भारत र टर्की निर्यातले चम्कियो त्रिवेणी स्पिनिङ, एक वर्षमै साढे ३ अर्ब आम्दानी

३ अर्ब ऋण

काठमाडौं । संघाई परिवारको त्रिवेणी स्पिनिङ मिल्स लिमिटेडले एक वर्षमा साढे ३ अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ४८ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ४३ प्रतिशत अर्थात् १ अर्ब ४ करोड ७० लाख रुपैयाँ बढी हो । आव २०८०/८१ मा कम्पनीले २ अर्ब ४३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

भारततर्फको निर्यात उल्लेख्य रूपमा बढेसँगै कम्पनीको व्यापार विस्तार भएको हो । कम्पनीका अनुसार गत वर्ष कुल बिक्रीको करिब ८४ प्रतिशत हिस्सा भारत र टर्कीमा भएको निर्यातबाट प्राप्त भएको छ, जुन अघिल्लो वर्ष ७२ प्रतिशत थियो । चालु आर्थिक वर्षको पहिलो १० महिनामै कम्पनीले २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ बराबरको बिक्री गरिसकेको जनाएको छ ।

कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा उतारचढावपूर्ण देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ३८ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ७१ करोड ४० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ८० करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब ९० करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा ३ अर्ब ६० लाख रुपैयाँ, आव २०७४/७५ मा २ अर्ब ८५ करोड ९० लाख रुपैयाँ र आव २०७३/७४ मा २ अर्ब ३५ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

सन् १९९५ मा स्थापना भएको त्रिवेणी स्पिनिङ मिल्स जुलाई २०२३ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीको सम्पूर्ण सेयर स्वामित्व संघाई परिवारका सदस्यहरूसँग रहेको छ । बैंकिङ, बीमा, उत्पादन तथा व्यापारलगायत विविध क्षेत्रमा लगानी रहेको संघाई समूहको औद्योगिक क्षेत्रमा पनि उपस्थिति छ । कम्पनीको सञ्चालक समितिको नेतृत्व रामचन्द्र संघाईले गर्दै आएका छन् ।

बाराको छातापिप्रामा अवस्थित उद्योगले पोलिएस्टर, भिस्कोस, एक्रिलिक, मेलान्ज तथा विभिन्न मिश्रित धागाहरू उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता १८ हजार मेट्रिक टन रहेको छ । वस्त्र तथा कपडा उद्योगको आवश्यकता अनुसार विभिन्न गुणस्तर र मापदण्डका सिन्थेटिक धागा उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्ना उत्पादन निर्यात गर्दै आएको छ । भारत र टर्कीसहित विभिन्न देशमा निर्यात भइरहेका उत्पादनले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्न सफल भएको संकेत गर्ने कम्पनीको दाबी छ ।

कुल बिक्रीमध्ये करिब ८४ प्रतिशत हिस्सा निर्यातबाट प्राप्त हुने भएकाले कम्पनीले सरकारी निर्यात प्रोत्साहन नीतिबाट प्रत्यक्ष लाभ लिइरहेको छ । हाल सरकारले ५० करोड रुपैयाँसम्मको निर्यातमा ४ प्रतिशत तथा सोभन्दा माथिको निर्यातमा ८ प्रतिशतसम्म नगद प्रोत्साहन उपलब्ध गराउँदै आएको छ ।

साथै निर्यातयोग्य वस्तु उत्पादनका लागि आयात गरिएका कच्चा पदार्थमा तिरेको कर तथा भन्सार शुल्क फिर्ता हुने व्यवस्था पनि छ । यस्ता सुविधाले कम्पनीको प्रतिस्पर्धात्मक क्षमता तथा नाफा मार्जिन सुधारमा सहयोग पुगेको बताइएको छ ।

यद्यपि सरकारी राजस्वमा परेको दबाबका कारण निर्यात प्रोत्साहन रकम भुक्तानीमा ढिलाइ हुन सक्ने जोखिम रहेको कम्पनीले जनाएको छ । यसले कम्पनीको नगद प्रवाहमा असर पार्न सक्ने देखिन्छ । कम्पनीको मुख्य कच्चा पदार्थ पोलिएस्टर फाइबर हो, जुन कच्चा तेलमा आधारित भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावको प्रत्यक्ष प्रभाव पर्छ ।

कच्चा पदार्थको मूल्य अचानक बढ्दा त्यसको भार तत्काल ग्राहकमा सार्न नसक्ने अवस्था आएमा नाफामा दबाब पर्न सक्ने कम्पनीको भनाइ छ । साथै, आयात तथा निर्यात दुवै विदेशी मुद्रामा हुने भएकाले विनिमय दरको उतारचढाव पनि कम्पनीका लागि चुनौतीपूर्ण रहेको छ ।

यसैबीच, नेपाल विद्युत् प्राधिकरणले समर्पित फिडर तथा ट्रंकलाइन शुल्कबापत अतिरिक्त रकम माग गरेको कम्पनीको दाबी छ । प्रारम्भिक रूपमा ८६ करोड ९० लाख रुपैयाँ दाबी गरिएकोमा पुनर्मूल्यांकनपछि उक्त दायित्व ३२ करोड १० लाख रुपैयाँ कायम भएको छ । कम्पनीले सो रकम २८ किस्तामा भुक्तानी गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ३ अर्ब ३ करोड ७० लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ अर्ब ३० करोड २६ लाख रुपैयाँ दीर्घकालीन तथा १ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।

Share News