काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत वैशाख ३० गते चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्याे, जसमा ४ करोड ३८ लाख ३३ हजार रुपैयाँ खुद नाफा थियो । उक्त विवरणअनुसार प्रतिसेयर आम्दानी (ईपीएस) ४.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८०.१० रुपैयाँ तथा मूल्य आम्दानी अनुपात (पीई रेसियो) १५१.८७ गुणा रहेको थियो । त्यसबेला लघुवित्त संस्थाको इम्पेयरमेन्ट चार्ज २७ करोड ८३ लाख ८१ हजार रुपैयाँ मात्रै थियो भने सञ्चित नाफा १६ करोड ९० लाख ७ हजार रुपैयाँ ऋणात्मक देखाइएको थियो ।
सेयर बजारमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरण लगानीकर्ताका लागि निर्णयको प्रमुख आधार हो । कम्पनीको नाफा, प्रतिसेयर आम्दानी, नेटवर्थ र जोखिमको अवस्था हेरेर लगानीकर्ताले आफ्नो लगानी रणनीति तय गर्छन् । लघवित्त संस्थाको उक्त सार्वजनिक वित्तीय विवरणमा सञ्चित नाफा ऋणात्मक बाहेक लगानीकर्तारुका लागि लघुवित्त संस्थाको वित्तीय अवस्था सन्तोषजनक नै देखिन्छ । लघुवित्त संस्थाको उक्त वित्तीय अवस्थाबाट लगानीकर्ताहरू निराश हुनुपर्ने अवस्था देखिँदैन ।
तर, एक महिनाको अन्तरालमा लघुवित्तले सार्वजनिक गरेका दुई वित्तीय विवरणमा पौने १ अर्ब रुपैयाँको अन्तर देखिएको छ । त्यसले लगानीकर्ताहरू निराश मात्रै होइन संस्थाको संस्थागत पारदर्शिता र नियामकीय निगरानीमाथि समेत प्रश्न खडा गरेको छ । संस्थाको व्यवस्थापन र सञ्चालकको भूमिका माथि प्रश्न उठेको छ ।
बुधबार (जेठ २७ गते) सार्वजनिक गरिएको नेरूडे मिर्मिरे लघुवित्तको संशोधित वित्तीय विवरणमा लघुवित्त संस्था ७४ करोड ६५ लाख ११ हजार रुपैयाँ खुद नोक्सानीमा पुगेको छ । प्रतिसेयर आम्दानी ७१.२१ रुपैयाँ ऋणात्मक भएको छ भने प्रतिसेयर नेटवर्थ १२३.५६ रुपैयाँमा झरेको छ । साथै, सञ्चित नाफा ९४ करोड ९२ लाख ७० हजार रुपैयाँ ऋणात्मक पुगेको छ । इम्पेयरमेन्ट चार्ज पनि बढेर १ अर्ब ९ करोड ४४ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले गत वैशाख २९ गते संस्थालाई आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता गरी आम्दानीमा देखाइएको ८१ करोड ५५ लाख रुपैयाँ ‘लोन लस प्रोभिजन राइटब्याक’ रकम पुनः कर्जा नोक्सानी व्यवस्थामै समायोजन गर्न निर्देशन दिएको थियो । नियामकको निर्देशनअनुसार उक्त समायोजन वैशाख ३० गते प्रकाशित वित्तीय विवरणमै समावेश हुनुपर्ने थियो । तर, लघुवित्तले राष्ट्र बैंकको निर्देशन कार्यान्वयन नगरी वास्तविक अवस्थाभन्दा राम्रो देखिने वित्तीय विवरण सार्वजनिक गर्यो ।
लघुवित्तका एक सेयरधनीका अनुसार यो पहिलो पटक भएको घटना होइन । विगतमा पनि संस्थाले वित्तीय विवरणलाई आकर्षक देखाउन विभिन्न उपाय अपनाएको आरोप उनले लगाए । ‘विगतमा पनि केही सञ्चालकको स्वार्थमा ८१ करोड ५५ लाख रुपैयाँ प्रोभिजनमा राख्नुपर्ने रकमलाई आम्दानीमा देखाएर नाफा बढाइएको थियो,’ ती लगानीकर्ताले भने, ‘संस्थाको वास्तविक अवस्था लुकाएर बजारमा सकारात्मक सन्देश दिने प्रयास गरिएको देखिन्छ ।’
संस्थाको व्यवस्थापन र नियामकीय निगरानीमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ । उनले भने, ‘राष्ट्र बैंकले वैशाखमै वित्तीय विवरण सच्याउन निर्देशन दिए पनि संस्थाले करिब एक महिनासम्म त्यसलाई सार्वजनिक नगरी वास्तविक अवस्थालाई ढाकछोप गर्ने प्रयास गरेको छ ।’
राष्ट्र बैंकले वार्षिक साधारणसभा (एजीएम) क्लियरेन्स दिनुअघि वित्तीय विवरण सच्याउन र सार्वजनिक गर्न निर्देशन दिएको ती लगानीकर्ताले दाबी गरे । उनका अनुसार प्रारम्भिक वित्तीय विवरणमा क्यापिटल एडुकेसी रेसियो ८.५५ प्रतिशत देखाइएको भए पनि संशोधित विवरणमा उक्त अनुपात ४.८० प्रतिशतमा झरेको छ, जसले संस्थाको वास्तविक अवस्था फरक रहेको संकेत गरेको उनको भनाइ छ ।
लघुवित्त उच्च स्रोतका अनुसार राष्ट्र बैंकको निर्देशन तथा वित्तीय विवरण सच्याउने विषय सञ्चालक समितिमा समेत समयमै जानकारी गराइएको थिएन । व्यवस्थापन तहले मात्रै विषयलाई एक महिनासम्म गोप्य राखेको र केही सञ्चालकले संशोधित विवरण सार्वजनिक भएपछि मात्रै वास्तविक स्थिति थाहा पाएका उनको भनाइ छ ।
‘गलत वित्तीय विवरणका आधारमा भएको सेयर कारोबारले लगानीकर्तालाई प्रत्यक्ष असर परेको छ । नाफामा रहेको देखाएर सार्वजनिक गरिएको विवरणका आधारमा धेरै लगानीकर्ताले सेयर खरिद गरेका छन् । तर, आज वास्तविक वित्तीय अवस्था सार्वजनिक हुँदा सेयर खरिद गरेका लगानीकर्ताहरू मर्कामा परेका छन्,’ उनले भने ।
उनले घाटामा रहेको संस्थालाई नाफामा देखाइएको कारण बजारमा गलत सन्देश गएको बताए । सेयर किन्ने लगानीकर्ताले गलत सूचनाका आधारमा निर्णय लिनुपरेको अवस्था सिर्जना भएको उनको भनाइ छ ।