्पर्कविहीन छन् ।  उद्धार कार्यमा देखिएका चुनौतीबारे चर्चा गर्दै महर्जनले विकासन्युजसँग भने, ‘भौगोलिक कारणले गर्दा सुरुङभित्र छिर्न निकै कठिन भइरहेको छ । नदी किनारमा पर्याप्त जग्गा नभएका कारण हेलिकप्टरमार्फत उपकरणहरू अवतरण गराउन (ल्याण्ड गर्न) समेत ठाउँको अभाव छ ।’ सुरुङको मुख र बाटोहरूमा थुप्रिएको लेदो र ढुङ्गाका कारण मेसिनहरू भित्र लैजान नसकिएको उनले बताए ।  भारतीय सेनाको सहयोग र म्यानुअल उद्धार  अवरोध हटाउन र बेपत्ताहरूको खोजी गर्न अहिले भारतीय सेनाको विशेष टोली घटनास्थलमा खटिएको छ । मेसिनरी उपकरणले मात्र नभई म्यानुअल (हातैले) रूपमा पनि लेदो र अवरोध हटाउने प्रयास भइरहेको महर्जनले जानकारी दिए ।  ‘हामी विभिन्न किसिमका इक्विपमेन्टहरू लगाएर सुरुङ खुलाउने प्रयासमा छौं, तर अवस्था निकै जटिल छ,’ उनले थपे । सुरुङभित्रको अवरोध नहटाएसम्म बेपत्ता भएका कर्मचारीहरूको अवस्थाबारे केही भन्न नसकिने व्यवस्थापन पक्षको भनाइ छ । प्रबन्ध निर्देशक महर्जनले सुरुङभित्र कसरी पस्ने र कसरी खोजी कार्य अघि बढाउने भन्ने विषयमा अझै पनि प्राविधिक अन्योल कायमै रहेको बताए । विदेशी विज्ञ टोली र स्थानीय उद्धारकर्मीहरूको समन्वयमा बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिइएको चिलिमे जलविद्युत आयोजनाले जनाएको छ । १११ मेगावाटको आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण जुटाएर खोजी तथा उद्धारलाई अघि बढाउने प्रयास भइरहेको जनाएको छ । तर, एक सातासम्म पनि हराइरहेकाहरूको खोजी प्रभावकारी रूपमा अघि बढ्न नसकेपछि आफन्तहरूमा आक्रोश र बेचैनी बढ्दै गएको छ । आयोजनास्थलमा प्रोटोकलमा रहेका व्यक्तिबाहेक अन्यलाई प्रवेश गर्न नदिइएकाले उद्धार तथा राहत कार्य अपेक्षित रूपमा अघि बढ्न नसकेको गुनासोसमेत रहेको कम्पनीले बताएको छ । कम्पनीले स्काभेटर खरिद गरेर बुधबार रसुवा पुर्‍याएको छ ।  यसैगरी, ३७ मेगावाटको त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा पनि हराइरहेकाहरूको खोजी तथा उद्धार जारी रहेको छ । प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीका अनुसार निर्माण कम्पनी, परामर्शदाता तथा प्रवद्र्धक कम्पनीमा कार्यरत कर्मचारी अझै सम्पर्कविहीन छन् । दिन बित्दै जाँदा आफन्तको आशा र चिन्ता दुवै चुलिँदै गएको छ भने, सुरुङभित्र थुप्रिएको लेदो र डेब्रिज हटाउँदै हराइरहेकासम्म पुग्नु उद्धार टोलीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । के भन्छन् मन्त्री ? ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले एक सातासम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताए ।  सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको अवस्थाबारे जानकारी पाउन नसक्दा सरकार पनि उत्तिकै मर्माहत रहेको उनको भनाइ छ ।  ‘हरेक जीवन अमूल्य छ । एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ मन्त्री श्रेष्ठले भने ।  खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष जनशक्ति, प्रविधि र उपलब्ध स्रोत साधन परिचालन गरिएको उनले जानकारी दिए ।  उद्धार प्रयासमा प्रविधि, दक्ष जनशक्ति र स्रोतको कुनै कमी हुन नदिइएको स्पष्ट पार्दै मन्त्री श्रेष्ठले एक सातासम्म पनि अपेक्षित परिणाम प्राप्त हुन नसक्दा चिन्ता बढ्दै गएको बताए । सरकारले कठिन परिस्थितिमा पनि खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै उनले परिवारजनलाई धैर्य नगुमाउन आग्रह गरे ।  ‘हामी अन्तिम सम्भावनासम्म प्रयास गरिरहनेछौँ । अझै आशा मार्ने बेला भएको छैन । प्रयास र प्रार्थना सँगसँगै गरौँ, आशा जीवित राखौं,’ उनले भने ।  मन्त्री श्रेष्ठले सरकार आफ्ना नागरिक तथा राष्ट्रसेवकका परिवारसँगै रहेको उल्लेख गर्दै कठिन घडीमा परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।  कोरियाबाट आयो ४४ सदस्यीय विशेष उद्धार टोली सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा सघाउन दक्षिण कोरियाबाट दक्ष ४४ सदस्यीय कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) बुधबार नेपाल आइपुगेको छ । विशेषगरी सम्पर्कविहीन भएका कोरियाली नागरिकको खोजीलाई प्राथमिकता दिँदै टोली अत्याधुनिक खोज तथा उद्धार उपकरणसहित नेपाल आएको बताइएको छ ।  दक्षिण कोरियाली वायुसेनाको केसी-३३० ‘सिग्नस’ मल्टिरोल एरियल ट्यांकर विमानमार्फत आएको टोली बुधबार बिहान नेपाल पुगेको हो ।  दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयअन्तर्गत विकास सहयोगका महानिर्देशक ली क्यु-होको नेतृत्वमा आएको केडीआरटीमा राष्ट्रिय अग्नि नियन्त्रक निकायका ३७ जना दक्ष कर्मचारी छन् ।  टोलीमा परराष्ट्र मन्त्रालय र कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) का अधिकारीसमेत सहभागी छन् । उद्धार टोलीले पाँचवटा विशेष खोज तथा उद्धार कुकुर पनि साथमा ल्याएको छ । त्यस्तै, भग्नावशेषभित्र फसेका मानिसको अवस्था पत्ता लगाउन उच्च क्षमताका ड्रोन, ध्वनि तथा भिडियो उपकरण र थर्मल इमेजिङ प्रविधि लगायतका अत्याधुनिक सामग्री प्रयोगमा ल्याइनेछ । अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिसहित नेपाल आइपुगेको केडीआरटीले भग्नावशेषमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी र उद्धारमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चन्द्र ढकालको आइएमई मोटर्सको आम्दानी साढे ३ अर्ब, नयाँ गाडी दर्ता रोक्दा व्यवसायमा दबाब

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५० करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७.३२ प्रतिशत अर्थात् २३ करोड ९० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी पछिल्ला वर्षमा उतारचढावपूर्ण देखिए पनि पछिल्लो दुई आर्थिक वर्षमा भने वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३४ करोड ७० लाख, आव २०७९/८० मा १ अर्ब ७५ करोड १० लाख, आव २०७८/७९ मा ३ अर्ब १४ करोड, आव २०७७/७८ मा २ अर्ब ६३ करोड १० लाख, आव २०७६/७७ मा १ अर्ब ८३ करोड २० लाख र आव २०७५/७६ मा २ अर्ब ९५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आइएमई मोटर्स नेपालमा हिन्दुजा ग्रुपअन्तर्गतको व्यावसायिक सवारीसाधन निर्माता कम्पनी अशोक लेल्यान्ड लिमिटेडको आधिकारिक एकमात्र वितरक हो । सन् २०१० मा स्थापना भएको कम्पनीले अशोक लेल्यान्डका बस, हलुका तथा मध्यमस्तरीय व्यावसायिक सवारीसाधन, ट्रक र टिपरलगायतका सवारीसाधन बिक्री तथा वितरण गर्दै आएको छ । कम्पनी सुरुमा एलटी इन्टरप्राइजेज प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको थियो । त्यतिबेला कम्पनीले डिजिटल टेलिभिजन सेवा प्रदायक डिसहोमको विक्रेता कारोबार गर्दै आएको थियो । सन् २०१५ देखि अशोक लेल्यान्डको आधिकारिक विक्रेताका रूपमा कारोबार सुरु गरेको कम्पनीको नाम सन् २०१७ मा परिवर्तन गरी आइएमई मोटर्स प्रालि राखिएको हो । आइएमई मोटर्सको प्रवर्द्धन मुख्य रूपमा आइएमई ग्रुपसँग आबद्ध व्यक्तिहरूले गरेका छन् । नेपालका वित्तीय क्षेत्रलगायत विभिन्न क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि स्थापित आइएमई ग्रुपको व्यावसायिक पृष्ठभूमिले कम्पनीलाई वित्तीय तथा सञ्चालनगत रूपमा सहयोग पुर्याउँदै आएको छ । चन्द्रप्रसाद ढकाल आइएमई ग्ररुपका अध्यक्ष हुन् भने निशान ढकाल आइएमई मोटर्सका कार्यकारी अध्यक्ष हुन् । सरकारले सन् २०२६ मेमा जारी गरेको परिपत्रमार्फत नयाँ व्यावसायिक सवारीसाधन दर्तामा अनिश्चितकालीन रोक लगाएपछि भने कम्पनीको आगामी व्यवसायमा दबाब पर्न सक्ने जोखिम देखिएको छ । व्यावसायिक सवारीसाधनमा केन्द्रित कम्पनी भएकाले दर्तामा लगाइएको रोक लामो समयसम्म कायम रहेमा यसको प्रत्यक्ष असर बिक्री, आम्दानी तथा समग्र व्यावसायिक प्रदर्शनमा पर्न सक्ने देखिएको हो । यद्यपि, रोक लाग्नुअघि आयात गरिएका सवारीसाधनको मौज्दात तथा खोलिएका प्रतीतपत्रले निकट अवधिको कारोबारलाई केही हदसम्म सहयोग गर्ने अपेक्षा गरिएको छ । तर, सन् २०२६ अक्टोबरको अन्त्यतिर प्रमुख चाडपर्वपछि सुरु हुने व्यावसायिक सवारीसाधनको उच्च मागको समयमा समेत दर्तामा रोक कायम रहेमा कम्पनीको व्यवसायमा थप दबाब पर्न सक्ने जनाएको छ । त्यस्तै, भारत स्टेज छ उत्सर्जन मापदण्डको अनिवार्य कार्यान्वयनले प्रतिइकाइ बिक्रीबाट प्राप्त हुने रकम बढाउने भएकाले कम्पनीको कारोबार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, व्यावसायिक सवारीसाधनको कारोबार विस्तारसँगै कम्पनीलाई थप चालु पुँजी आवश्यक पर्ने भएकाले वित्तीय व्यवस्थापनमा चुनौती थपिन सक्ने देखिन्छ । नेपालमा अशोक लेल्यान्डका व्यावसायिक सवारीसाधनको एकमात्र राष्ट्रिय विक्रेताका रूपमा करिब ११ वर्षको अनुभव भए पनि कम्पनीले बजारमा तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको छ । टाटा मोटर्स, भारतबेन्ज र आइचरजस्ता स्थापित ब्रान्डका आधिकारिक विक्रेताबाट हुने प्रतिस्पर्धा कम्पनीको व्यवसायका प्रमुख चुनौतीमध्ये रहेका जनाएको छ । साथै, कम्पनीले पाएको विक्रेता अधिकार नवीकरण नहुने जोखिम पनि कायम छ । व्यावसायिक सवारीसाधनको माग स्वभावतः चक्रीय हुने भएकाले पछिल्लो समय आम्दानी तथा नाफामा देखिएको सुधार दीर्घकालसम्म कायम रहने विषयमा समेत जोखिम रहेको छ । बजारमा माग बढ्दा कारोबार र नाफा बढ्ने तथा माग घट्दा त्यसमा गिरावट आउने भएकाले कम्पनीको व्यावसायिक प्रदर्शनमा उतारचढावको सम्भावना रहन्छ । विद्युतीय व्यावसायिक सवारीसाधनको बढ्दो प्रयोग पनि कम्पनीका लागि अर्को चुनौतीका रूपमा देखिएको छ । कम्पनीको विद्युतीय व्यावसायिक सवारीसाधन क्षेत्रमा हालसम्म उल्लेख्य उपस्थिति नरहेकाले आगामी दिनमा विद्युतीय सवारीसाधनको बजार विस्तार हुँदा त्यसको असर कम्पनीको व्यवसायमा पर्न सक्ने देखिन्छ । कम्पनीको तरलता अवस्था पनि दबाबमा रहेको छ । लामो समयसम्म ग्राहकबाट रकम उठाउनुपर्ने अवस्थाका कारण चालु पुँजीमा कम्पनीको निर्भरता उच्च छ । आर्थिक वर्ष २०८२/८३ को मध्य जुलाईसम्म कम्पनीको चालु पुँजीको आवश्यकता सञ्चालन आम्दानीको करिब ७१ प्रतिशत रहेको थियो । उच्च चालु पुँजी आवश्यकताका कारण कम्पनी अल्पकालीन बाह्य वित्तीय स्रोतमा समेत निर्भर रहेको छ । आइएमई मोटर्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ ऋण लिएको छ । त्यसमध्ये १ अर्ब ३० करोड ९० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ११ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।