३.२७ अर्बमा ५० मेगावाटको सौर्य आयोजना बन्दै, नोभेम्बर २०२७ देखि उत्पादन

काठमाडौं । सुनसरीको कुशाहा गाउँपालिकामा ५० मेगावाट क्षमताको ग्रिड–जडित सौर्य फोटोभोल्टाइक आयोजना निर्माण हुने भएको छ । निजी क्षेत्रका विभिन्न लगानीकर्ताको लगानीमा सोलारिस इनर्जी प्राइभेट लिमिटेडले आयोजना विकास गर्न लागेको हो । कम्पनीका अनुसार आयोजनाको उद्देश्य नेपालमा स्वच्छ तथा नवीकरणीय ऊर्जाको उत्पादन वृद्धि गर्दै राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्याउनु हो । आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रत्यक्ष आपूर्ति गरिनेछ । सोलारिस इनर्जी प्राइभेट लिमिटेडले निर्माण गरिरहेको यस आयोजनाको अनुमानित कुल लागत ३ अर्ब २७ करोड ४० लाख रुपैयाँ रहेको छ, अर्थात् प्रति मेगावाट करिब ६ करोड ५५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । आयोजना ७५ः२५ को ऋण–इक्विटी अनुपातमा वित्तीय व्यवस्थापन गर्ने योजना बनाइएको कम्पनीले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट करिब ३ अर्ब रुपैयाँ ऋण लिने प्रस्ताव गरिएको छ । यसमध्ये २ अर्ब ४४ करोड २० लाख रुपैयाँ दीर्घकालीन र ५५ करोड ७९ लाख रुपैयाँ अल्पकालीन ऋण रहनेछ । कम्पनीका मुख्य प्रवद्र्धकमा पूजा चन्द ठाकुर, प्रदीप्त राणा, विपुल मान सिंह, केशवराज विजयानन्द र मीरा चन्द ठाकुर रहेका छन् । कम्पनीकी अध्यक्ष पूजा चन्द ठाकुरसँग सौर्य तथा जलविद्युत् आयोजना विकासको अनुभव रहेको छ । सञ्चालक प्रदीप्त राणासँग यूएसएआईडी, युरोपेली संघको ईको, बेलायतको डिएफआईडी तथा डेनिस रिफ्युजी काउन्सिलजस्ता अन्तर्राष्ट्रिय विकास साझेदारद्वारा सञ्चालित बहुक्षेत्रीय कार्यक्रम व्यवस्थापनको अनुभव छ । त्यस्तै, सञ्चालक विपुल मान सिंह वेस्टर्न हिमालयन पावर लिमिटेडका निर्देशकसमेत हुन् भने केशवराज विजयानन्दसँग लगानी पोर्टफोलियो तथा सम्पत्ति व्यवस्थापनको अनुभव रहेको छ । साथै उनी ग्रिड नेपाल हाइड्रोपावरसँग पनि आबद्ध छन् । सञ्चालक मीरा चन्द ठाकुरसँग पनि ऊर्जा क्षेत्रमा लामो व्यावसायिक अनुभव रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रवद्र्धकहरूले सन् २०२६ जुन मसान्तसम्म अग्रिम सेयर पुँजीसहित ८ करोड रुपैयाँ लगानी गरिसकेका छन्, जुन कुल इक्विटीको करिब १० प्रतिशत मात्रै हो । उक्त अवधिसम्म आयोजनाको वित्तीय प्रगति करिब २.१४ प्रतिशत मात्र भएको छ । हालसम्म सम्भाव्यता अध्ययन र साइट अनुसन्धान सम्पन्न भइसकेका छन् भने आवश्यक जग्गामध्ये करिब ४० प्रतिशत जग्गाको भाडा सम्झौता सुनिश्चित गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी, आयोजना स्थलमा प्रारम्भिक भौतिक निर्माण कार्य सुरु भइसकेको छ । निर्माणस्थलमा कामदार तथा प्राविधिकका लागि निर्माण शिविर निर्माण भइरहेको छ । आयोजनाको निर्धारित व्यावसायिक सञ्चालन मिति नोभेम्बर, २०२७ तय गरिएको छ ।  सोलारिस इनर्जीले निर्माण गरिरहेको उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् करिब २.६ किलोमिटर लामो प्रसारण लाइनमार्फत निर्माणाधीन कुशाहा १३२ केभी सबस्टेसनमा जोड्ने योजना रहेको छ । तर उक्त सबस्टेसन अझै निर्माणाधीन रहेकाले यसको निर्माण समयमै सम्पन्न नहुँदा आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न कठिनाइ हुन सक्ने कम्पनीको भनाइ छ । त्यसैले आयोजना समयमै सञ्चालनमा ल्याउन प्रसारण लाइन तथा सबस्टेसन निर्माण पनि निर्धारित समयमै सम्पन्न हुनु महत्वपूर्ण रहने कम्पनीले जनाएको छ । कम्पनीले उत्पादन गर्ने ५० मेगावाट विद्युत् खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग सन् २०२५ नोभेम्बरमा दीर्घकालीन विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ । ‘टेक अर पे’ अवधारणामा आधारित उक्त सम्झौताअनुसार प्राधिकरणले निर्धारित सर्तअनुसार उत्पादित विद्युत् खरिद गर्नेछ । पीपीए आयोजनाको व्यावसायिक सञ्चालन मितिबाट २५ वर्ष वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधि समाप्त नहुँदासम्म, जुन पहिले हुन्छ, त्यतिन्जेलसम्म लागू रहनेछ । सम्झौताअनुसार कम्पनीले उत्पादन गर्ने विद्युत्को खरिद दर प्रतियुनिट (किलोवाट–घण्टा) ५ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । सरकारले विद्युत् उत्पादनलाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा राख्दै निजी क्षेत्रको सहभागिता विस्तार गर्न विभिन्न नीतिगत प्रोत्साहन उपलब्ध गराउँदै आएको छ । सौर्य ऊर्जा आयोजनालाई प्रोत्साहन गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत विभिन्न सहुलियत तथा सुविधाहरू उपलब्ध गराइँदै आएका छन् । साथै, सरकारले २०८५ साल वैशाखसम्म व्यावसायिक रूपमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण सुरु गर्ने आयोजनाहरूलाई १० वर्ष पूर्ण आयकर छुट र त्यसपछिका ५ वर्ष ५० प्रतिशत आयकर छुटको व्यवस्था गरेको छ । त्यसैगरी, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो कुल कर्जा लगानीको न्यूनतम निश्चित हिस्सा ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेकाले ऊर्जा आयोजनाहरूमा वित्तीय स्रोत उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । सरकारले विद्युत् उत्पादनलाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा राख्दै निजी क्षेत्रको सहभागिता विस्तार गर्न विभिन्न नीतिगत प्रोत्साहन उपलब्ध गराउँदै आएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य ऊर्जा आयोजनाका लागि विभिन्न सहुलियत तथा सुविधा प्रदान गरिँदै आएका छन् । साथै, २०८५ वैशाखभित्र व्यावसायिक रूपमा विद्युत् उत्पादन, प्रसारण वा वितरण सुरु गर्ने आयोजनालाई १० वर्षसम्म पूर्ण आयकर छुट तथा त्यसपछिका पाँच वर्ष ५० प्रतिशत आयकर छुटको व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कुल कर्जा लगानीको न्यूनतम निश्चित हिस्सा ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेकाले ऊर्जा आयोजनामा वित्तीय स्रोत परिचालन थप सहज हुने अपेक्षा कम्पनीले गरेको छ । 

नेपालमा डेल बेचेर आईटी ग्लोबलको आम्दानी १ अर्ब बढी, बैंक ऋण १.६७ अर्ब

काठमाडौं । आईटी ग्लोबल प्राइभेट लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को साढे ११ महिनामा १ अर्ब ७ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २ करोड ५० लाख रुपैयाँ, आव २०८०/८१ मा ९८ करोड रुपैयाँ, आव २०७९/८० मा १ अर्ब २ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ५८ करोड ५० लाख रुपैयाँ तथा आव २०७७/७८ मा ५० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार कुल आम्दानीको अधिकांश हिस्सा डेल ब्रान्डका ल्यापटप र डेस्कटपको बिक्रीबाट प्राप्त हुने गरेको छ । सन् २००८ मेमा स्थापना भएको आईटी ग्लोबलले नेपालमा उपभोक्ता इलेक्ट्रोनिक्स सामग्रीको व्यापार तथा वितरण गर्दै आएको छ । कम्पनी नेपालमा डेल ब्रान्डका उत्पादनहरूको तीन आधिकारिक वितरकमध्ये एक हो । कम्पनीको शतप्रतिशत स्वामित्व तथा व्यवस्थापन अकबर हुसेनको हातमा रहेको छ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका हुसेनले स्थापना कालदेखि नै कम्पनीको नेतृत्व गर्दै आएका छन् । कम्पनीले आफ्नो सहायक कम्पनी म्याक्स इन्टरनेशनलमार्फत काठमाडौंसहित देशका प्रमुख सहरहरूमा डिलर तथा वितरण सञ्जाल विस्तार गरेको छ । कम्पनीको पूँजी संरचना अझै ऋणमा आधारित रहेको छ । यद्यपि, नाफा सञ्चित हुँदै जाँदा कम्पनीको वित्तीय सूचकमा सुधार देखिएको छ । चालु आवको पसाढे ११ महिनामा कम्पनीको सञ्चालन नाफा ७.१७ प्रतिशत र खुद नाफा मार्जिन ४.७१ प्रतिशत पुगेको छ । तर, ग्राहकलाई लामो अवधिको उधारो सुविधा दिनुपर्ने अवस्थाका कारण कम्पनीको कार्यशील पुँजीको आवश्यकता उच्च रहेको छ । बैंकबाट लिएको कार्यशील पुँजी कर्जामा कम्पनीको निर्भरता पनि उल्लेख्य छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ६६ करोड ६२ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब १ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । यस्तै, कम्पनीले आपूर्तिकर्तामाथिको उच्च निर्भरता, गैर-विशेष वितरण सम्झौता, इलेक्ट्रोनिक्स बजारको तीव्र प्रतिस्पर्धा, प्रविधिको तीव्र परिवर्तन, आयातसम्बन्धी सरकारी नीतिमा हुने परिवर्तन तथा अमेरिकी डलरमा खरिद र नेपाली रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्थाका कारण विदेशी विनिमय दरको उतारचढावबाट समेत जोखिम सामना गरिरहेको जनाएको छ ।  

शंकर र अम्बे ग्रुपको रिद्धिसिद्धिले बेच्यो ३.८९ अर्बको सिमेन्ट, बैंकमा ऋण १२.२१ अर्ब रुपैयाँ

काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ३ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँको तुलनामा २.५३ प्रतिशत कम हो । यद्यपि, आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल सञ्चालन आम्दानी भने बढेको थियो । कम्पनीले आव २०८१/८२ मा ५ अर्ब ९८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । उक्त आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामामा २.९० प्रतिशत अर्थात् १६ करोड ९० लाख रुपैयाँ बढी हो । आव २०८०/८१ मा कम्पनीले ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । आव २०७९/८० मा ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र आव २०७८/७९ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  सन् २०१३ मा स्थापना भएको रिद्धि सिद्धि सिमेन्ट लिमिटेड शङ्कर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा सञ्चालित सिमेन्ट उद्योग हो । कम्पनीले ‘रिद्धि सिद्धि’ र ‘मकवानपुर’ ब्रान्डअन्तर्गत अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) तथा पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी) उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीको स्थापित ग्राइन्डिङ क्षमता प्रतिवर्ष ०.७३ मिलियन मेट्रिक टन रहेको छ भने क्लिंकर उत्पादन क्षमता ०.८४ मिलियन मेट्रिक टन छ । बन्द रहेको ०.२४ मिलियन मेट्रिक टन पीएससी उत्पादन क्षमता भने यसमा समावेश गरिएको छैन । कम्पनीको उत्पादन केन्द्र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–रातोमाटेमा रहेको छ भने केन्द्रीय कार्यालय काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा छ । सन् २०२६ को अप्रिलसम्म सुलभ अग्रवाल कम्पनीका सबैभन्दा ठूलो सेयरधनी छन्, जसको स्वामित्व ५१.७९ प्रतिशत रहेको छ । कम्पनीले ०.८४ मिलियन मेट्रिक टन क्षमताको क्लिंकर उत्पादन प्लान्टमार्फत ‘ब्याकवर्ड इन्टिग्रेसन’ रणनीति अपनाएको छ । हेटौंडास्थित उत्पादन केन्द्र नजिकै रहेका आफ्नै चुनढुंगा खानीका कारण मुख्य कच्चा पदार्थको आपूर्ति सुनिश्चित भएको कम्पनीले जनाएको छ । थप खानीहरू विकासको चरणमा रहेकाले आगामी वर्षमा कच्चा पदार्थको उपलब्धता अझ सुदृढ हुने र उत्पादन क्षमता विस्तारमा सहयोग पुग्ने कम्पनीको विश्वास छ । आर्थिक वर्ष २०८१/८२ मा कच्चा पदार्थको खपत र बिक्री खर्च बढेका कारण कम्पनीको सञ्चालन नाफा १ अर्ब ४५ करोड १० लाख रुपैयाँबाट घटेर १ अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ । तर वित्तीय खर्च घटेकाले खुद नाफा ४ करोड १० लाख रुपैयाँबाट बढेर ८ करोड २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, ग्रस क्यास एक्रुअल्स पनि ४४ करोड ६० लाख रुपैयाँबाट बढेर ४९ करोड ९० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा कम्पनीको सञ्चालन नाफा ७३ करोड ८० लाख रुपैयाँ, खुद नाफा २ करोड रुपैयाँ तथा ग्रस क्यास एक्रुअल्स ३१ करोड ३० लाख रुपैयाँ रहेको छ, जसले नाफामा दबाब कायम रहेको संकेत गर्छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १२ अर्ब २१ करोड ४४ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ८ अर्ब १४ करोड ९१ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ६ करोड ५२ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल ऋण ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ थियो । कार्यशील पुँजीको आवश्यकता पनि बढ्दो क्रममा छ। कम्पनीको औसत मौज्दात अवधि २३४ दिनबाट बढेर २५८ दिन पुगेको छ । ग्राहकबाट रकम असुली गर्ने औसत अवधि ५३ दिनमा स्थिर रहे पनि आपूर्तिकर्तालाई भुक्तानी गर्ने अवधि १२१ दिनबाट घटेर १०९ दिनमा झरेको छ । यसका कारण कम्पनीको सञ्चालन चक्र १६७ दिनबाट बढेर २०२ दिन पुगेको छ, जसले व्यवसाय सञ्चालनका लागि थप कार्यशील पुँजी आवश्यक पर्ने अवस्था देखाएको छ । कम्पनीका अनुसार सिमेन्ट उद्योगमा प्रतिस्पर्धा अझ तीव्र बन्दै गएको छ । स्थापित ब्रान्डसँगै संगठित र असंगठित दुवै क्षेत्रका उद्योगहरूको उपस्थिति तथा नयाँ उद्योगको प्रवेश र क्षमता विस्तारले मूल्य निर्धारण गर्ने क्षमता सीमित बनाएको छ । हाल नेपालमा करिब ६० वटा सिमेन्ट उद्योग र २० वटा क्लिंकर उद्योग सञ्चालनमा छन् भने थप उद्योगहरू निर्माणाधीन छन् । यस्तो अवस्थामा कच्चा पदार्थको लागत बढे पनि त्यसको भार उपभोक्तामा सार्न कठिन हुने भएकाले आगामी दिनमा उद्योगको नाफामा थप दबाब पर्न सक्ने कम्पनीले जनाएको छ ।